एमाले सिध्याउने गोप्य बोलपत्रमा माधवले पाएको ठेक्का

काठमाडौं । एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले भदौं २ मा एमाले छोड्ने निर्णय गरि भदौं ९ मा निर्वाचन आयोगबाट नेकपा एकिकृत समाजवादीको बैधानिकता प्राप्त गर्नुभयो । वैधानिकता पाएको भोलिपल्ट भदौं १० मा नेता नेपालले एउटा खुलासा गर्नुभयो, त्यो खुलासा थियो –‘एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि प्रधानमन्त्रीबाट हटाउने जिम्मा मलाई दिइएको थियो, उहाँहरुले ओलीलाई हटाउन तपाईले मात्र सक्नुहुन्छ त्यसको नेतृत्व लिनुस भन्नुभयो र मैले ओलीलाई हटाई छाडे ।’ माधव नेपालको यो कथनले भन्छ ओलीलाई प्रधानमन्त्रीबाट हटाउने एउटा ठुलो षडयन्त्र भित्र भित्रै रचिएको थियो । त्यसमा प्रचण्ड र शेरवहादुर देउवाहरु त थिए नै, विदेशी शक्तिहरु पनि लागेका थिए । तीन कार्यकाल पार्टी महासचिव हुनुभएका, एमालेबाटै प्रधानमन्त्री हुनुभएका, त्यो पनि निर्वाचन हारेपछि र विधानमै नभएको वरिष्ठ नेता नेपालले एमाले सिध्याउन को को सँग कस्तो सम्झौता गर्नुभएको थियो भन्ने क्रमश खुल्दै जाला । तर आफैले बनाएको पार्टी र त्यही पार्टीका कारण बनेको आफ्नो प्रतिष्ठालाई धुलिसात गर्न घरेलु र बाह्य शक्तिको उहाँ असली मोहरा बन्नुभएको भने प्रष्टै छ । 

एमाले अध्यक्ष ओलीले माधव नेपाललाई एमालेमै फर्काउन धेरै लचकता देखाउनुभयो । यहाँसम्म कि आफैसँग निर्वाचनमा हारेका नेपाललाई दोस्रो अध्यक्ष बनाउन समेत उहाँ तयार हुनुभयो । तर माधव नेपालले त्यसलाई अस्विकार गर्नुभयो । पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन १० सदस्यीय कार्यदलले  दिएको सुझाब ओलीले मान्नभयो तर नेपालले मान्नुभएन । माधव नेपाललाई ओलीसँग राजनीतिक प्रतिस्पर्धा गरेर एमालेको अध्यक्ष हुन्छु भन्ने विश्वास थिएन र जनताबाट अनुमोदित भएर फेरि प्रधानमन्त्री बन्छु भन्ने विश्वासपनि थिएन किनकी माधव नेपाल पार्टी सत्ता र राज्य सत्ता दुवैको नेतृत्व गरेर त्यसमा असफल हुनुभएको नेता हो । त्यसैले जसरी पनि एमाले सिध्याउने देशी विदेशी षडयन्त्रको उहाँ एक गोटी बन्नुभयो । नेता नेपालकै भाषामा केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने एउटा गुप्त योजनाको ठेक्का उहाँले पाउनुभएको थियो । प्रचण्ड र देउवालाई उल्लेख गर्दै ओलीलाई हटाउन उहाँहरुले मलाई जिम्मा दिनुभयो भन्नुको अर्थ एमाले सिध्याउने र ओलीलाई हटाउने योजनाको ठेक्का उहाँले लिनुभएको अर्थमै बुझिन्छ । 

ओलीलाई हटाएर एमाले सिध्याउने एउटा ठुलो षडयन्त्र भईरहेको थाहा पाएपछि भीम रावल,अष्ट्रलक्ष्मी शाक्य, घनश्याम भूषाल र सुरेन्द्र पाण्डेहरुले माधव नेपालको साथ छोडनुभयो । पार्टी एकताका लागि उहाँहरुले गरेका सवै इमान्दार प्रयासलाई ओलीले मान्नुभयो तर माधव नेपालले उल्टै उहाँहरुलाई ओलीसँग मिलेको आक्षेप लगाउनुभयो र कुरा गर्नै नसकिने शर्त माथी शर्त थप्दै जानुभयो । यसको अर्थ माधव नेपाल जसरी पनि पार्टी फुटाउने योजनामा हुनुहुन्थ्यो तर लोकलाजले एकताको नाटक मन्चन गरिरहनुभएको थियो । अन्तत् त्यसको पटाक्षेप भयो एमाले सिध्याउन देउवा, प्रचण्ड माधव नेपाल र केही बाहिरिया शक्ति लागेको प्रष्ट भयो । त्यसको एउटा प्रमाण २० प्रतिशतवाल अध्यादेश हो । परमादेशवाला प्रधानमन्त्री देउवाले माधव नेपाललाई अध्यादेशवाला अध्यक्ष बनाइदिनुभयो त्यो पनि एमाले फोडेर । यतिबेला माधव नेपाल कुनै सिद्धान्त दर्शन र विचार नभएको नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष बन्नुभएको छ । उहाँको एकमात्र ध्याउन्ने सत्तामा जाने, आफना मान्छेलाई मन्त्री बनाउने र राजनीतिक नियुक्ति दिलाउनेमा मात्रै केन्द्रित छ । त्यसका निम्ती प्रचण्ड र देउवाले नेपाललाई सहयोग त गर्नु नै होला त्यो सँगै एमालेविरुद्ध माधव नेपाललाई भरपुर प्रयोग गर्नेछन् । माधव नेपालले कस्तालाई नियुक्ति गर्दैहुनुुहन्छ र कस्तालाई मन्त्री बनाउँदैहुनुहुन्छ भन्ने दृष्टान्त उहाँले आफ्ना पिएलाई प्रदेश प्रमुख र आफ्ना एक कार्यकर्तालाई रेलको महानिर्देशक बनाएको बाटै प्रष्ट  हुन्छ ।

उहाँको साथमा लागेकाहरु मन्त्री बन्न र नियुक्ति खान एमाले छोडेका हुन् र त्यहाँ वैचारिक राजनीति इमान्दारीता केही छैन । माधव नेपाल जसले एमाले फुटाए, जो २० प्रतिशतवाला अध्यादेशका अध्यक्ष हुनुहुन्छ, जसको वैचारिक राजनीतिक सिद्धान्तको धरातल केही छैन । उहाँले कम्युनिष्ट पार्टीलाई बलियो बनाउने बताउनुको कुनै अर्थ छैन । किनकी माधव नेपालसँग त्यो हैसियत नै छैन । नेपालले विस्तारै बुझदै जानुहोला अहिले उहाँलाई मोहरा बनाएर एमालेमाथी गरिएको आक्रमणले अन्तत उहाँलाई पनि सिध्याउने छ । किनकी जुन शक्तिले उहाँलाई अहिले प्रयोग गरेको छ । त्यसको औचित्य पुरा भएको छ । अब कुनैपनि बेला माधव नेपाललाई त्यही शक्तिले रछयानमा मिल्काउने छ । 
 

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  १ : ३४ बजे