साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

बाढी प्रभावित हेलम्बुमा नेपाल ह्योल्मो समाज सेवा सङ्घको साढे तीन लाख सहयोग 

सिन्धुपाल्चोक । मेलम्ची खोलामा गत असार १ गते र साउन १७ गते आएको बाढीले क्षतविक्षत बनाएको हेलम्बुमा नेपाल ह्योल्मो समाजसेवा सङ्घले साढे तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

ह्योल्मो समाजसेवा सङ्घका केन्द्रीय अध्यक्ष पेमा ह्योल्मोको नेतृत्वमा गोसेर ह्योल्मो, उपाध्यक्ष डोल्मा कुमारी ह्योल्मो, कोषाध्यक्ष नुर्पु डोल्मा लामा सदस्य पुर्णिामा ह्योल्मो लगायतको टोलिले सहयोग रकम हस्तान्तरण गरेको हो । 

सङ्घले हेलम्बु गाउँपालिकाको लागि डेढ लाख रुपैयाँ उपाध्यक्ष कोपिला पण्डितलाई हस्तान्तरण गरेको छ । 

त्यस्तै मेलम्ची खोलामा आएको बाढीले पूर्ण रूपमा क्षति भएको इष्ट पोइन्ट एकेडेमीको पुनर्निर्माणका लागि पचास हजार र चनौटे क्षेत्रमा निर्माण हुँदै गरेको तुइन निर्माणको लागि डेढ लाख रुपैयाँ सहयोग गरेको छ । 

सहयोग हस्तान्तरण गर्दै अध्यक्ष पेमा ह्योल्मोले मेलम्ची खोलामा आएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्र क्षतविक्षत बनाउँदा धेरै दुख लागेको बताउँदै संस्थागत र आफ्नो व्यक्तिगत रूपमा पनि हेलम्बु–मेलम्ची क्षेत्रलाई फेरि उठाउनका लागि निरन्तर लाग्ने बताउनुभयो । 

सहयोग हस्तान्तरण कार्यक्रममा हेलम्बु–मेलम्ची खोला बाढी प्रभावित सरोकार समितिका अध्यक्ष भरत थापाले ह्योल्मो समाजसेवा सङ्घलाई धन्यवाद दिँदै हेलम्बु क्षेत्रका बाढी प्रभावितहरूको जनजीवन सहज बनाउनका लागि सुरुदेखि नै लागिरहेको र यस क्षेत्रको बाटो, पुल लगायतका संरचना पुनर्निर्माण र पीडितको पुनः स्थापना को लागि निरन्तर पहल गर्ने बताउनुभयो । 

नेपाल ह्योल्मो समाजसेवा सङ्घले यसअघि पनि खाद्यान्न, जस्तापाता, लत्ताकपडा लगायतका विभिन्न सहयोग सामग्री वितरण गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ९ : ०६ बजे