जीवनको उत्तरार्धमा पार्टी हस्तान्तरण गर्दा उच्च सम्मानका साथ सम्झिइएला कि टुक्रा–टुक्रा बनाएर नेतृत्व गर्नुभयो भने मर्यादा रहला ?

आजको नेकपा (एमाले) मूलतः कमरेड माधवकुमार नेपाल र कमरेड केपी ओलीबीचको सहकार्यको परिणाम हो । इतिहासका कठिन र सहज दुबै मोडहरुमा उहाँहरु दुई जना एकै ठाउँमा उभिने गर्नुभएको छ । अरु नेताहरुका पनि योगदान छन् तर मूलरुपमा उहाँहरु दुई जना ठाउँमा उभिँदा एमालेको जुन भाष्य, छवि र विम्ब बन्यो, त्यो नै एमालेको पहिचान बनेको छ । अध्यक्ष कमरेडलाई भेटेर नै मैले आफ्ना कुरा राखेको छु । 

१. ०५० सालमा मदन भण्डारीको रहस्यमय हत्यापछि पार्टीमा सिर्जित विशाल र अत्यासलाग्दो रिक्तताको पूर्ति माधव नेपालको नेतृत्वमा उहाँहरु दुई जना मिलेर नै गर्नुभएको हो । 

२. जनताको बहुदलीय जनवादको निरन्तरता, विकास र अद्यावधिक गर्नमा छैटौँ र सातौँ महाधिवशेनमार्फत भएका योगदानहरुमा माधव नेपाल र केपी ओलीको सहकार्यको सोचका परिणामहरु हुन् ।

३. ०५१ मा एमालेको लोकप्रिय सरकार निर्माण र सञ्चालनमा माधव नेपाल र केपी ओलीको योगदानले मुख्य रुपमा भूमिका निर्वाह गरेको छ । प्रधानमन्त्री मनमोहन अधिकारीलाई विवादरहित रुपमा सम्मानित स्थानमा राखेर सरकारका कामहरु माधव नेपालको नेतृत्वमा यही टिमले प्रभावकारी रुपमा गरेको थियो ।

 ४. तमाम आलोचना र उग्र विरोधका वावजुद भारतसँग महाकाली सन्धि गर्दा माधव नेपाल र केपी ओली एकै ठाउँ उभिनुभएको थियो । अनेक आरोप र लाञ्छनाहरु खाँदा पनि उहाँहरुले सँगै खानुभएको थियो ।
 ५. ०५४ को पार्टी विभाजनको पीडादायी क्षणमा माधव नेपाल र केपी ओली एक ठाउँमा उभिएर नै नेकपा (एमाले) लाई बलियो पार्टी बनाइराख्ने सफलता प्राप्त भएको हो । स्थापित नेताहरुले नेकपा (माले) बनाउँदा त्यसको सामना उहाँहरु दुई जनाको सहकार्यबाट नै भएको हो । 
६.०५६ मा मनमोहन अधिकारीको निधनपछि एमालेका नेता–कार्यकर्तालाई नेतृत्वप्रति भरोषा जगाइराख्ने काम माधव नेपाल र केपी ओलीको संयुक्त प्रयासबाट नै भएको थियो ।

 ७. माओवादी उग्रवामपन्थलाई हेर्ने सवालमा माधव नेपाल र केपी ओलीका बीचमा समान धारणाहरु नै रहँदै आएका थिए । सैद्धान्तिक–बैचारिक रुपमा त्यस उग्र वामपन्थको तीब्र आलोचना र विरोध अनि व्यावहारिक रुपमा उनीहरुलाई रुपान्तरण गर्ने र शान्ति प्रक्रियामा ल्याउने बारेमा दुई नेताहरु सँगै उभिएको प्रमाण १२ बुँदे समझदारी पनि हो, जसको मस्यौदा नै माधव नेपालको उपस्थितिमा केपी ओलीले गर्नुभएको थियो ।

८. ०६२/६३ को जनआन्दोलन र त्यसलाई हेर्ने प्रश्नमा पार्टीभित्र विवाद हुँदा दुई नेताहरुको दृष्टिकोण एउटै थियो । ऐतिहासिक जनआन्दोलन हो कि जनक्रान्तिु नै हो भनेर बहस हुँदा उहाँहरु दुबै जना जनक्रान्तिको स्वरुप ग्रहण गरेको ऐतिहासिक जनआन्दोलन भन्नेमा पुग्नुभएको थियो र त्यही नै पार्टीको आधिकारिक लाइन बनेको थियो । 

९. ०५३ मा झलनाथ खनाललाई अघि सारेर माधवकुमार नेपाललाई महासचिवबाट हटाउन हस्ताक्षर गरेर अभियान थाल्दा त्यसका विरुद्धमा प्रमुख रुपमा उभिनेमा केपी ओली नै हुनुहुन्थ्यो भने ०६१ मा ज्ञानेन्द्रले माधव नेपाललाई नजरबन्दमा राखेको बेला फेरि झलनाथ खनालले महासचिवबाट हटाउन खोज्दा रोक्नेमा केपी ओली नै हुनुहुन्थ्यो । 

१०. जनआन्दोलनपछि ०६३ मा गिरिजाप्रसाद कोइरालाको सरकारमा पार्टीका तर्फबाट नेतृत्व गरेर जान अनेक नेताहरु दावेदार रहेको बेला माधव नेपालले जोखिम मोलेर केपी ओलीलाई उपप्रधानमन्त्री बनाएर पठाउनुभएको थियो भने पछि माधव नेपाललाई संविधानसभा सदस्य मनोनीत भएर जानका लागि दवाव दिन र प्रधानमन्त्री बनाउन केपी ओलीले भूमिका निर्वाह गर्नुभएको थियो । पार्टीभित्रैबाट सुरुदेखि नै त्यस सरकारका विरुद्धमा निरन्तर प्रहार हुँदा प्रतिरक्षामा उभिने प्रमुख नेता केपी ओली नै हुनुहुन्थ्यो। 

११. माधव नेपाल र केपी ओलीबीच यस्तोसम्म संयोग छ, ०६४ मा चुनाव हार्दा पनि दुबैजनाले एकै पटक हार्नुभएको थियो । अर्थात् पार्टीको सफलता र विफलताको समान भागीदार उहाँहरु बन्दै आउनुभएको छ ।  १२. संविधानलाई जातीय दस्तावेज बन्न नदिन, राज्य पुनःसंरचनाका नाममा मुलुकको अखण्डता खल्बलिन नदिन र लोकतान्त्रिक मूल्यहरु संकुचन हुन नदिन संविधान निर्माणका सबै विषयवस्तुहरुमा माधव नेपाल र केपी ओली एकै ठाउँ उभिनुभएको पाइन्छ । 

१३. ०७१ को नवौँ महाधिवशनमा उहाँहरुका बीचमा प्रतिस्ष्पर्धा भएपछि विकसित तिक्तताका बाबजुद मूल विषयहरुमा दुई नेताबीच मतभेद देखिएन । केपी ओलीको नेतृत्वमा भारतीय नाकावन्दीको दृढतापूर्वक सामना गर्ने, माओवादीसँग चुनावी तालमेल र एकता गर्ने, आफ्नो भूमि समेटेर नेपालको नक्सा जारी गर्ने जस्ता कामहरुमा माधव नेपालको खुलेर साथ रहेको छ । 

१४. सैद्धान्तिक बैचारिक विषयहरुमा मतभेद छैनन्, व्याहारिक रुपमा एक अर्काप्रति गुनासा छन्, अलोचना छन्, विरोध छन् । ती अन्तरविरोधहरुलाई दुई–चार बसाइमै समाधान गर्न सकिन्छ । भेटै नहुँदा र अरुले कुरा लगाउँदा निर्मित अविश्वासलाई आपसमा बसेर समाधान गर्न समय नै लाग्दैन । ०२९/३० सालदेखिको दुई जनाको मित्रतामा प्रतिस्पर्धा भन्दा सहकार्यको पक्ष हावी भएको सन्दर्भमा यस उमेर अवस्थामा आएर समझदारी गर्न नसक्ने विषयहरु कति नै होलान् र ?

दुबै नेताहरु सात दशकमा हिँड्दै हुनुहुन्छ । केपी ओलीले ५० महिना र माधव नेपाल २० महिना मुलुक चलाई सक्नुभएको छ । माधव नेपालले १५ बर्ष (६ बर्ष दोस्रो र ९ बर्ष पहिलो नेताका रुपमा) र केपी ओलीले ७ बर्ष पार्टीको नेतृत्व गरिसक्नुभएको छ । जीवनको यस उत्तराद्र्धमा आएर हाम्रो पुस्तालाई एकीकृत पार्टी हस्तान्तरण गर्दा भोलिका दिनमा उहाँहरुलाई उच्च सम्मानका साथ सम्झिइएला कि टुक्रा–टुक्रा बनाएर नेतृत्व गर्नुभयो भने मर्यादा रहला ?

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  १० : ३९ बजे