‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले उहाँको राजीनामा स्वीकृत गर्नुभएको हो । 

एमाले नेता पोखरेल तत्कालीन प्रदेश ५ को मुख्यमन्त्रीमा २०७४ फागुन ३ गते पहिलोपटक मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । प्रदेशसभाको विशेष अधिवेशन अन्तर्गत आजको दोस्रो बैठकमा सभामुख पूर्ण घर्तीले मुख्यमन्त्रीको राजीनामा स्वीकृतसम्बन्धी प्रदेश प्रमुखको पत्र वाचन गरेर सुनाउनुभयो  ।
मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका भएपनि  पोखरेलले अविश्वासको प्रस्ताव पेश हुनु अघि नै राजीनामा दिनुभएको हो । 

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ३ : ३५ बजे