भारततर्फ ८५ कार्टुन स्याउ लैजादैं गर्दा पक्राउ

सप्तरी – अवैध रुपमा भारततर्फ तस्करी गरी लैजान लागेको ८५ कार्टुन स्याउ प्रहरीले आज बरामद गरेको छ । 

भारतीय सीमा नजिक सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१२  मा भारततर्फ लैजाँदै गरेको दुईवटा ठेला रोकी जाँच गर्दा २५ कार्टुन र स्थानीयवासी मनोज मुखियाको गोठबाट ६० कार्टुन स्याउ बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

    प्रहरीलाई देख्नासाथ स्याउ ओसार्दै गरेका एकजना ठेला चालक भागी फरार भएको र अर्का ठेला चालक हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ का ४० वर्षीय शिवम् पण्डितलाई प्रहरीले पक्राउ गरेको छ । भारततर्फ लैजाँदै गरेको दुई ठेलामा २५ कार्टुन स्याउ बरामद भएको छ । सोधपुछका क्रममा पक्राउ परेका पण्डितले सोही ठाउँका मनोज मुखियाको गोठबाट स्याउ ल्याएको बताएपछि सो ठाउँमा खानतलासी गर्दा थप ६० कार्टुन स्याउ फेला पारेको हो ।

    आवश्यक कानुनी कारवाहीका लागि पण्डितसहित करिब तीन लाख ४५ हजार मूल्य बराबरका ८५ कार्टुन स्याउलाई राजविराज बेल्ही भन्सार कार्यालय तिलाठीमा पठाइएको प्रहरीले जनाएको छ ।

रासस

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ९ : २२ बजे