माधवलाई जोगाउन सभामुख सापकोटाले गरे दाँतको सर्जरी 

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एमालेले गरेका १४ जनाको कारबाहीको सूचना टाँस्न एक पछि अर्को बहाना खोजिरहेका छन् । सत्तारुढ गठबन्धनले एमालेको माधव पक्षलाई पार्टी विभाजन गर्न सजिलो हुने गरी अध्यादेश ल्याइरहेका बेला सङ्घीय सांसदका सभामुख पनि माधव नेपालको बचाउमा लागिरहेका छन् । 

नेकपा एमालेले पार्टीको हित विपरीत गतिविधि गरेको र पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद्को विश्वासको मत मागेको बेला मत नदिएका सभासद्लाई कारबाही गरेको थियो । एमालेले गरेको कारबाही रोक्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले हप्ता दिन यता विभिन्न बहाना खोज्दै आइरहेका छन् ।  

जनैपूर्णमा र गाईजात्रा पर्वको सार्वजनिक बिदाको कारण बहाना खोज्न केही राहत महशुस गरेका सभामुख अग्निप्रसाद सापकोटाले आज सोमबार भने  दाँतको उपचारको बहाना पाएका छन् । यही बहानामा सापकोटा आज वीर अस्पताल पुगेका थिए । त्यहाँ उनकाे दाँतको सामान्य ओरल सर्जरी भने  गरिएको छ  । 

डेन्टल विभागकी प्रमुख डा‍. शैली प्रधान, डा‍. किशोर भण्डारी लगायतको चिकित्सकहरूको टोलीले चेकजाँचपश्चात् सफलतापूर्वक सर्जरी गरेको सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जनाएका छन् । न्यौपानेले  सभामुख सापकोटा चिकित्सकको सुझाव अनुसार निवासमा आराम गरिरहेको विज्ञप्ती जारी गरेका छन् । 

माधव नेपालसहितका १४ सांसदको सूचना टाँस्ने हो भने उनीहरूको संसदीय पद तुरुन्त गुम्नेछ । अध्यादेशका आधारमा निर्वाचन आयोगबाट दलको मान्यता प्राप्त गरिसकेपछि भने नेपाल लगायतको पद बच्न सक्छ । सभामुख सापकोटाले माधव पक्षका नेताहरूको पद जोगाएर दल विभाजन गर्नकै लागि सूचना टाँस्न अलमल गर्दै आइरहेका छन् । सभामुख सापकोटाको यही कृयाकलापका कारण उनको यत्तिखेर आलोचना भइरहेको छ ।  

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  २ : २७ बजे