‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

अध्यादेश ल्याए सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटि बैठकले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने निर्णय गरेको छ । 

आज बसेको  पार्टी स्थायी कमिटीको बैठकले  आफ्नो पार्टीमा विभाजन ल्याउने उद्देश्यले अध्यादेश ल्याउन लागिएको भन्दै यसविरुद्ध गम्भीर खबरदारी र सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।  बैठकले सरकारले ल्याउन लागेका अध्यादेश लोकतान्त्रिक प्रणालीविरुद्धमा रहेको निष्कर्षसमेत निकालेको छ ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने चेतावनी दिनुभयो  । उहाँले भन्नुभयो, ‘त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार स्वयं जिम्मेवार हुनुपर्नेछ ।’

दल विभाजन सम्बन्धी अध्यादेशले लोकतान्त्रिक प्रणालीलाई नै विभाजित बनाउने र मुलुकलाई संकटतिर धकेल्ने एमालेको ठहर छ ।

‘संसद अधिवेशनलाई आकस्मिक रुपमा अन्त्य गरेर पार्टी विभाजनका लागि अध्यादेश ल्याउने, प्रमुख प्रतिपक्षी दलका केही अराजक र पदलोलुप व्यक्तिहरुलाई विभाजनका लागि वैधानिक आधार प्रदान गर्ने र लोकतान्त्रिक प्रणालीभित्र चरम विकृति र भ्रष्टता भित्राउने तयारी सरकारले गरेको भन्दै एमालेले यो विषय अत्यन्त आपत्तिजनक, निन्दनीय र अस्वीकार्य भएको जनाएको छ ।

सरकारको यो कदमले हालै जारी गरिएको साझा न्यूनतम कार्यक्रममा व्यक्त प्रतिवद्धताको पनि धज्जी उडेको एमालेले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १ : ३८ बजे