निजामती सेवा दिवसमा पुरस्कार वितरणदेखि वृक्षरोपणका कार्यक्रम हुने

काठमाडौँ । निजामती सेवा दिवस, २०७८ सफल पार्न राज्य नियन्त्रित समाचार संस्थाले प्रचारप्रसारमार्फत भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा कार्यक्रम संयोजन उपसमितिको संयोजनमा मंगलबार बसेको बैठकमा गोरखापत्र संस्थान, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन र विज्ञापन बोर्डका पदाधिकारीले आआफ्नो सञ्चारमाध्यमबाट समाचार, आलेख, लेखरचना, कार्यक्रम, विज्ञापन आदिबाट प्रचारप्रसार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सोअनुसार गोरखापत्र दैनिकमा भदौ २२ गते निजामती सेवा विशेषाङ्कका साथै लेखरचना आदि प्रकाशन हुनेछन् । 

रासस, नेपाल टेलिभिजन र रेडियो नेपालले पनि प्रदेशसमेत समेटी समाचार, आलेख र संवाद र कार्यक्रम उत्पादन गर्नेछन् भने विज्ञापन बोर्डले विज्ञापन सामग्रीका लागि समन्वय गर्ने छ । 

बैठकमा सञ्चार मन्त्रालयका सहसचिव डिल्लीराम शर्माले दिवसको मूल नारा तय गर्न पाँच  नारा सिफारिस गरिएको जानकारी दिनुभयो ।

मन्त्रालयका प्रेस तथा सूचना समन्वय शाखाका उपसचिव सङ्गीत ओझाले यस वर्ष निजामती सेवा पुरस्कार वितरण, खुला निबन्ध तथा कविता प्रतियोगिता एवं वृक्षरोपण तथा वातावरण संरक्षणका कार्यक्रम हुने जानकारी दिनुभयो । 

विसं २०१३ मा तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्य सरकारले भदौ २२ गते निजामती सेवा ऐन, २०१३ जारी गरेको दिनका सम्झनामा केही वर्षदेखि मुलुकमा निजामती सेवा दिवस मनाउने गरिएको छ । 

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ७ : ३६ बजे