म असाधारण जनमतका साथ फेरि मूल ढोकाबाटै फर्किन्छु : ओली

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू असाधारण जनमतका साथ फेरी मूलढोकाबार्ट फर्किने बताउनुभएको छ । प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक संसद्मा बोल्नुहुँदै  ओलीले आफू ग्रहदशा हेरेर प्रधानमन्त्री नबनेको भई जनताको अपार समर्थनले प्रधानमन्त्री बनेको बताउनुभयो । उहाँले आफू परमादेशबाट नभई जनादेशबाट प्रधानमन्त्री बनेको बताउनुभयो ।ओलीले भन्नुभयो,‘ म जस्केला, झ्याल वा भेन्टिलेसनबाट होइन, मूल ढोकाबाट फेरि आउनेछु । फेरि पनि सुनिराख्नुभए हुन्छ । असाधारण जनमतका साथ मूलबाटो, मूल गेट मूल ढोकाबाट फेरि पनि प्रवेश गर्छु ।’

ओलीले भन्नुभयो, ‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मेरा काम हेरेर जनताले मत दिएर हो । म विभिन्न नेताका महत्त्वाकाङ्क्षा, ईर्श्‍या, जलन आदिको सम्मिश्रणबाट पनि प्रधानमन्त्री भएको होइन । उछिट्टाएर प्रधानमन्त्री पद मेरो भागमा आएको होइन । जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन ।’

ओलीले सत्तामा पुगेपछि नेकपा माओवादीले दिनुभएको अभिव्यक्तिको कडा प्रतिवाद गर्नुभयो । उहाँले प्रचण्डले आफूलाई आगो भएको भन्दै दिएको प्रतिक्रियाप्रति ओलीले आफूलाई उहाँ आगो भएको थाहा भएको भन्दै उहाँले विगतमा लगाएको डढेलो आफूलाई थाहा भएको बताउनुभयो । डढेलो निभाउन आफूहरूलाई राम्रैसँग आउने भन्दै त्यसका लागि के गर्नुपर्छ भन्ने कुरा आफूलाई थाहा भएको बताउनुभयो । 

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  २ : २७ बजे