‘दास क्यापिटल’ अर्थात् ‘पुँजी’ जस्तो सुप्रसिद्ध र विश्वलाई नै नयाँ मोड दिने र नयाँ दिशाबोध गराउने महान् ग्रन्थका लागि अध्ययन सामाग्री जुटाइरहेका, अध्ययन गरिरहेका र लेखिरहेका बेला कार्ल मार्क्स गहन र गम्भीर महत्त्वका सैद्धान्तिक खोज अध्ययनमा लागेका थिए नै । तर यसरी अत्यन्तै महत्त्वपूर्ण सैद्धान्तिक अध्ययनमा समर्पित रहेका बेलामा पनि कार्ल मार्क्सले कोरा सैद्धान्तिक अध्ययन मात्रै गरिरहेका थिएनन्, तत्कालीन राजनीतिक घटना क्रमसँग आफ्नो सम्पर्क सूत्रलाई पनि निरन्तर कायम राखेका थिए र त्यसलाई एक क्षण पनि पटक्कै टुट्न दिएका थिएनन् । उनले एक सक्रिय प्रचारकर्ताका रुपमा आर्थिक विकास र युरोप तथा अमेरिकी देशहरूमा त्यहाँका शासक वर्गका नीतिहरूको अध्ययन पूरा सतर्कताकारसाथ गर्दै रहेका थिए । ती देशहरूमा चलिरहेका जनवादी तथा सर्वहारा आन्दोलनहरूका सानाभन्दा साना उपलब्धिहरूमाथि पनि सुक्ष्मतम् दृष्टिले गौर गरेर हेर्ने कुरामा मार्क्स कहिल्यै चुकेका थिएनन् ।
१८५० को दशकमा चार्टिस्ट आन्दोलनको बाम पक्षले मजदुर वर्गका बीच प्रचार कार्यको दिशामा केही सशक्त कदम उठायो । त्यस क्रममा केही चार्टिस्ट नेताहरू र आम कार्यकर्ताहरूका बिचारधारात्मक धारणाका बारेमा मार्क्सका बिचारहरू लगातार गहिरो हुँदै गएको छाप प्रष्टसँग उनमा देख्न सकिन्छ । १८५० मा चार्टिस्ट पत्र – रेड रिपब्लिकन – मा पहिलो पटक माक्र्सबादको कार्यक्रम, दस्ताबेज, कम्युनिष्ट पार्टीको घोषणापत्र(अग्रेजीमा अनुवाद) प्रकाशित गरियो ।चार्टिष्ट प्रेसका कतिपय लेखहरूमा खाशगरी ती लेखहरूमा जसमा बालिग मताधिकारद्वारा राजनीतिक शक्ति हासिल गर्नका लागि मानिसहरूलाई अपिल गरिएको थियो, घोषणापत्रका बिचारहरूलाई अभिव्यक्ति दिइएको थियो ।
कार्ल मार्क्सले – द पिपुल्स पेपर – साप्ताहिक निकाल्नमा – चार्टिस्ट – नेता अर्नेस्ट जोन्सलाई मद्दत गरे । त्यस पत्रिकाको पहिलो अङ्क १८५२ मा निस्कियो । त्यसमा मार्क्सका १७ वटा लेखहरू प्रकाशित भए । जोन्सको अनुरोधमा मार्क्सले प्रायः पत्रिकाको सम्पादनमा रुचि लिए र त्यसलाई उनले एउटा क्रान्तिकारी साप्ताहिकको रूप दिन मद्दत गरेका थिए ।
चार्टिस्ट नेताहरूले १८५४ मा मजदुर ट्रेड यूनिनयहरु र क्बलहरुका प्रतिनिधिहरूको काँग्रेस म्याञ्चेस्टरमा आयोजना गरे। उनीहरूको उद्देश्य एउटा ‘जन आन्दोलन’ नामले चार्टिस्ट सङ्गठन निर्माण गर्ने थियो । मार्क्स म्यानचेस्टर गएर त्यसमा भाग त लिन पाएनन् तर उनले काँग्रेसका लागि एउटा पत्र लेखे र त्यसमा सर्वहारा पार्टी गठन गरेर मजदुर बर्गलाइ राष्ट्रियरुपमा एक जुट तुल्याउन पर्ने आवश्यकतामाथि जोड दिए ।
१८५५ को गर्मीका समयको आइतबारका दिन व्यापार बन्द गर्ने सरकारको निर्णयका विरुद्ध श्रमजीवी जनताले लन्डनका सडकमाहरुमा विशाल प्रदर्शन गरे र उनीहरूको माग थियो कि आमरुपमा मजदुरहरुलाई उनीहरूको साप्ताहिक मजदुरी शनिबारका दिन दिने गरिन्छ र उनीहरू श्रीमतीहरू आइतबारका दिन बजारमा किनमेल गर्न सक्दछन् । त्यसैले यस दिन बजार(दोकानहरू) खुल्नु पर्दछ । यो ठूलो प्रदर्शनमा कार्ल मार्क्स स्वयं र बिल्हेम लिब्नेख्ट पनि सहभागी थिए । अनि जब पुलिसले प्रदर्शनकारीहरुमाथि हमला ग¥यो त्यो बेला ती दुवै व्यक्ति पक्राउ पर्नबाट धन्न धन्न जोगिए ।
त्यति बेला ब्रिटिस मजदुरहरूका हडताल, आन्दोलन र जनकारबाहीहरूले साबित गरेका थिए कि मजदुर बर्गमा अपार सम्भावना निहित रहेको छ । प्रश्न के थियो भने के ती सम्भावनहरुलाई मूर्त रूप दिन सकिन्छ ? प्रश्न अर्को के पनि थियो भने आउँदा केही वर्षमा के सर्वहारा वर्ग न केवल ‘आफूमा आफै एउटा वर्ग’ मात्र होइन कि ‘आफ्नै लागि एउटा वर्ग’ बन्न सक्ला ? यो कम महत्त्वपूर्ण कम गम्भीर प्रश्न थिएन । यस अध्ययनको क्रममा त्यतबेला इंगल्याण्डको आर्थिक तथा राजनीतिक परिस्थितिको विश्लेषणबाट मार्क्स कुन निष्कर्षसम्म पुगेका थिए भने यदि ब्रिटिस मजदुर वर्ग सुसंठित भयो र आफ्नो जागरुपता बढायो अनि आफ्ना भावनालाई बढी क्रान्तिकारी बनायो भने सम्भवतः इंल्याण्डको विकासले क्रान्तिकारी परिवर्तनको बाटो पक्रिन सक्तछ (तर १८५०को दशकको अन्तिम वर्षहरूमा यो स्पष्ट भयो कि चार्टिस्ट आन्दोलनले राजनीतिक मोर्चा नै त्यागिदियो) ।
१८५० का बेला ट्रेड युनियनको विकास तीव्र गतिमा भइरहेको थियो । भवन निर्माण, इन्जिनियरिङ, सूती कपडा उद्योग र अन्य उद्योगहरूमा मजदुरहरूले ट्रेड युनियन बनाए र पुँजीको हमलाका विरुद्ध श्रमिक शक्तिलाई एकजुट पार्ने कोसिस गरिरहेका थिए । तर ट्रेड युनियन नेतृत्वले आफ्नो सारा ध्यान केवल आर्थिक मागहरूमाथि मात्र केन्द्रित ग¥यो । मजदुर आन्दोलनमा ट्रेड युनियनवाद यसरी लगातार हाबी हुँदै जान थाल्यो । ब्रिटेन विश्वको सबैभन्दा ठूलो औद्योगिक र औपनिवेशिक शक्तिकारुपमा उदाउनाले यस प्रक्रियालाई अझ बल मिल्यो र मजदुर वर्गका बीच एउटा यस्तो अभिजात्य तप्का हुर्किएर देखाप¥यो जसलाई ब्रिटिस पूजीपति बर्गले आडधाप दिन्थ्यो र मजदुर वर्गमाथि आफ्नो प्रभाव कायम राख्ने औजारकारुपमा तिनको उपयोग गर्ने गर्दथ्यो ।
सन् १८५०को दशकको अन्तिम र १८६० को दशकका आरम्भिक वर्षहरूमा युरोप र अमेरिकामा १८५७/५८ को आर्थिक सङ्कट पछि क्रान्तिकारी आन्दोलनमा फेरि उभार आयो । आर्थिक सङ्कटको आरम्भ अमेरिकामा भयो र त्यसले चाँडै नै युरोपलाई पनि ग्रस्त बनायो । अन्ततः त्यसले पुँजीवादी इतिहासमा पहिलो पटक एउटा विश्वव्यापी सङ्कटको रूप लियो ।अमेरिकाको यो सङ्कटको समाचार पाउने बित्तिकै मार्क्सले एंगेल्सलाई लेखेका थिए – ‘‘अमेरिकाको यो सङ्कट बहुत ठूलो र अन्त्य नहुने किसिमको छ । सन्देह के छ भने ठूलो सङ्ख्यामा निर्यात फर्महरू कङ्गाल हुन जानेछन्, अहिलेसम्म त केही फर्महरू मात्रै यस्तो स्थितिमा पुगेका छन् । इङ्गल्यान्डमा यसको यत्तिका प्रभाव प¥यो कि लिभरपुलको सिटी बैङ्कसम्म यसबाट प्रभावित भएको छ ।’’
सङ्कटको फलस्वरूप उत्पादनमा जबरजस्त कमी आयो । सम्पूर्ण पुँजीवादी अर्थव्यवस्थाका जोर्नीहरू हल्लिए । हजारौँ फर्महरू कङ्गाल बन्न पुगे । बैङ्क अफ इङ्गल्यान्डले नोट छाप्ने काम ग¥यो तर त्यसको मूल्य बराबरको सुन सुरक्षित कोषमा राखेन ।
मजदुर वर्गमाथि त झन् भयङ्कर सङ्कटको पहाडै फुट्न गयो । इङ्गल्यान्डमा लगभग ६० प्रतिशत औद्योगिक मजदुर पूर्णतः या आंशिकरुपमा बेरोजगार हुन गए । मार्क्सका गोजीमा पनि यो सङ्कटको सोझो असर प¥यो । ‘न्यू योर्क डेली ट्रिब्यून’ मा प्रकाशित लेखहरूबाट हुने गरेको सानो आमदानी पनि आधा मात्र रहन गयो । घरका सबै कुराहरू एक पटक पुनः बन्धक राख्ने दोकानमा पुग्न गए ।
आर्थिक सङ्कटसँग सम्बद्ध आफ्ना लेखहरूमा मार्क्सले बताए कि पुँजीवादी अर्थशास्त्रीहरूद्वारा त्यसमाथि काबु पाउन गरिएका प्रयत्नहरू असफल हुनेछन् । उनले घोषणा नै गरे कि जबसम्म पुँजीवादी प्रणाली रहनेछ त्यसबेलासम्म आर्थिक सङ्कट पनि कायम रहनेछ ।
विश्व आर्थिक सङ्कटले युरोपेली तथा अमेरिकी देशहरूको राजनीतिक क्षेत्रहरूमा परिवर्तनकै गति तीव्र तुल्याइदियो । १८५० को दशकको अन्त्यमा रुसमा क्रान्तिकारी स्थिति पैदा भइसकेको थियो, १८६१—६५ का बेला काला मनिसहरुको दासतालाई लिएर अमेरिकामा जबरजस्त गृहयुद्ध भयो, इटालीमा सशस्त्र क्रान्तिकारी उभार आएको थियो र १८६२–६४ मा पोल्यान्डमा अस्ट्रियाई शासनका विरुद्ध विद्रोहको भावना भड्एिको थियो । मार्क्सले मजदुर बर्गको राजनीतिक गतिविधिको विकासको अध्ययन त्यति बेला गहनतम र गहिराइपूर्वक गरे । उनले जनवादी तथा सर्वहारा आन्दोलनको विकासको अध्ययन गरे, यस विषयमा कयौँ लेखहरू लेखे र विभिन्न देशहरूका क्रान्तिकारीरुका बीच दृढ सम्पर्क सूत्र स्थापित गर्न जोडतोडले लाग्ने कोसिस गरे ।
मार्क्स यो कुरा बताउने पहिलो व्यक्ति भएका थिए कि अमेरिकी गृह युद्ध प्रथमतः र अनिबार्यतः दुई समाज प्रणालीको युद्ध हो । अमेरिकामा काला मानिसहरूको दासताको समाप्तिको स्थितिमा मार्क्स र एंगेल्सले त्यसबाट देशको इतिहासमा एउटा नयाँ मोड आइरहेको अनुभूत गरिरहेका थिए, जसको असर सारा संसारको इतिहासमा पर्नेवाला थियो ।
रुसको अध्ययन गर्दै त्यति बेला मार्क्सले त्यहाँको किसान आन्दोलनको विकास र १८५० को दशकको अन्त्यको रुपमा परिपक्व हुँदै गएको क्रान्तिकारी अवस्थामा बिशेषरुपले ध्यान दिएका थिए ।उनले रुसमा तीव्र रूपमा औद्योगिक विकासको आवश्यकतामाथि जोड दिएका थिए, किनभने आर्थिक दृष्टिले रुस पश्चिमा देशहरूको तुलनामा धेरै नै पिछडिएको थियो ।
अनि १८६३ को आरम्भमा रुसको पोल्यान्ड खण्डमा जातीय मुक्ति सङ्घर्ष सुरु भएको थियो । त्यससँगको जनवादी तथा मुक्ति आन्दोनलहरुको मोर्चा व्यापक हुन गयो । एंगेल्सलाई लेखेको एउटा पत्रमा मार्क्सले गौर गरेर के लेखेका थिए भने पोल्यान्ड विद्रोह युरोपमा क्रान्तिकारी उभारका बीच सुरु भएको थियो । परिस्थिति त्यसको अनुकूल छ । ‘‘आशा छ कि यस पटक लाभा पूर्वबाट पश्चिम तिर बग्नेछ’’ मार्क्सले पत्रमा लेखेका थिए । मार्क्सको रायमा विद्रोहको सफलता आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै नै परिस्थितिमाथि निर्भर थियो अर्थात् आन्तरिरुपले यो यस कुरामा निर्भर थियो कि के व्यापक किसान समुदायलाई यस आन्दोलनमा सामेल गर्न सकिने छ्र र अन्तर्राष्ट्रिय स्तरमा यसको निर्भरता रुसमा क्रान्तिको सम्भावनामाथि थियो तर चाँडै नै विद्रोहको नेतृत्व ठुला जमिनदारहरू र उच्च स्तरका पूँजीपतिहरुको त्यस पार्टीले आफ्नो हातमा लियो जो किसान जनतासँग डराउँदथे र इङ्गल्यान्ड र फ्रान्सबाट मद्दतको अपेक्षा गर्ने गर्दथे जस्तो कि मार्क्सले बताएका छन्, विद्रोहीको मद्दत न त फ्रान्समा नेपोलियन तृतीयको सरकारले गर्यो न इङ्गल्यान्डमा पामर्सडन सरकारले । धेरैभन्दा धेरै उनले कूटनीतिक तिकडमहरूको सहारा लिँदै रहे ।
पोलिश विद्रोहको समर्थनमा मार्क्सले जे गर्न सक्दथे त्यो उनले अवश्य पनि गरे। समाचारपत्रहरूको माध्यमबाट उनले जार र प्रशाका सरकारहरूद्वारा पोलिश विद्रोहको विरुद्धको षडयन्त्रको पर्दाफास गरे र पोलिस बिद्रोहीहरुको सहायता गर्नमा फ्रान्स तथा ब्रिटिस सरकारहरूले उनको निन्दा गरे । विद्रोहले जुन रूप धारण गर्यो र जारको फौजले जुन दारुणताकासाथ बिद्रोहीहरुलाई कुल्चियो त्यसबाट मार्क्सको यो किष्कर्श सही साबित भयो कि पुलिस जनताको मुक्ति सङ्घर्ष पश्चिमा देशहरूको सरकारहरूको सहयोगमा होइन, बरु रुस भित्र क्रान्तिकारी आन्दोलनसँगको सहयोगमा निर्भर थियो र यसका साथै यस कुरामा पनि निर्भर थियो कि पोलिश जनताले आफ्नो मुक्ति सङ्घर्षलाई क्रान्तिकारी किसिमले चलाउन सक्छन् कि सक्तैनन् अनि किसान बर्गको हितमा क्रान्तिकारी परिवर्तनसँग आफ्नो सङ्घर्षलाई जोड्न सक्छन् कि सक्तैनन् ।
पोलिस विद्रोहको स्मृतिमा मार्क्सकी ठूली छोरी जेनीले क्रस पहिरिइन् । पछिबाट उनले क्रसलाई हरियो फितामा उनेर पहिरिइन् । हरियो रङ्ग आयरल्यान्डको पारम्परिक रङ्ग हो । त्यो पहिरिएर जेनी आयरिस मुक्ति सङ्घर्षप्रति आफ्नो समर्थन जाहेर गर्न चाहन्थिन् ।
अनि १८५९ का आरम्भिक दिनहरूमा इटली महान् क्रान्तिकारी घटनाहरूको संघारमा थियो : देश विभक्त थियो जसले गर्दा विकास अवरुद्ध थियो, उत्तरी भागमा अस्ट्रियाको अधिकारलाई लिएर इटलीवासी कुपित थिए । मार्क्सको के विश्वास थियो भने आफ्नो देशको भाग्यको फैसला केवल इटलीनिबासीले गर्न सक्दछन् अनि आफ्ना उत्पीडकहरुकाप्रति तिनको ज्वलन्त घृणा राष्ट्रव्यापी क्रान्तिकोरुपमा सामुमा आउने छ । उनको के राय थियो भने मध्यम र साना पूजीपति बर्ग, किसान, बुद्धिजीवीहरू उदाउँदो मजदुर बर्गलाई सामन्त बर्ग विरोधी जनवादी शक्तिको वरिपरि गोलबन्द गर्नु पर्दछ, ता कि उनीहरूले देशका सामुमा रहेको गर्नै पर्ने कामलाई सफल बनाउन सकुन् । इटलीका जनबादीहरुलाई तुरुन्तै सावधान गर्दै मार्क्सले उनीहरूलाई बताएका थिए कि नेपोलियन तृतीय केवल आफ्नो स्वार्थ सिद्धिको दृष्टिले इटलीको मामिलामा रुचि लिइरहेका छन् ।
यता गैरीबाल्डीका सेनाद्वारा दक्षिण इटलीलाई नेपिल्सको बीरबोन वंशको चङ्गुलबाट मुक्त गर्ने खबर मार्क्ससम्म पुग्दा उनले त्यसको जोडदार स्वागत गरेका थिए । तर एक राजनीतिज्ञकारुपमा गैरीबाल्डी त्यत्तिकै निकम्मा साबित भयो जत्तिको श्रेष्ठ उ क्रान्तिकारी सेनानायकका रुपमा सिद्ध भएको थियो । पूरै दक्षिण इटलीलाई स्वतन्त्र गराइसकेपछि गैरीबाल्डीले रोमतर्फ आफ्नो प्रस्तावित दौड रद्द गर्दियो, आफ्नो अधिकार त्यागिदियो र यसरी अदूरदर्शी तथा ढुलमुलकारीको परिचय दियो – जसका लागि यो जानिने गरिन्छ ! सम्पूर्ण इटलीको एकता के कसरी स्थापित हुनेछ – यस प्रश्नलाई उसले उचित महत्त्व दिएन । परिणाम के भयो भने एक रिपब्लिकन र जनवादी हुँदाहुँदै पनि जब संवैधानिक राजतन्त्र अन्तरगत इटलीको एकीकरणको प्रश्न उठ्यो त्यति बेला उसले त्यस्तो बिचारको बिरोध गरेन । पुँजी लेखिरहँदा मार्क्स यिनै जीवन्त र बदलिरहेका ठोस बस्तुगत घटना परिघटनाहरूमा सामेल भइरहेका र तिनको सूक्ष्म अध्ययन र अवलोकन गरिरहेका थिए र सही निष्कर्ष निकालिरहेका थिए ।
प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार ३ : ३२ बजे
प्रतिक्रिया