कुलमान घिसिङको नियुक्तिविरुद्धको रिटमा मंगलबार सुनुवाइ हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भन्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमा मङ्गलबार सुनुवाइ हुने भएको छ ।

भदौ २ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको सुनुवाइ ‘हेर्न नभ्याइने’मा राखिएको थियो । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार सो रिटको सुनुवाइ मङ्गलबारका लागि तोकिएको छ ।

सरकारले निवर्तमान प्रमुख कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको प्रमुखको साटो उर्जा आयोगको विज्ञमा नियुक्ति गरेकोमा त्यसका विरुद्ध उहाँले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

ऊर्जा आयोगमा सचिवसरहको सेवा सुविधा दिई शाक्यलाई चार वर्षका लागि नियुक्ति गरिएको थियो । शाक्यले साउन ३२ गते नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ४ : ०५ बजे