साफ यू–१७ च्याम्पियनसिप आजदेखि

तनहुँमा पहिरोले खानेपानी आयोजनाको पाइप बगायो

तनहुँ।   व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले व्यास–१३ खिरखाँदीबाट ल्याएको खानेपानीको पाइप पहिरोले बगाएर क्षति पुगेको  छ ।  

दुई दिन निरन्तर परेको बर्सातले व्यास नगरपालिका–१३ स्थित धारापानी नजिक डाँडो नै खसेर खानेपानीको पाइप बगाएपछि पानी आपूर्ति बन्द भएको छ । 

पहिरोले खानेपानीको पाइप बगाएर सेतीनदी किनारसम्म पुराएको संस्थाका सचिव राजेश्वर हड्खलेले जानकारी दिनुभयो । डोजरले पनि पल्टाउन नसक्ने किसिमका ठूला ठूला ढुङ्गा थुप्रिएको छ । 

उहाँले भन्नुभयो, “२०० एमएमको जिआइ पाइप ६५ मिटर बगाएर क्षति भएको छ ।” घटनास्थलको अवस्था हेर्दा एक महिनामा पनि पन्छाएर नसकिने देखिएको उहाँले बताउनुभयो । पहिरोको क्षतिबाट करिब रु चार लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । 

खिरखाँदीको मुहानबाट ल्याइएको पानीको क्षमता प्रतिसेकेण्ड नौ लिटर रहेकोमा पहिराले अवरुद्ध बनाएपछि पानी वितरणमा समस्या देखिएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो । 

उक्त आयोजनाको पानी सञ्चालन नहुँदासम्म छाब्दी खोला लिफ्टिङ र धुपखोलाको पानीले एक दिन बिराएर पानी आपूर्ति गर्न सकिन्छ कि भन्ने विषयमा समितिमा छलफल भइरहेको उहाँले बताउनुभयो । 

पहिराले क्षति बनाएपछि अस्थायीरुपमा पोलिथिन पाइप प्रयोग गरेर भए पनि जति सक्दो चाँडो पानी सञ्चालन गर्न सकिन्छ कि भनेर छलफल अघि बढाइएको छ ।

उक्त खिरखाँदी खोला सदरमुकाम दमौलीदेखि करिब १३ किलोमिटर दूरीमा पर्दछ । उक्त संस्थाले दुई हजार ५०० घरधुरीमा पानी वितरण गर्दै आएको जनाएको छ । 

नेपाल सरकारको सहलगानीमा निर्माण गर्न लागेको मादी नदी लिफ्टिङ खानेपानी आयोजनाको द्विपक्षीय सम्झौता गरिसकिएको छ । नेपाल सरकारको ७० प्रतिशत, स्थानीय श्रमदान २० प्रतिशत र स्थानीयको १० प्रतिशत नगद बेहोर्नुपर्ने व्यवस्था रहेको छ । 

सहलगानीमा कूल रु २६ करोड १४ लाख ९३ हजार ५१८ को लागतमा उक्त खानेपानी आयोजना सम्पन्न गर्ने योजना रहेको छ । बर्सेनि बाढी पहिराले खानेपानीमा क्षति पुर्याउन थालेपछि समितिले मादीनदी लिफ्टिङ आयोजनालाई जोड दिएको छ । रासस

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ८ : २६ बजे