मन्थली विमानस्थलमा पानी पस्यो

बस्ती बाहिरबाट विद्युतीय लाइन विस्तार गर्न माग

राँझा – वैजनाथ गाउँपालिकावासीले कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन बस्ती बाहिरबाट विस्तार गर्न माग गरेका छन् । वडा नं ४ को नौवस्ता र वडा नं १ को चिसापानी तथा गाभर बस्ती हुँदै लाइन विस्तारको तयारी भएकाले  विकल्प खोज्न आफूहरुले माग गरेकोे स्थानीय अगुवा पुनित शाहले जानकारी दिनुभयो । 

    उहाँका अनुसार घर तथा घडेरी माथिबाट प्रसारण लाइन विस्तार गरिए ती  बस्तीका करिब ६० घरपरिवारमा असर पर्नेछ ।
    सर्भेक्षणदेखि सार्वजनिक सुनुवाइ  गर्दासम्म पनि बैठकमा आफूहरुलाई जानकारी नगराइएको तर अहिले एकाएक लाइन विस्तार गर्न थालिएको वडा नं १ चिसापानी निवासी वकिलजङ्ग साहको गुनासो थियोे । 

    उहाँले यी बस्तीका सर्वसाधारणको नाम र हस्ताक्षर किर्ते गरेर काम  अगाडि बढाइएको आरोप लगाउनुभयो । जग्गाधनी जनतालाई थाहै नदिएर  लाइन विस्तार गरिएकाले अहिले आक्रोशित पीडितले प्रमुख जिल्ला अधिकारीमार्फत सरोकार निकायमा वैकल्पिक उपाय अपनाउन  ज्ञापन पत्र बुझाएका छन् ।

    प्रजिअ शिवराम गेलालले यस विषयमा अध्ययन गर्न एक समिति बनाइएको र  सम्बन्धित  निकायमा पनि जानकारी गराइएको छ भन्नुभयो । 

    बाँकेको कोहलपुर सबस्टेशनबाट प्रारम्भ भई सुर्खेतको वीरेन्द्रनगरस्थित सबस्टेशनमा गएर टुङ्गिने प्रसारण लाइन  करिब ५१ किलोमिटर लामो हुने र ‘डबल सर्किटका एङ्गल टावर’ २६ वटा रहने छ । आयोजनाको कूल टावर सङ्ख्या १४५ रहने बताइएको छ । उक्त आयोजनाका लागि करिव रु  एक अर्ब ८० करोड लाग्ने जनाइएको छ । 

रासस

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ५ : २२ बजे