प्रदेश प्रमुख गुरुङद्वारा जनै पूर्णिमाको शुभकामना

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले रक्षाबन्धन, ऋषितर्पणी एवं जनै पूर्णिमाका अवसरमा सम्पूर्ण प्रदेशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ । 

आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वले सम्पूर्ण प्रदेशवासी सबै दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको हो ।

विभिन्न समुदायले खुशीयालीस्वरुप उत्साह र उमङ्गका साथ मनाउने रक्षा बन्धनले मौलिक परम्परा र सांस्कृतिक महत्व बोकेको जनाउँदै प्रदेश प्रमुख गुरुङले यो पर्व तागाधारी समुदायले मात्रै नभई विभिन्न समुदायले मनाउने गरेको हुँदा यस पर्वको महत्व बढेको उल्लेख गर्नुभएको छ ।

उहाँले नेपाल बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले यस्ता पर्वले सामाजिक, सांस्कृतिक र जातीय एकता कायम गर्दै आपसी सद्भावलाई प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै सन्देशमा भन्नुभएको छ, “पर्व र संस्कृतिले समुदायबीच आपसी सद्भाव कायम राख्दै सांस्कृतिक, आर्थिक र सामाजिकरूपमा एकीकृत र मजबुत बनाउन सहयोग पुग्दछ ।”

विज्ञप्तिमा कोरोना महामारीले विश्व नै प्रभावित भइरहेका बेला सबैले चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गर्न र सबै नागरिकको इमान्दार प्रयासले मात्र कोरोनालाई जित्न सकिने उल्लेख छ ।
 

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ७ : ५६ बजे