‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

जसपाका १८ केन्द्रीय सदस्यसहित २० जनाले त्यागे उपेन्द्र यादव समूह

​​​​​​​काठमाडौं । जनता समाजवादी पार्टी नेपालका १८ जना केन्द्रीय सदस्यसहित २० जनाले उपेन्द्र यादव समूह छाडेको घोषणा गर्नुभएको छ ।  

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गर्दै बिष्णु जंग बस्नेतसहित १८ जना केन्द्रीय सदस्य र २ जिल्ला सदस्यहरुले जसपाको उपेन्द्र यादव समूह परित्याग गर्ने घोषणा गर्नुभएको हो । 

उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपालले पार्टी एकता गर्दा गरेको प्रतिवद्धतालाई लत्याउदै पार्टीलाई केही व्यक्तिको प्राइभेट लिमिटेडको रुपमा चलाएको आरोप लगाएका  छन् ।

पत्रकार सम्मेलनमा बोल्दै जसपाका केन्द्रिय सदस्य समेत रहेका भाडावाल सरोकार समाजका अध्यक्ष बिष्णु जंग बस्नेतले आजदेखि वाध्य भएर उपेन्द्र यादवको समूह परित्याग गर्नुपरेको बताउनुभयो । उहाँले देश २०७२ सालको भुकम्प र कोरोना महामारीमा जनताहरु प्रताडित हुँदाखेरी यो जसपाले जनतालाई केही दिन नसकेको बताउनुभयो  । १८ महिना उपेन्द्र यादव उप–प्रधान तथा स्वास्थ्यमन्त्री बनेर आफूले मात्र कमाएर जनतालाई केही नदिएको उहाले बताउनुभयो । 

उहाँले आफुले २०६५ साल देखि घरबेटीहरुको अन्याय विरुद्ध बोल्दै आएपनि राज्यले आफ्नो कुरा नसुनेको बताउनुभयो  ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य पदम अधिकारीले २०७२ को संविधानलाई प्रतिगामी भन्दै ६ महिना लामो आन्दोलन गरेर पुनर्लेखन गर्ने प्रतिवद्धता गरेको भए पनि बाबुराम भट्टराईसँग पार्टी एकता भएपछि उत्कृष्ट संविधान भन्न थालेको बताउनुभयो ।

केन्द्रीय सदस्य हिरालाल भुजेलले बाबुराम र उपन्द्रको एकलौटे रबैयाले केही नेताहरुले १६ जनाको संसदीय दल भएकोमा १३ जनाले पार्टी विभाजन गर्न लागेको अवस्थामा २०७७ साल बैशाख १० गते राति १२ बजे तत्कालिन राजपा नेपालसँग पार्टी एकता गरि जसपा नेपाल गठन गरी  विभाजन रोक्न सफल भएको बताउनुभयो । पार्टी बिभाजन, क्रान्ति, देश, जनताप्रति गद्धारी गर्नु भन्दा आजकै मितिमा जसपा उपेन्द्र यादव समुहबाट स्वतन्त्र भएको घोषणा गर्न चाहेको उहाँले बताउनुभयो ।

ललितपुर जिल्ला अध्यक्ष सनज महतले उपेन्द्र र बाबुरामको पार्टी कब्जा गर्ने रबैयाले अन्ततः पार्टी विभाजनको माग राखेर निर्वाचन आयोगमा निवेदन दिन पुगको बताउनुभयो  । आफैले प्रतिगामी भनिएकाहरुसँगको अप्राकृतिक सम्बन्धले पार्टीको घोषित नितिलाई तिलाञ्जली दिएर सत्तास्वार्थका लागि प्रतिगामी देउवा–प्रचण्डको भातृसंगठनको रुपमा लैजान पार्टी विभाजनसम्म गर्नेहरुको समुहमा नबस्ने उहाँको भनाई थियो ।

केन्द्रिय सदस्य उत्तम अधिकारीले बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका लागि बैचारिक दृष्टिकोण सहित बैकल्पिक संगठनात्मक संरचना र प्रणाली एवं कार्यदिशा र कार्यशैली भएको पार्टी निर्माणका लागि आह्वान गर्दै राजनीतिक संवाद थालनी गर्ने बताए ।

 

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ३ : ५६ बजे