‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

एमालेले लुम्बिनी प्रदेशमा विपक्षीलाई सघाँउने दुई सांसदलाई कार्वाही गर्ने

रुपन्देही ।लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनको सरकार बनाउन समर्थन दिने एमालेका दुई सभासद्लाई नेकपा एमालेले कार्वाही गर्ने भएको छ ।  

नेकपा एमालेको चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद अजय शाही र तत्कालीन नेकपाको सूर्य चिन्हबाट जितेका विमला वलीले माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार बनाउन माग गरेको निवेदनमा हस्ताक्षर गरेपछि पार्टीले कारवाही प्रकृया अगाडि बढाएको हो ।

सांसद वली यसअघि नै पत्रकार सम्मेलन गरेर माओवादी प्रवेशको घोषणा गरेकी थिइन् भने शाहीले बिहीबार पेस गरेको निवेदनमा हस्ताक्षर गरेका हुन् । शाहीले बुधबार सम्पन्न एमाले संसदीय दलले प्रदेशसभामा सहभागिता नहुने भनी गरेको निर्णय विपरीत सहभागिता जनाएका हुन्  ।

 बुधबार एमालेले संविधानविपरीत आएको अविश्वास प्रस्तावलाई प्रदेश प्रमुखले मान्यता दिएको भन्दै विशेष अधिवेशन बहिष्कार गर्ने निर्णय गरेको थियो । तर, सांसद अजय शाही भने बैठकमा सहभागी भएका थिए । । सदनमा हिजो बुधबार सत्तापक्षको कुर्सीमा उनीमात्रै थिए । उनले नवलपरासीपश्चिम १ ख बाट सूर्य चिन्हबाट चुनाव जितेका हुन् । एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले विमला वलीको कारवाही प्रकृया पार्टी केन्द्रबाट स्वीकृत भएर आइसकेकाले तत्काल अगाडि बढाइने र शाहीलाई पनि कारबाही गरिने बताउनुभयो  ।

शाही र वली बैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्ने समयमा पनि हस्ताक्षरकर्ता हुन् । तर, संघीय सरकारमा मन्त्री रहेका हृदयश त्रिपाठीनिकट रहेका शाहीले अर्को दिन पुनःएमालेमै रहेको विज्ञप्ति सार्वजनिक गरेका थिए ।

शाही र विमला वलीलाई एमालेले कारवाही गरेर सांसद पदबाट मुक्त गराउन पहल थालेको छ । नेकपाबाट निर्वाचित वलीले फागुन २३ को फैसलापछि एमाले रोजेर संसदीय दलका केही बैठकमा समेत भाग लिएकी थिइन् । उनले बैठकको उपस्थितिमा हस्ताक्षर गरेको प्रमाणसहित एमालेले कारवाही प्रक्रिया अघि बढाएको हो ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  २ : ५२ बजे