एमालेसँगको एकता रणनीतिक योजनानुसार भएको थियो : लीलामणि पोखरेल

भादगाउँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समितिका सदस्य लीलामणि पोखरेलले नेकपा (एमाले) सँगको तत्कालीन पार्टी एकता रणनीतिक योजनानुसार भएको बताउनुभएकोे छ । उहाँले बिहीबार साँझ  मध्यपुरथिमि नगरपालिका–४ को वडा भेलालाई सम्बोधन गर्दै लामो समय मिलेर बस्न सकिँदैन भन्ने जानकारी हुँदाहुँदै तत्कालीन समयमा पार्टी एकता गर्नुपरेको हो भन्नुभयो । 

    उहाँले भन्नुभयो, “पार्टी एकता दीर्घकालीन सोचले भएको होइन  । एमालेसँगको माओवादीको एकता अल्पकालीन सम्झौता मात्र थियो ।”सरकारले ल्याएको अध्यादेश संविधान रक्षाका लागि भएको  पूर्व सांसद पोखरेलले जिकिर गर्नुभयो । 

    माओवादी केन्द्रका नेता गुणकृष्ण श्रेष्ठका अध्यक्षतामा सम्पन्न नगरसभा बैठकमा पार्टीका भक्तपुर इन्चार्ज दिलीप प्रजापति, अध्यक्ष डीपी ढकाल, नगर इन्चार्ज कृष्णलाल गोजा र नगर अध्यक्ष विजय श्रेष्ठले  सङ्गठन निर्माणमा जोड दिनुभयो ।  सो अवसरमा प्रदीप श्रेष्ठका अध्यक्षतामा २१ सदस्यीय मध्यपुरथिमि–४ वडा कमिटी र सुशील श्रेष्ठका नेतृत्वमा वडाको २३ सदस्यीय वाइसीएल कमिटीसमेत निर्वाचित गरिएको नगर संयोजक विजयले बताउनुभयो । 

रासस

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १ : ३१ बजे