मन्थली विमानस्थलमा पानी पस्यो

नेपाल–चीन सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड

काठमाडौँ – नेपाल र चीनका जानकार एवम् राजनीतिक नेतृत्वले दुई देश बीचको सम्बन्धलाई जनस्तरसम्म थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६६औँ वर्ष पूरा भएको अवसरमा समुन्नति फाउन्डेशन (नेपाल) र छाहर इन्स्टिच्युट (चीन) को संयुक्त आयोजनामा भएको ‘नेपाल–चीन सम्बन्धका सम्भावना र चुनौतीहरू’ विषयक बृहत् बेबिनारका सहभागीले जनस्तरको सम्बन्ध विस्तारलाई थप प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

    दुई देशबीच लामो असल सम्बन्ध रहेको चर्चा गर्दै सम्बन्धलाई अझ विस्तार गर्दै अगाडि बढाउन अनेकन आधारहरूको चर्चा गरेका हुन् । बेबिनारका अतिथिवक्ता एवम् सहभागीले चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)’ बाट नेपालले लाभ लिनुपर्ने उल्लेख गरेका थिए ।

    कार्यक्रममा चीनका लागि नेपालका पूर्वराजदूत डा महेश मास्के, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा पिताम्बर शर्मा, प्रोफेसर डा युवराज सङ्ग्रौला र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक डा रुपक सापकोटाले नेपाल–चीन सम्बन्धको विविध आयामका बारेमा स्पष्ट पार्नुभएको थियो । यस्तै चीनका तर्फबाट नेपालका लागि चीनका पूर्वराजदूत छिउ कोहोङ, छाहर इन्स्टिच्युटका डा ली छयाङमिन, सिचुवान विश्वविद्यालयका डा हुवाङ चङतो र प्रो छङ सीचोङले दुईपक्षीय सम्बन्धका विविध आयामबारे धारणा राख्नुभएको थियो ।

    बेबिनारमा नेपालका तर्फबाट चीनका लागि नेपालका पूर्वराजदूत डा मास्केले नेपाल–चीन सम्बन्धका विविध आयाम, डा शर्माले वर्तमान स्थितिमा बीआरआईको अवसर र हिमालय क्षेत्रको साझा भविष्यका विषयमा प्रकाश पार्नुभएको थियो । प्रोफेसर डा युवराज सङ्ग्रौलाले नेपाल–चीन सम्बन्धका सन्दर्भलाई जोड्दै अफगानिस्तानको वर्तमान स्थिति र नेपालसहित दक्षिण एशियामा यसको प्रभावका विषयमा प्रस्तुति गर्नुभएको थियो ।

    यस्तै चीनका तर्फबाट नेपालका लागि पूर्वराजदूत छिउले नयाँ परिस्थितिमा नेपाल–चीन सम्बन्धलाई अझ फराकिलो बनाउनुपर्ने बताउनुभयो । चिनियाँ वक्ता डा हुवाङ चङतोले कोभिड महामारीका सन्दर्भमा नेपाल चीनको साझा भविष्य एवं नेपालको विकास र चुनौतीका विषयमा विचार व्यक्त गर्नुभएको थियो ।

    चाहर इन्स्टिच्युटका तर्फबाट अर्का वक्ता प्रो छङ सीचोङले नेपाल र चीन बीचको सम्बन्धमा प्रभाव पार्न सक्ने बाह्य तत्वहरु र त्यसबाट सावधान रहनुपर्ने पक्षबारे आफ्नो धारणा राख्नुभएको थियो । सयभन्दा बढी सहभागी रहेको वेबिनारमा नेपालका तर्फबाट सहभागीले चीनले नेपालसँग सीमा जोडिएका जिल्लामा गर्ने सहयोग, बीआरआईमार्फत हुने कार्यक्रम र चीनको नेपाललगायत दक्षिण एशियाली देशहरू प्रतिको दृष्टिकोणबारे जिज्ञासा राखेका थिए । समुन्नति फाउन्डेशनका महासचिव हरिराज अधिकारीले स्वागत गर्नुभएको उक्त वेबिनारमा फाउन्डेशनका अध्यक्ष रेखा शर्माले नेपाल–चीन सम्बन्ध र आगामी दिनमा गर्न सकिने सहकार्यका क्षेत्रबारे स्पष्ट पार्नुभएको थियो ।

    अध्यक्ष शर्माले नेपाल चीन बीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै चीनले कोरोना विरुद्धको खोप प्रदानका गरेकामा आभार व्यक्त गर्नुभयो । उहाँले चीनले नेपालको आर्थिक एवं सामाजिक विकासका क्षेत्रमा सहयोग विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो । वेबिनारका सहभागीहरूले नेपाल र चीनबीच रहेको पुरानो एवं सुमधुर सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । 

रासस

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  १० : ०१ बजे