सुनको मूल्यमा नयाँ कीर्तिमान

लगातारको वर्षापछि सप्तकोसीमा यस वर्षकै उच्च बहाव, सतर्क रहन आग्रह

काठमाडौं । सप्तकोसी नदीमा यस वर्षकै उच्च बहाव मापन गरिएको छ ।

केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार पछिल्लो मापनानुसार सप्तकोसीमा पानीको बहाव दुई लाख ५७ हजार ७९० क्युसेक प्रतिसेकेन्ड पुगेको छ । सप्तकोशीमा बहाव प्रतिसेकेण्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ । जोखिमबारे सूचित गर्न रातो बत्ती बालिएको छ ।

नदीको बहाव बढेसँगको कोसी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन । गएको साउन ३२ गते कोसीमा यस वर्षकै बढी दुई लाख ५६ हजार २० क्युसेक प्रतिसेकेन्ड बहाव मापन गरिएको थियो । पहिल्लो मापनले सो रेकर्डलाई समेत उछिनेको छ ।

पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोसीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ । चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ । जसका कारण कोसी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आँकलन गरिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको खबर प्राप्त भएको बताए । उनका अनुसार गरैया टापुका २० घरपरिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ । नदीको बहाव बढेसँगै प्रजिअसहितको टोली कोसी क्षेत्रको निरीक्षणमा निस्केको छ । 

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ३ : ३२ बजे