नेतृत्व हस्तान्तरणको कुरा धिमागतिले उठाइदैछ । केही समययता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट विमुख गराउने प्रयत्न भइरहेको छ । स्वाभाविक हो, केपी शर्मा ओली नेकपा एमालेको आजीवन अध्यक्ष हुनुहुन्न ।
ओलीले सुरु गर्नु भएको एकीकृत पार्टी निर्माण र जनताको सरकारले जनतामा दिने सेवा प्रवाहको अभियानले मेलो पक्रिसकेको छैन । पार्टी एकीकरणले व्यापकता पाउनु अगावै त्यसलाई धमिलो बनाउन केही पात्रहरूले कम्फर्टेबल सरकार र एमाले बनाउन सुरु गरेपछि अभियानले मेलो पक्रन नसकेको हो ।
कम्फर्टेबल सरकारपछि नेकपा एमालेलाई पनि अरू कसैका लागि कम्फर्टेबल बनाउने योजनाका साथ एमालेभित्र समस्या खडा गरिएको छ । समस्या समाधानको लागि बनेको कार्यदलले केही समय नेता अध्यक्ष ओलीलाई नै निस्तेज बनाउने प्रयत्न गर्यो तर, पार नलागेपछि अध्यक्ष ओली र नेता माधवकुमार नेपाल दुबैलाई भन्ने नाममा एमालेलाई सिङ्गो, एकीकृत र बलियो बनाउन दुवै नेताले नेतृत्व हस्तान्तरण गर्नुपर्ने मतहरू धिमा गतिमा प्रकट हुन थालेको छ । यो नेकपा एमालेको लागि शुभ सङ्केत होइन ।
अध्यक्ष ओली समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान बोकेका नेता नेपाल आफ्नो मान सम्मान भएन, पद भएन भने पार्टी नै धरासयी बनाउने काममा लागेका नेता । यी दुई नेतालाई कसरी समदूरीमा राखेर विश्लेषण गर्न सकिन्छ ? अब अध्यक्ष ओली नेतृत्वको नेकपा एमाले र देउवा नेतृत्वको नेपाली काँग्रेस नै देशका ठुला पार्टी हुनेछन् । एमालेका अध्यक्ष ओलीपछिको अर्का शक्तिशाली नेता काँग्रेसका सभापति देउवा हुन पुग्नुभएको छ । नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, रामचन्द्र पौडेल र उपेन्द्र यादवको संयुक्त समर्थनमा शेरबहादुर देउवाले काङ्ग्रेसभित्र असीमितको शक्ति आर्जन गर्नुभएको छ ।
एमाले र काँग्रेस नै मुख्य पार्टी
हुन्छ पनि भन्न नसक्ने, हुँदैन पनि भन्न नसक्ने तर, स्पष्ट हुने पार्टी व्याख्याताहरूले चलाएको जस्तो पार्टी अब एमाले हुँदैन । जस्तो अहिले नेता माधवकुमार नेपालले गरिरहनु भएको छ । उहाँलाई पार्टीको माया भएको भए सत्ताबाट एमालेलाई झार्ने खेलमा लाग्नु हुने थिएन । उहाँले अहिले पनि आफू एमालेको हो वा काँग्रेस वा माओवादी वा जसपा कुन पार्टीको हो अझै प्रष्ट भन्न सक्नुभएको छैन । उहाँ अहिले नेकपा एमालेको पनि होइन भनेर उहाँले दिएको अभिव्यक्ति र गरेको कामले सिद्ध गरेको छ । उहाँ सम्मानजनक पार्टी एकता गर्नुपर्छ, म ओलीको टाङमुनि छिर्दिन भन्नुहुन्छ । सम्मानजनक पार्टी एकता भनेको के हो ? उहाँको अर्कै पार्टी छ एमालेसँग एकता गर्न खोजेको हो ? हिजो माओवादीसँग भएको एकताको जस्तो हो ? समान पदमा समान हैसियत ? हिजो माओवादीलाई एमालेले ४०/६० को एकीकरणको दर कायम गरेको थियो । अहिले नेपाललाई ५०/५० को दर चाहिएको छ । यस्तो अवस्थामा एमालेमा हुँदै नभएको भावनात्मक सम्बन्ध माधवकुमार नेपालसँग जोडेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेको अर्थ कम्फर्टेबल एमाले बनाउन खोजेको हो ? भन्ने प्रश्न उब्जिएको छ ।
नेकपा एमालेले अब सरकारमा जान कुनै परमादेशको सहारा लिनुपर्दैन परमादेशबाट सत्तामा पुग्न चाहेका र पुगेकाहरूले राम्ररी बुझ्न जरुरी छ । नेकपा एमालेले गएको निर्वाचनमा आफ्ना जनप्रतिनिधिलाई मात्र होइन आफ्ना विचार जनताको बहुदलीय जनवादलाई पनि अनुमोदन गराएको छ ।
खैर, यसको जवाफ विष्णु रिजालजीले दिनुहोला । यसमा धेरै भन्नु छैन । तर, कुरा के हो भने नेकपा एमाले ठुलो दल हुँदै हो । माधवकुमार नेपालसहितका भए पनि रहितको भए पनि अब एमाले नै ठुलो दल हो यसको प्रमाणीकरण आगामी जनताले दिने जनादेशले गर्ने छ ।
नेकपा एमालेले अब सरकारमा जान कुनै परमादेशको साहारा लिनुपर्दैन परमादेशबाट सत्तामा पुग्न चाहेका र पुगेकाहरूले राम्ररी बुझ्न जरुरी छ । नेकपा एमालेले गएको निर्वाचनमा आफ्ना जनप्रतिनिधिलाई मात्र होइन आफ्ना विचार जनताको बहुदलीय जनवादलाई पनि अनुमोदन गराएको छ ।
अर्कोतर्फ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अहिले पार्टीका शक्तिशाली नेताको रूपमा उभिनुभएको छ । परमादेशबाट प्रधानमन्त्री बनाइनुभएका देउवा सत्ता बाहिर मात्रै होइन सत्ताभित्र पनि शक्तिशाली नेताको रूपमा उभिनुभएको छ । पार्टीबाहिर उहाँलाई प्रचण्ड, नेपाल, यादव र भट्टराईले बलियो बनाइरहनुभएको छैन पार्टीभित्र रामचन्द्र पौडेलको दबाबमा प्रधानमन्त्री बन्नुभएपछि उहाँले पार्टी भित्र र बाहिर बलियो नेताको रूपमा शक्ति आर्जन गर्दै स्थापित हुँदै हुनुहुन्छ ।
अब देउवाले पार्टीको महाधिवेशन आफ्नो समय अनुकूल बनाएर गर्नुहुन्छ । यसलाई कसैले रोक्न सक्दैन । तेस्रो धारको नेतृत्व गर्नुहुने कृष्णप्रसाद सिटौला बीचैमा रहेको भए काँग्रेसभित्रको शक्ति सन्तुलनको चाबी उहाँसँग हुने थियो । तर, सिटौलाले पार्टी सत्तामा देउवासँग साझेदारी बढाएपछि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शशाङ्क कोइराला शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी कसैले चाहेर केही हुने छैन । पौडेल, सिंह, निधी र कोइराला परिवार सबै एकै ठाउँमा उभिए पनि देउवा एक्लै अर्कोतिर उभिँदा देउवा नै बलियो देखिनुहुन्छ । अहिले मापसेको नेतृत्व गरिरहनुभएका देउवाले जे भन्नुहुन्छ रामचन्द्रहरूले त्यही गर्नुको अर्को विकल्प देखिन्न ।
काङ्ग्रेसभित्र छैन विकल्प देउवाको
पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने बारेमा पनि देउवाले निर्णय लिनुहुनेछ त्यही निर्णय सबैले मान्नुपर्दछ । देउवा एमालेको सरकार अगाडि नै ढाल्न चाहिरहनु भएको थियो । तर, त्यसको निर्णय अरूले नै गरुन् भन्ने चाहनुहुन्थ्यो । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीसँग देउवाको साँठगाँठ छ भनेर आरोप लगाउँदै सत्ता हत्याउन उद्देलित बनाएपछि देउवाले रामचन्द्रको शक्ति पनि ग्रहण गर्दै सत्ताको नेतृत्व गर्नु भएको हो ।
काँग्रेसको महाधिवेशन कहिले गर्ने कस–कसलाई नेतृत्व स्थापित गराउने सक्रिय सदस्यमा कसरी आफ्ना सदस्य ल्याउने यही बीचमा देउवाले सेटिङ मिलाउनु हुनेछ । अनि, पार्टी र सत्ता नेतृत्व गर्नुहुनेछ । जब माधव, प्रचण्ड रामचन्द्रहरू उहाँलाई कमजोर बनाउन लाग्नुहुन्छ उहाँहरू आफैँ गल्नुहुन्छ केही लाग्ने छैन ।
हरेक समय बलवान हुन्छ । समयलाई चिन्न र त्यसको अनुकूलतालाई बुझ्न जान्नुपर्दछ । अहिले नेपाली काँग्रेस र एमाले दुवै पार्टीमा नेतृत्व हस्तान्तरण हुनसक्ने अवस्था देखिन्न । नेतृत्व माग्न होइन लिन सक्ने हैसियत पनि भएका दोस्रो वरियताका नेता देखिन्नन् । सबै पार्टीभित्र दुई समूह छन् । तर, तेस्रो छैन । हुनहुन लागेको अवस्था थियो, त्यो पनि बीचैमा सकियो ।
कम्फर्टेबल सरकार बनाएपछि अब नेकपा एमालेलाई पनि अरू कसैका लागि कम्फर्टेबल बनाउने योजनाका साथ एमालेभित्र समस्या खडा गरिँदै छ । यदि नेता माधवकुमार नेपाललाई एमालेको माया भएको भए सत्ताबाट एमालेलाई झार्ने खेलमा उहाँ लाग्नु हुने नै थिएन । उहाँले अहिले पनि आफू एमालेको हो वा काँग्रेस,माओवादी वा जसपा कुन पार्टीको हो अझै प्रष्ट भन्न सक्नुभएको छैन ।
नेपाली काङ्ग्रेसभित्र तेस्रो धार बन्दै थियो नेता सिटौलाले थाम्न सक्नुभएन । उहाँ देश दौडाहामा निस्कनुभएको भए उहाँले कार्यकर्ता पङ्क्तिको राम्रै समर्थन पाउनुहुन्थ्यो । कार्यकर्ता पङ्क्ति तेस्रो धारको खोजी गर्दै थिए । नेता सिटौलाले झापामा काँग्रेस बनाउन जुन मेहनत गर्नुभएको छ । त्यसको केही अंशको समय अन्य जिल्लामा पनि दिनुभएको भए अहिले रामचन्द्रहरूले सिटौलासँग वार्ता गर्नुको विकल्प थिएन । त्यसपछि मात्रै नेतृत्व परिवर्तनको शक्ति सन्तुलन हुने थियो । अहिले नै काङ्ग्रेसभित्र नेतृत्व परिवर्तन सम्भावना न्यून देखिन्छ ।
काँग्रेस भित्रको दोस्रो पुस्ता कुन हो भने छुट्टिन गाह्रो हुन थालेको छ । अहिलेको राजनीतिक नेतृत्वले युवा पुस्तालाई दबाएरै राखेको एकातिर छ भने अर्कोतिर त्यो पुस्ता पनि पार्टीभित्र मेहनत गर्न सबैलाई समेटेर हिँड्न वा साझा भावनाको विकास गर्दै अघि बढ्न सकिरहेको छैन । पार्टीको शीर्ष तहमा केही सन्तुलन बिग्रिए त्यसलाई समाधान गर्न सबै पक्षका युवाहरू एकै ठाउँमा बस्ने हैसियत राख्दैनन् । त्यो किन पनि हो भने नेतृत्वले केही लाभको कुरा अघि सार्छ र मौका यही हो भन्ने विश्लेषण हुन्छ । यसकारण पनि अहिले नै नेपाली काँग्रेस भित्रको दोस्रो तथा युवा पुस्ताले नेतृत्व लिने स्थिति देखिन्न ।
एमालेको दोस्रो बरियासँग पनि छैन विकल्प
नेकपा एमाले भित्रको पनि दोस्रो बरीयताको पनि यस्तै अवस्था छ । नेकपा एमाले भित्रका दोस्रो पुस्ता त केही जुझारु छ तर, पक्षधरता विहीन भने देखिएन । दोस्रो पुस्ताका केही नेताहरूले गलत काम गर्नेलाई खबरदारी समय मै गर्न नसके पनि अन्त्यमा सही निर्णय लिने लक्षण देखिन्छ ।
खास गरी नेकपा कै नेतृत्वमा सरकार गठन भएको बेला दोस्रो बरीयताका नेताहरूले नेतृत्वलाई लगाम लगाउन सकेको भए नेकपाको सरकार गिर्ने थिएन । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले केही कार्यकर्तालाई च्यापेकै भए पनि आम जनताको पक्षमा राम्रो काम गरिरहनुभएको थियो । नगदमा प्रधानमन्त्री र पार्टी अध्यक्ष खोज्ने प्रवृत्तिलाई दोस्रो बरीयताका नेताहरूले रोक्न सकेनन् । नेकपा हुँदा केही गर्न नसके पनि एमाले हुँदा पनि विखण्डनलाई दोस्रो बरीयताले रोक्न सकेन ।
यहाँसम्म कि विपक्षीलाई सत्ता सुम्पिन आफैँ अग्रसर हुने गरी एमालेका नेताहरू लागे, संसद्बाट नेकपा एमालेलाई हटाउन नसक्ने भएपछि अदालतको सहारा लिएर असंवैधानिक तरिकाबाट अधिकार क्षेत्र मिच्दै दुनियाँमा नभएको नजिर खडा गरेर एमालेको सत्ता परमादेशबाट खोसियो । माधवकुमार नेपाल सम्भावना सकिएको नेता हुनुहुन्छ, उहाँलाई सम्भावना बोकेको नेताहरूले रोक्न खोज्नुपर्ने थियो तर दोस्रो बरीयताका नेताहरूले केही गर्न सकेनन् ।
नेकपा एमालेका दोस्रो बरीयताका नेता मात्र होइन कार्यकर्ता पङ्क्तिले पनि पार्टी नेताहरूलाई खबरदारी गरेको कारण नेकपा एमाले अहिले पनि शक्तिशाली पार्टीको रूपमा उभिएको छ । नेकपा एमालेका केही नेताहरू अब कहिल्यै आफ्नो पालो नआउने ठानी कार्यकर्ता र जनताको भावनामाथि खेलबाड गर्दै अहिले यस्तो अवस्था आएको हो । पार्टीका नेताहरूले निम्न पूजावादी चिन्तन राखेको हुँदा पार्टीको वर्गीय हैसियत च्युत भएको देखिन्छ ।
पछिल्लो चरणमा पार्टीभित्र देखिएको अराजकता, निम्नपूजिवादी चिन्तन र वर्गीय भावनामा ह्रास आएको अवस्थालाई पहिलाको गतिमा पार्टीलाई पुर्याउन दोस्रो बरीयताका नेतालाई निक्कै चुनौती नै देखिएको हुँदा अहिले नै दोस्रो बरीयताका नेताहरूले नेतृत्व लिइहाल्ने अवस्था देखिन्न ।
फेरि पनि ओली कै नेतृत्व आवश्यक
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि जनतामा केही आशाका किरण छर्नुभएको थियो केही सपना देखाउनुभएको थियो त्यो पूरा हुन सुरु गर्दै थियो । उहाँले सुरु गर्नु भएको अभियानले सार्थक मार्ग ग्रहण गर्न सकिहालेको थिएन । एमालेको सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभिभारा बोकेको थियो ।
नेपाली जनताको विकासको चाहनाले खाका कोर्दै थियो, तुइन सकिँदै झोलुङ्गे पुल सुरु हुँदै थियो । झोलुङ्गे पुल हटेर पक्की पुल बन्दै थियो । ग्राभेल सडक बन्दै थियो, देश सुरुङ मार्गमा प्रवेश गर्दै थियो, प्लाईओभर सडक बन्न रेखाङ्कन हुँदै थिए, रेलमार्ग, जलमार्गको अभ्यास हुँदै थियो । हवाई मैदान बन्दै थिए, अन्तर्राष्ट्रिय हवाई मैदान उद्घाटनको चरणमा थिए, सडक बालबालिकाले अभिभावक पाउँदै थिए, केही खानीहरू उत्खननतर्फ उन्मुख भएका थिए । जाडोले कठयांग्रिएर मानिसले ज्यान गुमाउने अवस्थाको अन्त्य हुँदै थियो, जीवनजल नपाएर मर्ने अवस्थाको अन्त्य गर्दै विश्व महामारीको बेला पनि सरकार जिम्मेवार भएर उपचार सामग्री र खोपको व्यवस्था गर्न भन्ने सन्देश दिँदै थियो, जनता खुसी छन् भन्ने सन्देश दिँदै थियो ।
विकासोन्मुख देश नेपाल विकासशील देशमा परिवर्तन हुँदै थियो । चुच्चे नक्साको भू–भाग फिर्ता ल्याउन बाँकी रहेको छ त्यो काम एमाले अध्यक्ष केपी शर्मा ओलीबाट मात्र सम्भव छ । ती कामहरूले सार्थक परिणाम निकाल्नु अगावै ओलीको नेतृत्वको विकल्प खोजियो भने देशले निकास पाउने छैन । जनताले ओलीको पूर्ण कार्यकाल प्रधानमन्त्री भएर आफ्ना अधुरा कार्य पूरा भएको हेर्न चाहन्छन् । त्यस कारण अहिले नै नेकपा एमालेले ओलीको विकल्प खोज्ने अवस्था आएको छैन ।
प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार १० : ५८ बजे
प्रतिक्रिया