‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

माधवले हस्ताक्षर गराएका सदस्यमा ९ जना गैरकानुनी : २० प्रतिशत केन्द्रीय सदस्यसमेत पुग्न सकेनन्

काठमाडौं । नेकपा एमालेले नेकपा एमाले (समाजवादी) दर्ताका लागि एमालेले कार्वाही गरेका ९ जनाको हस्ताक्षर गैरकानुनी भएको बताएको छ । निर्वाचन आयोगलाई नेकपा एमालेले माधव नेपाल अध्यक्ष बनेर दल दर्ताका लागि निवेदन परेको नेकपा एमाले (समाजवादी)को को नाम पनि कानून बमोजिम दिन नमिल्ने जनाएको हो । 

एमाले निर्वाचन विभागका नेताहरु आज आयोग पुगेर एमालेको नाम कसैलाई डुप्लिकेशन हुने गरि नदिन ध्यानाकर्षण गराउनुभएको हो । एमालेले केन्द्रीय सदस्यसहित सांसद र पार्टी सदस्यबाट निष्कासन गरिसकेका १४ जनामध्ये ९ जनाले केन्द्रीय कमिटी सदस्यका हैसियतमा दल विभाजनमा हस्ताक्षर गरेको पनि मान्य नहुने बताएको हो ।

आयोगमा पुगेका एमाले नेताहरुले राजनीतिक दल सम्बन्धी ऐनका दफा २८ अनुसार ह्वीप उल्लंघन गरेको भने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले दिएको लिखित जानकारीका आधारमा उनीहरुलाई केन्द्रीय कमिटी बैठकले कारवाही गरिसकेको र भदौ १ गतेअघि नै केन्द्रीय सदस्यको हैसियत गुमाइसकेको  जानकारी गराएको हो । 

उनीहरुलाई एमालेले साधारण सदस्यबाट समेत निष्कासन गरेको जानकारी यसअघि नै  निर्वाचन आयोगलाई  दिइसकेको भन्दै एमालेले ती व्यक्तिले केन्द्रीय सदस्यका रुपमा एमाले दल विभाजनमा गरेको हस्ताक्षर वैधानिक नहुने बताएको हो  ।

एमालेले साउन २५ गतेको केन्द्रीय कमिटी बैठकको निर्णयबाट माधव नेपालसहित १४ जना सांसदलाई कारवाही गरि पद रिक्त गराउन संसद सचिवालयलाई र उनीहरु केन्द्रीय सदस्यमा नरहेको विवरण निर्वाचन आयोगलाई बुझाएको थियो ।

कारवाही परेका १४ जनामध्ये माधव नेपाल,मुकुन्द न्यौपाने,विरोध खतिवडा,निरा जैरु,रामकुमारी झाँक्री,जीवनराम श्रेष्ठ,कल्याणी खड्का मेटमणी चौधरी र सरला यादव एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् ।

एमाले विभाजनका लागि आवश्यक २० प्रतिशत संसदीय दलबाट नपुगेपछि केन्द्रीय कमिटीबाट गरिएको थियो । तर एमालेले माधव नेपालसहित ९ जना एमालेको केन्द्रीय कमिटी सदस्य नरहेको दावी आयोग समक्ष गरेको छ ।

एमालेको केन्द्रीय कमिटीका ५८ जनाले हस्ताक्षर गरेको भनिएकामा केहीले हस्ताक्षर फिर्ता लिएको,केहीले असहमति जनाएको र ९ जनाको हस्ताक्षर मान्य नहुने भएकाले माधव नेपालको नेतृत्वको दल दर्ता नहुनसक्ने संभावना छ । 

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  २ : ३१ बजे