‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

एमालेका ९ जना नेताको अपिल – नयाँ पार्टी निर्माणबाट पछि हट्न माधव नेपाललाई आग्रह

​​​​​​​​​​​​​​काठमाडौँ । नेकपा एमालेका ९ जना नेताले संयुक्त विज्ञप्ति जारी गर्दै १० बुँदे सहमतिलाई नेताहरूले ग्रहण गर्न र समझदारीपूर्वक लागू गर्न नसक्दा पार्टी नै विभाजन हुने स्थिति सिर्जना भएको निष्कर्ष निकालेका छन् । 

विज्ञप्तिमा पार्टीलाई विभाजित र तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको तर्फबाट १० बुँदे सहमतिको तत्काल कार्यान्वयनका लागि आग्रह गरिएको छ ।

उहाँहरूले पार्टी अध्यक्षको हैसियतले पार्टीको हितमा अधिकतम लचिलो हुँदै वरिष्ठ नेता माधवकुमार नेपाल लगायत १४ जनालाई गर्ने भनिएको कारबाही लगायत सबै प्रकारका कारबाही रद्द गर्न आग्रह गर्नुभएको छ । 

नेताहरूले पार्टी विभाजनले कसैको पनि हित नगर्ने भन्दै अलग पार्टी दर्ताको प्रक्रियालाई पनि तत्काल रोकी एकता प्रक्रियामा सहभागी हुन माधव नेपाल पक्षलाई समेत आग्रह गर्नुभएको छ ।

बिहीबार राति संयुक्त विज्ञप्ति जारी गर्दै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भूसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तले पार्टीमा उत्पन्न सङ्कटको बेलामा नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूलाई सहमतिको कार्यान्वयन, पार्टीको एकता र विधिसम्मत सञ्चालनको पक्षमा उभिन, धैर्य, सुझबुझ र सक्रियताका साथ सकारात्मक भूमिका निर्वाह गर्न पनि आव्हान  गर्नुभएको छ ।

एमाले नेताहरूद्वारा जारी विज्ञप्तिमा देउवा सरकारले जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशले एमालेमा मात्र सङ्कट आउने नभई यसले सम्पूर्ण राजनीतिक पार्टीमा प्रभाव पार्ने र राजनीतिक अनिश्चयको दलदलमा फस्ने भन्दै अध्यादेश तत्काल फिर्ता गर्न माग गरिएको छ ।

​​​​​​​

 

 

​​​​​​​

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ८ : ४१ बजे