साफ यू–१७ च्याम्पियनसिप आजदेखि

चौतारा अस्पताल र जलविरे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री र उपकरण प्रदान

सिन्धुपाल्चोक ।  जिल्लाको चौतारा अस्पताल र जलविरे प्राथमिक स्वास्थ्य केन्द्रमा एशिया नेपालले कोभिड–१९ प्रतिकार्यका लागि स्वास्थ्य सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ । 

रु २६ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको एशिया नेपालका कार्यक्रम निर्देशक नवराज आचार्यले बताउनुभयो । 

अक्सिजन कन्सन्ट्रेटर, सि क्याप डिभाइस, हस्पिटल मास्क, अक्सिमिटर, एन्टिजेन किटलगायत २४ प्रकारका कोभिड प्रतिकार्य सामग्री प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
 
संस्थाले चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट डा करुणा बज्राचार्यलाई संयुक्तरूपमा सामग्री हस्तान्तरण गरेको थियो । 

प्राप्त सहयोग सामग्री बुझ्दै चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले अस्पतालबाट दिने सेवामा यस्ता सामग्रीले महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले सामग्री सहयोगका लागि एशिया नेपाललाई धन्यवाद व्यक्त गर्दै बिरामीको सुलभ उपचारमा चौतारा अस्पताल सदैव लागिरहेको बताउनुभयो ।

सो कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बज्राचार्यले यस्ता सामग्री कोभिड–१९ र श्वासप्रश्वासका बिरामीका लागि निक्कै उपयोगी हुने बताउनुभयो । 

जलविरे प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा प्रशान्त ज्ञवालीले स्वास्थ्य केन्द्रमा रहेको एउटा अक्सिजन कन्सन्ट्रेटर बिग्रिएको अवस्थामा प्राप्त भएको सामग्रीले उपचार सेवामा सहजता ल्याउने बताउनुभयो । 

एशिया नेपालका परियोजना प्रबन्धक सुनिल खनालले सिन्धुपाल्चोकमा कोभिड प्रतिकार्यमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै सामग्रीको सही सदुपयोग गर्न आग्रहसमेत गर्नुभयो । 

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ७ : ३३ बजे