‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

दबाब फेस गर्न नसकेर सभामुख भागे, पार्टीको कार्यकर्ता भएको एमाले सांसदको आरोप

काठमाडौं । संसदीय दलको ह्वीप उल्लंघन गरेर निष्कासनमा परेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न माग गदै एमालेका सांसदले सभामुख अग्नि सापकोटालाई २ घण्टा कुरेपनि उहाँ भने कार्यकक्षमा आउनुभएन ।  

आज कार्यालय समय शुरु हुनासाथ एमालेका सांसदहरू सभामुखको कार्यकक्षमा पुगेका थिए । सचेतक शान्ता चौधरी, खगराज अधिकारी,गोकुल बास्कोटा,कृष्णभक्त पोखरेल,राजेन्द्र गौतम,लालबाबु पण्डित,विमला विश्वकर्मा,गोमा देवकोटा, थममाया थापा,निरु पाल, भगवती न्यौपाने, सूर्य पाठक लगायतका सांसद सभामुखलाई दबाब दिन जानुभएको थियो ।

दुई घण्टा कुरेपनि सभामुख नआउनुभएपछि शान्ता चौधरीले फोन गर्नुभएको थियो । फोनमा सभामुख सापकोटाले आफु आउन नसक्ने बताउनुभएको उहाँले चक्रपथलाई जानकारी गराउनुभयो । उहाँले भन्नुभयो …‘ सभामुख हामीसँग फेस गर्न नसकेर भाग्नुभयो, बाहिर–बाहिरै एमालेविरुद्धको षडयन्त्रमा सामेल भएको पुष्टी भएको छ ।’  सभामुख भन्दा पनि बढि पार्टीको भूमिका निभाउनु भएको चौधरीले बताउनुभयो । माओवादीको कार्यकर्ता भएकाले उहाँ आज आउनुभएन चौधरीले भन्नुभयो । 

एमालेले माधव नेपालसहितका १४ सांसदलाई साउन २५ गतेको केन्द्रीय कमिटी बैठकबाट निष्कासन गरेको छ । सो पत्र भदौ १ गते निर्वाचन आयोग र संसद सचिवालयमा पठाइएको छ । कानून बमोजिम संसद नचलेको बेला सम्बन्धित दलले निष्कासन गरेको पत्र सूचना पाटीमा टाँस्नपर्ने व्यवस्था छ । तर सभामुख सापकोटाले अटेर गर्दै आउनुभएपछि उहाँको तिब्र आलोचना भईरहेको छ । हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सभामुख सापकोटा माओवादीको कार्यकर्ता भएको आरोप लगाउनुभएको थियो । यसअघि माओवादी र जसपाले कारवाही गरेका सांसदलाई सभामुखले तत्कालै पदमुक्त गरेको तर एमालेले कारबाही गरेको पत्र चारदिन बितिसक्दा पनि सुँचना नटासेको भन्दै सभामुखको तिब्र आलोचना भईरहेको छ  ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  १२ : ५६ बजे