काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् ।
पार्टीले क्रियाशील सदस्यताको सूची सार्वजनिक नगरेकामा रुष्ट बनेका सभापतिहरुले सूची सार्वजनिक गर्नेलगायतका माग राखेर धर्ना शुरु गरेका हुन् । धर्ना दिनेमा संस्थापनइतर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरू रहेका छन् । निर्वाचन निर्देशिकामा सबै जिल्ला र तहमा एकरूपता ल्याउन पनि सभापतिहरुले माग गरेका छन् । एकमात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला सभापतिको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि हुनुनपर्ने व्यवस्था हटाउन पनि उनीहरुले भनेका छन् ।
क्रियाशील सदस्यताको सूचीमा हुने त्रुटी विधान र मापदण्डबमोजिम छानबिन गरी अन्तिम रुप दिइनुपर्ने धर्नामा सहभागि कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले बताउनुभयो ।
सभापति केसी अनुसार तीन वटा माग राखेर उनीहरु धर्नामा बसेका हुन्, जसमा ‘क्रियाशील सदस्यता सूची सार्वजनिक गर्ने, सूचीमा भएका कमजोरी विधिसम्मत ढंगले टुंग्याउने र निर्वाचनका लागि सबैतिर समान व्यवस्था हुनुपर्ने ।’ हिजो सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सहमतिमा क्रियाशील सदस्यता विवाद टुंगो लगाइएको बताइएको थियो । तर आजै पौडेल पक्षीय जिल्ला सभापतिहरु धर्नामा बसेका छन् ।
प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार १२ : ३३ बजे
प्रतिक्रिया