रिस,आवेग र कुण्ठाले खोलेको माधवको नयाँ पार्टी चल्दैन : ज्ञवाली 

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले माधव नेपालको नयाँ पार्टी नेकपा एकिकृत समाजवादी नचल्ने दाबी गर्नु भएको छ  । 

पार्टी विभाजनपछि पत्रकारसँग प्रतिक्रिया दिनुहुँदै ज्ञवालीले माधव नेपालले रिस,आवेग र कुण्ठाले मात्र पार्टी खोलेकाले त्यस्तो पार्टी नचल्ने बताउनुभयो । उहाँले पार्टी चल्न विचार र सिद्धान्त प्रमुख हुने बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘माधवको पार्टी टिक्दैन,उहाँहरूको जम्माजम्मी मक्सद भनकै केपी ओलीको विरोध गर्नु मात्र हो, त्यसरी पार्टी चल्छ त ?’ उहाँको प्रश्न थियो ।  

आफ्नै पार्टीको सरकार ढालेर विपक्षीलाई सत्ता सुम्पनेले अरूलाई दक्षिणपन्थी आरोप लगाउनु हास्यास्पद भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ जसले बहुमतको वामपन्थी सरकारलाई ढालेर विपक्षी काँग्रेसलाई सत्ता सुम्पियो त्यस्ता मान्छेले अरूलाई दक्षिणपन्थी आरोप लगाउनु  हास्यास्पद हो ।’

अहिलेको अवस्थामा माधव नेपालसँग एकताको कुनै सम्भावना नरहेको ज्ञवालीले बताउनुभयो । 

आफ्नै साथीहरूको विश्वास नगरेर बन्द कोठा भित्र कार्यकर्ता राखेर पार्टी विभाजन गर्ने माधवले अरूलाई पार्टी विभाजन गर्‍यो भनेर  आरोप लगाउनु व्यर्थ रहेको उहाँले बताउनुभयो ।

एमालेका सचिवसमेत रहनुभएका ज्ञवालीले माधव नेपालले विभाजनको बाटो रोजेर इतिहासको कालखण्डमा ठुलो गल्ती गर्नुभएको बताउनुभयो ।

 

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १ : ४५ बजे