साफ यू–१७ च्याम्पियनसिप आजदेखि

विद्यालय खुलेपछि विद्यार्थीहरू दङ्ग : विद्यार्थीहरुमा देखियो टोलाउने समस्या

काठमाडौं । लामो समयको बन्दा बन्दी पछि गोकर्णेश्वर नगरपालिका भित्रका  सामुदायिक तथा संस्थागत विद्यालयहरू  सञ्चालनमा आएका छन् । 

कोरोना महामारीका कारण लामो समय अनलाइनबाटै कक्षा संचालन गरिरहेका यहाँका विद्यालयहरू मंगलबारबाट भने भौतिकरुपमै सञ्चालनमा आएका हुन् । भौतिकरुपमै कक्षा संचालन हुन थालेसँगै अधिकांश विद्यार्थीहरू खुसी देखिन्छन् । 

यस अघि गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न सूचना प्रकाशित गरी आग्रह गरेको थियो । नगरपालिकाको आग्रहपछि केही विद्यालयहरूले  स्वास्थ्य मापदण्ड अपनाएर औपचारिक पोशाकबिना भौतिक रुपमा कक्षा सञ्चालन सुरु गरेका हुन् । उनीहरूले कक्षा ८‚ ९‚ १०‚ का विद्यार्थीलाई पठाउन सुरु गरेका हुन् ।

पाँचपोखरी मोडल स्कुलका प्रधानाध्यापक सन्देश भण्डारी लगभग डेढ वर्ष भन्दा बढी बन्द रहेको विद्यालय खुलेसँगै  विद्यार्थीहरूमा उत्साह छाएको बताउनुहुन्छ । चक्रपथ डटकमसँग कुराकानी गर्नुहुँदै प्रधानाध्यापक भण्डारीले भन्नुभयो,‘ विद्यार्थी विद्यालय जान पाएसँगै दङ्ग छन्, पढ्न चाहने विद्यार्थी अत्यन्त उत्साहित देखिन्छन् तर मोबाइलमै लत लागेका विद्यार्थी भने दुखी छन् ।’ उहाँले भन्नुभयो ।  अनलाइन कक्षाभन्दा भौतिक उपस्थिति नै बढी प्रभावकारी रहेको उहाँ बताउनु हुन्छ । 

विद्यालयले कोभिडबाट बच्नका लागि भौतिक दुरी कायम गरेको र विद्यालयमा विद्यार्थी र शिक्षकहरूलाई मास्क , सेनिटाइजर , फेस सीड अनिवार्य गरिएको उहाँले जानकारी दिनुभयो । 

पाँचपोखरी मोडल  स्कुल कक्षा १० मा अध्ययनरत छात्रा  प्रकृती सानु मगर भौतिकरुपमै कक्षा संचालन भएसँगै दङ्ग छिन् ।  आफूलाई अनलाइन कक्षा भन्दा भौतिकरुपमा उपस्थित भएर  पढ्दा बढी  सहजता हुने उनी बताउँछिन् ।  

गोकर्णेश्वर लाईट एकेडेमीका शिक्षक मधुसूदन ढुङ्गाना लामो समयसम्म विद्यालय नखुल्दा विद्यार्थीहरूमा मनोसामाजिक असर परिरहेको बताउनुहुन्छ । कोरोनाको महामारीको समयमा विद्यार्थीहरूले मोबाइल चलाएका कारण एकोहोरो हुने, टोलाइरहने र एकान्तमा बस्न रुचाएको उहाँ बताउनुहुन्छ । विद्यार्थीहरू बिस्तारै पुरानै लयमा फर्कनेमा उहाँ आशावादी देखिनुहुन्छ । 

कोरोनाको महामारीको समयमा विद्यार्थीहरूले मोबाइल चलाएका कारण एकोहोरो हुने, टोलाइरहने र एकान्तमा बस्न रुचाएको उहाँ बताउनुहुन्छ ।

गोकर्णेश्वर लाईट एकेडेमी कक्षा  १० मा अध्ययनरत  छात्रा जेनिसा लुइँटेल  विद्यालय खुलेकोमा निक्कै खुसी देखिन्थिन् । लकडाउनको समयमा आफू गाउँघरमा बस्नु परेको र इन्टरनेटको पहुँच नहुँदा आफू अनलाइन कक्षामा समेत सहभागी हुन नपाएको दुखेसो उनले गरिन् । कतिपय विद्यार्थीहरूका लागि अनलाइन  कक्षा प्रभावकारी नहुने उनले बताइन् । ‘इन्टरनेटको पहुँच नहुँदा मेरो पढाइ बिग्रियो, अब भने भौतिकरुपमा उपस्थित भएर पढ्न पाउँदा म निक्कै खुसी छु’,उनले भनिन् ।  

कक्षा १० मा अध्ययनरत अनिशा तामाङ पनि भौतिकरुपमै कक्षा संचालन हुँदा प्रभावकारी हुने बताउँछिन् । ‘घरमा अनलाइन कक्षा पढ्दा कहिले नेट हुन्न थियो, कहिले बिजुली हुँदैनथ्यो, त्यसो हुँदा केही बुजिदैनथ्यो  उनले भनिन् ।  ‘नबुझेको कुरा सोध्न पनि असहज नै हुन्थ्यो’उनले थपिन्,‘अहिले भौतिक उपस्थितिमा पठन पाठन हुँदा म ज्यादै खुसी छु ।’ लामो समयपछि साथीहरूसँग भेटघाट हुँदा निक्कै आनन्द आएको तामाङले सुनाइन् । अब फेरी विद्यालय बन्द नभइदिए जाती हुने उनले बताइन् । 

शहरका विद्यार्थीहरूले जेनतेन अनलाइनबाट शिक्षा आर्जन गरेपनि ग्रामीण क्षेत्रमा बस्ने अधिकांशको पहुँचमा अनलाइन कक्षा पुगेको देखिएको थिएन । 

महामारीका कारण आफ्ना बालबच्चाहरूको खस्कँदै गएको पढाइले चिन्तित अभिभावक पनि विद्यालय खुलेसँगै खुसी  देखिन्थे । ‘बालबच्चाहरू मोबाइलमै खेलेर बस्थे, अब भने पढाइमा ध्यान देलान्’–गोकर्णेश्वरकी कविता भुजेलले बताउनुभयो ।  

गोकर्णेश्वर नगरपालिकाको शिक्षा समितिले  खस्किँदै गएको शिक्षाको स्तर सुधार्न विद्यार्थीहरूलाई भौतिकरुपमै पढाउन सुरु गरेको जनायो  । 

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  २ : ४२ बजे