पौडेल र कोइराला समूहले एक भएको सन्देश दिन आज सामूहिक पत्रकार सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आज पत्रकार सम्मेलन गर्दैछ । पौडेल समूहबाट पार्टीको १४ औं महाधिवेशनमा एक मात्र उम्मेदवार हुने भन्दै सभापतिका आकांक्षी चार उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् । नेता पौडेलले कोइराला समूह र आफनो समूह एक भएको घोषणा गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको चक्रपथलाई बताउनुभयो ।

दिउँसो दुुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मलेनको आयोजना गरिएको र त्यही आफूहरु एक भएको घोषणा गर्ने पौडेलको भनाइ थियो । सभापति देउवाले आफूहरुलाई छोडदै गएकाले आफनो समूहले मिलाउदै लगेको उहाँको दाबी थियो ।  

पौडेल समूहबाट वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको आकांक्षी देखिएका छन् ।

‘उम्मेदवार को हुने हो भन्ने चाहि अझै टुंगो लागेको छैन्’, पौडेल भन्नुभयो  ‘महाधिवेशनमा एक मात्रै उम्मेदवार हुने भन्ने कुरा हामी सहमतिमै छौ तर अहिले नै म भन्दिन।’ पौडेलले भन्नुभयो ।  काँग्रेसका शिर्ष नेताहरुमा बिमलेन्द्र नीधि, महामन्त्री शेखर कोइराला, प्रकाशमान सिंह लगायतले आगामी महाधिवेशनमा सभापतिमा उठने आकांक्षा व्यक्त गर्दै आइरहनुभएको छ । त्यसो त युवा नेताहरुले पनि पार्टी सभापतिमा उठने घोषणा गरिसकेका छन् । हिजोमात्रै नेता कल्याण गुरुङ्गले १४ महाधिवेशनमा सभापति उठने बताउनुभएको छ भने गगन थापाले महामन्त्री उठने घोषणा गरिसक्नुभएको छ । पछिल्लो समय काँग्रेसको सभापतिमा उम्मेदवार बन्नेको होडबाजी चल्दै आइरहेको छ । 

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  १२ : ४२ बजे