साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कवि चम्रेल काठमाडौँमा बस्छन्

यो सहरमा कवि चम्रेल बस्छन्
विहानभरि चर्चमा गएर निधार ठोक्छन्
दिनभरि प्रगतिवाद घोक्छन्
बेलुका भएपछि  बोतल घोक्छन्
जहाँ फाइदा हुन्छ, त्यही तराजुमा
आफूलाई जोख्छन् ,
घरि देशभक्त खनालको नाममा टिपेक्स दल्छन्
घरि भिक्टर प्रधानको नाममा कालो पोत्छन्
पटक पटक प्रज्ञा प्रतिष्ठानको जागिर खान्छन्
भन्न त आफूलाई द्वन्द्ववादी भन्छन्
तर चरम अन्धवादमा रमाउँछन् 
कवि चम्रेल काठमाडौँमा बस्छन् ।


लोकतन्त्रको बखान गरेर थाक्दैनन्
टिके प्रधानमन्त्रीको स्वागत गर्न  हातमा टोपी लिएर दगुर्छन्  
आफूलाई माक्र्सवादी भन्छन्,
माक्र्सवाद बचाउन चारतारे झण्डा बोक्छन्
कवि चम्रेल यसरी नै दैनिकी बिताउँछन्  ।


कवि चम्रेल सदा  काठमाडौँ कुर्छन्
मन्त्री र माननीयका घरघर घुर्छन्
कुनै राजनैतिक नियुक्ति पाएनन् भने
 रिसको झोँकमा  क्रान्तिधारी कविता कोर्छन्
 विचारलाई अचार बनाउँछन् र खान्छन्
गुट र फुटमा रमाउँछन्
कम्यु्निस्ट होइन, कमाउनिस्टमा लाग्छन्
जात,भात र थर गोत्रको नेता मात्र मन पराउँछन्
सिद्धान्तलाई  भने
सिँगौरामा झुण्ड्याउँछन्


कवि चम्रेल तुइन विस्थापित भएको देख्दैनन्
धरहरा अग्लिएको हेर्देनन्  
सुन्दर, शान्त र मनमोहक रानी पोखरीमा जाँदैनन्
श्रमजीवी जनताका आठलाख घर बनेको सुन्दैनन्  
भू–जडित नेपाल देख्दैनन्
नाकाबन्द विरोधी नायकलाई सदा सरापिरहन्छन्
दक्षिणकै आशीर्वादका भर पर्छन्
चुच्चे नक्सालाई नक्शास्त्र कहन्छन्
भारतेली शाषकको  विरोध गर्दा रिसले दाह्रा किट्छन्
कन्फर्टेवल अखण्ड जाप गरिरहन्छन्
सदा भारत भक्तिमा लम्पसार पर्छन् 
विभीषण मानसिकतामा असाध्यै रमाउँछन्
कवि चम्रेल
फगत लेख्नका लागि लेख्छन्, लेखि रहन्छन्
आफैँले लेखेको आफैँ बुझ्दैनन्


चम्रेल कवि सबै शाषकलाई चन्द्र शमशेर देख्छन्,
जनताको सरकार चिन्दैनन्
पाँच हजार निर्दोष जन हत्यारालाई राजनेता मान्छन्
धन्धुकारी वरिष्ठ नेता भन्छन्
आफ्नै घर  खरानी बनाउनेलाई सात सलाम ठोक्छन्
भँडार खनेर आँगन पुर्छन्
घोर दक्षिण पन्थमा परिणत उग्रवाम बाबुरामलाई बाबु भन्छन्
तर देशको अभिभावलाई  बा  भन्दा रिसले मर्न खोज्छन्
कवि चम्रेल काठमाडौँमै बस्छन्


कविजी,
जनयुद्धमा सौन्दर्य देख्छन्
मात्रा पटक्क देख्दैनन्,
गुणको  खोजीमा सदा भौँतारिई रहन्छन्
मौका परे स्रष्टाको पुरस्कारमा घोटाला  गर्छन्
सदा च्याँखे दाउमा रमाउँछन् 
नेताका दैला दैला धाउँछन्
सदा  प्राज्ञ उनै बन्छन्,
पुरस्कार छनौट समितिमा आफैँलाई मात्र पार्छन्
उग्रवाद र अतिवादमा रमाउँछन्
क्यान्टोन्मेन्टको भ्रष्टाचार देख्दैनन्
तर भ्रष्टाचारको विरोध गर्न कहिल्यै छाड्दैनन् 
कवि चम्रेलहरु काठमाडौँमै बस्छन्       

 

  

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १० : ११ बजे