साफ यू–१७ च्याम्पियनसिप आजदेखि

छैन विकल्प एमालेसँग शुद्धीकरण र सुदृढीकरणको

पार्टी एकताका लागि १० बुँदे सहमति भएको र वार्ता चलिरहेकोले बेला माधवकुमार नेपाल लगायतका नेताहरुमाथि अनेकौं लाञ्छना लगाउनु उचित नभएको भन्दै नेपाल समूहको बैठकले दुःख व्यक्त गरेको छ । ‘यस्तो लाञ्छना लगाउने काम कतैबाट हुनुहुँदैन । 

त्यसैले विचार व्यक्त गर्दा सम्पूर्ण पार्टीपंक्ति संवेदनशील र जिम्मेवार हुन आवश्यक छ’ बैठकको निर्णयमा भनिएको छ । नेपाल पक्षको बैठकले पार्टी एकता प्रक्रिया चलिरहेका बेला सदस्यता नवीकरण लगायतका संगठनात्मक काम गर्नु एकतालाई भाँजो हाल्नु हुने बताएको छ र यस्ता गतिविधि तत्काल रोक्न ओली पक्षलाई आग्रह गरेको छ ।

पार्टी एकताको सन्दर्भमा माधव गुटबाट मनोनित स्थायी कमिटीका सदस्य रघुजी पन्तले शुक्रबार प्रेस व्रिफिङमा भन्नु भएका कुरा र शनिबार कान्तिपुरको हेडलाइन्समा भन्नु भएको कुरालाई लिने होभने पार्टी एकता कम्फर्टेवलहरुका लागि मात्रै हो । 

नेपाली जनता र पार्टी कार्यकर्ताका लागि होइनन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष स्वीकार गर्न नसक्नेहरु पार्टी एकताको कुरा गरी विधान विपरित समान हैसियत र दर्जा खोजिरहेका छन् । महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई नेता मान्न नसक्नेहरु नेकपा एमालेमा बस्नुको कुनै औचित्य छैन र हुँदैन । यो प्रबृत्तिलाई प्रसय दिने होभने नेकपा एमाले कुनै मधेश केन्द्रित दलभन्दा फरक हुने छैन । 

नेपाल पक्षको नियतमा खोट
१० बुंदे सहमती र वार्ता चलिरहेको बेला माधवकुमार नेपाललगायतका नेताहरुमाथि (माधवगुटका नेताहरुमाथि) अनेकौं लाञ्छना लगाएको कुरा उठेको छ । तर, माधवगुटले १० बुंदे सहमती र वार्ता शुरु गरेदेखि नै एमालेको विरुद्धमा नेपाली कांग्रेस, माओवादीलगायतको समूहलाई सहयोग गरिरहेको छ ।

एमाले सरकारको विरुद्धमा अदालतमा मुद्दा हाल्ने, शेरवहादुर देउवा सरकारलाई विश्वासको मत दिनेहरु र पार्टी निर्णयको विरुद्धमा तथष्ठ बस्नेहरु पार्टी एकताको कुरा उठाउँदै आएका छ । जतिखेर पार्टी एकताको कुरा कार्यदलबाट भइरहेको थियो त्यतिखेर कार्यदलका केही सदस्यहरु एमाले विरोधी मोर्चालाई सहयोग गरिरहेको थियो । 

अझ एकता वार्ता अघि बढिरहेको बेला एमाले भनेरै समानान्तर संगठनहरु निर्माण गर्नेहरुलाई कार्यदलले केही नगरी पार्टीलाई धरासायी बनाउछु भन्नेहरुलाई कार्यकर्ताहरुले गरेको खवरदारीलाई लाञ्छना लगाए भन्नु पार्टी एकता नभई पार्टीलाई रसातलमा पुर्याउने प्रबृत्ति हो । 

उनीहरु पार्टी अध्यक्ष विरुद्ध कार्यकर्तालाई गलत सूचना प्रवाह गरेर भड्काई रहेका छन् । नेकपा एमालेलाई सत्ताबाट झारेर पार्टी जोगाएको भन्नेजस्ता भ्रष्ट मतिका कर्तुतहरु कार्यकर्ता र जनतामाझ स्थापित गर्न खोजिरहेका छन् । 

अहिलेको दोष सबै पार्टी अध्यक्षले लिनेकुरा हुन सक्दैन । पार्टी अध्यक्षलाई नेतृत्व स्वीकार गर्न नसक्ने अराजकहरुको झुण्डले यस्ता कुरा गर्न सुहाउँदैन र वार्ता टोलीका नेताहरुले अध्यक्ष विरुद्ध विष बमनहरु रोक्नु उनीहरुको दायित्वभित्र पर्छ कि पर्दैन ? एकता वार्ताका १० बुंदे सहमतीसँगै अर्को समानान्तर सहमती पनि गरिरहेको पन्तले सार्वजनिक गर्नु भएको छ । 

त्यो सहमती हो कि मनगणन्ते कुरा मात्रै हो । हिजो नेकपा हुँदा माओवादीले आफ्नो पार्टीलाई एमाले जत्तिकै ठूलो सावित गर्न आधा आधा समय प्रधानमन्त्री भएको कुरा ल्याएझैं भोलि कम्फर्टेबलहरुका लागि अनुकूल बन्ने गरी एमाले प्रयोग हुन सक्दैन । लुकाएर गरेको सहमती स्वीकार्य हुँदैन ।  

ओलीलाई कमजोर बनाउँदै कार्यदल
कार्यकर्ताको पंक्तिबाट हेर्दा नेपालको इतिहास मै जनताको पक्षमा काम गर्ने नेता भनेको केपी शर्मा ओली नै हो । जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा र रोजगारको पक्षमा कुनै सरकारले देखिने गरी केही काम गरेको छभने त्यो ओली सरकारले गर्यो । जतिखेर ओली सरकारले जनताको पक्षमा महत्वपूर्ण निर्णय लिदै थियो, महत्वपूर्ण काम गर्दै थियो, त्यो बेला ‘निरन्तरतामा क्रमभंग गर्ने’ अराजक जमातको पछि लागेर पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको पार्टीकै बैठकमा राजीनामा मागिएको थियो । 

सभामुखले आफ्नै पार्टीको प्रधानमन्त्रीले ल्याएको प्रस्तावको विपक्षमा काम गर्दै गरेको, एमालेको अस्तित्वलाई नामेट पार्ने गरी प्रधानमन्त्री र पार्टी अध्यक्षबाट एमालेलाई बेदखल बनाउन खोज्नेहरु अहिले एमाले हामीले बनाएको भन्नेहरुको नियत के हो ? त्यसको जवाफ दिनु पर्छ कि पर्दैन । अहिले माधवकुमार नेपाललाई कार्यकर्ताले ‘लाल गद्धार’ भनिरहेका छन् । खैर, यो कार्यकर्ताको भनाई हो । तरपनि, कार्यकर्ताको भावनामाथि खेलवाड गर्नेहरु पार्टीको नेता बन्न सक्दैनन् । यो कुरा कार्यदलले पनि राम्ररी बुझ्न जरुरी छ । 

पार्टीका अध्यक्षले गरेको कामलाई बेठीक भन्नेहरुले महाधिवेशनमा छिनोफानो गर्ने प्लेटफर्म हुँदाहुँदै बीचबाटो मै हैसियत खोस्न खोज्ने नियत के हो ? कार्यकर्ताले जवाफ खोजेका छन् । हो, अध्यक्षले काम गर्दै जाँदा सरकारी एजेण्डा सफल पार्न आफ्ना केही विश्वास पात्रहरुलाई नजीक राखेहोला, यसमा कोकोहोलो मच्चाउनु किन पर्यो ? माधवकुमार नेपाल पार्टीको महासचिव भएको बेला केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाएवापत स्पष्टिकरण खेप्ने कार्यकर्ता त अहिले पनि ज्यूँदै छन् त । कहिले पनि त्यो विषय बाहिर आएन ।

तर, केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहँदा पार्टी काममा कुनै पनि नेतालाई रोकेको त थिएन । किन राजधानी मै बसेर षडयन्त्र गर्नु पर्यो । अध्यक्ष ओलीले पार्टी बेच्न खोजेका थिएनन् होला । प्रधानमन्त्री भएर देश बेच्न खोजेको थिएनन् होला । सबै सिद्धिने भयो भनेर पाइलै पाइलामा अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा माग्नु कोबाट निर्देशित कदम थियो । कुनै पनि जिम्मेवारीको समय सीमा हुन्छ । समय सीमा अगावै यसरी बीचैमा हटाउनु भनेको कि शक्तिको दम्भ देखाउन हो कि अर्कैको स्वार्थमा आफू परिचालित हुनु हो. । 

आफ्ना सभामुखले संसदमा विधेयकहरु छलफलमा नल्याउनु, संवैधानिक समिति गठन गर्ने बेलामा विपक्षी दलका नेतासँग साँठगाँठ गरेर उपस्थिति नै नहुनु, मन्त्रीले जानी जानी जनतालाई अप्ठ्यारो पार्ने गरी काम गर्नु आलोचना तिनै काम नगर्ने मन्त्रीले गर्नु, सरकारलाई हल न चलको अवस्थामा पुर्याएको बेला प्रधानमन्त्रीले संसद विगठन गरेर ताजा जनादेश खोज्नुको विकल्प थिएन भन्नेकुरा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नबुझ्ने कुरै थिएन । आम निर्वाचनपछि अर्को प्रधानमन्त्री बनाउने र एकताको महाधिवेशनपछि अर्को अध्यक्ष बनाएको भए हुँदैन थियो ? किन बीचैमा विपक्षीसँग मिलेर अपदस्त गर्न खोज्नु ? यसको हिसाव किताव जनताले खोज्ने छन् । जनतालाई वा कार्यकर्तालाई मन्त्री र प्रधानमन्त्री चाहिएको थिएन र छैन पनि । चाहिनेहरुले यसको जवाफ दिनुपर्दछ । 

पार्टी जतिसुकै बलियो बनाए पनि गर्ने काम भनेको जनता कै पक्षमा हैन र ? वीस वर्षदेखि रोकिएको विकास निर्माणको कामले जनतामा निराशा छाएको थियो । नेपाली राजनीतिमा भारतीय पक्ष हावी भएको थियो । नेपालको संविधान जारी गर्ने बेलामा रोक्न खोजेको भारतीय चाललाई निश्तेज बनाउँदै अघि बढेका केपी शर्मा ओलीले भारतीय नाकाबन्दीको डटेर सामना गर्नुपरेको थियो । 

विदेशी ‘प्रभू’हरुले ओली नेतृत्व स्वीकार नगरी रहेको बेलामा पार्टी कै नेताहरु पनि ‘प्रभू’हरुको बाटोमा देखिए । यतिसम्म कि राम नेपालका ज्वाई होइनन् छोरा हुन भनेर भनिरहँदा स्वयम् भारतीयहरु पनि राम नेपालकै हुन भनिरहेको अवस्थामा हाम्रा बामदेवहरु ओलीले त्यो बोली फिर्ता लिनु पर्छ भनिरहनु भएको थियो । पार्टीभित्रैबाट घेराबन्दीमा परिरहेको बेला पार्टी र सरकारको नेतृत्वबाट ओलीले गर्नुभएको कामलाई नेपाली जनताले उच्च मुल्याङ्कन गरेका छन् । 

नेकपा स्थायी कमिटीले विघटन गरी सकेको कार्यदल र केही सदस्यहरु पार्टी एकता भन्दै पार्टी टुत्र्mयाउने प्रबृत्तिलाई प्रश्रय दिइरहेका छन् । माधव कुमार नेपाललाई लाञ्छना गर्नु नहुने भनिरहेका कार्यदलका केही सदस्यहरुले पार्टी अध्यक्षलाई सार्वजनिक सञ्चारमाध्यममा विभिन्न आरोपहरु लगाइरहेका छन् । त्यसो हुँदा यो कार्यदल पार्टी एकता कायम राख्नभन्दा पनि माधवकुमार नेपाललाई चोख्याउन र उनले गरेको दोषलाई पार्टी अध्यक्ष ओलीतिर फर्काउन खोजिरहेका छन् । 

त्यसकारण यो कार्यदलले पार्टीको सदस्यता नविकरण, वडा अधिवेशन, पालिका तहको अधिवेशन, जिल्ला अधिवेशन सबै रोक्न भनिरहेका छन् । पार्टी चलायमान गराए एकता वार्ता भाँडिने छ भन्नुको अर्थ के हो ? कार्यदलका केही सदस्यले पार्टीलाई चलायमान गराउन रोक्नु भनेको एमालेलाई कम्फर्टेवल बनाउन खोजेको प्रष्टै बुझ्न सकिन्छ । 

माधव रहितको एमालेको सुन्दर भविष्य
पार्टी सिध्याउन खोज्नेहरुको भरमा नपरी पार्टीको सदस्यता नविकरणदेखि सबै कमिटीको अधिवेशन गर्न र स्थानीय तहको निर्वाचनमा जुट्न अब ढीलाई गर्नु हुँदैन । पार्टी संगठनलाई अघि बढाउने क्रममा माधवकुमार नेपालहरुलाई विधानले व्यवस्था गरेअनुसार गल्ती कमजोरी अनुसारको कार्वाहीको भागिदार हुँदै सच्चिएर पार्टी काममा लाग्छु भन्ने होभने सँगै लिएर जाँदा हुनेछ । हैन, कसका लागि कम्फर्टेवल बनाउने गरी ल्याङल्याङ गर्दै पार्टीलाई कमजोर बनाउने योजना होभने त्यसको पछि लाग्नुको कुनै अर्थ रहन्न । अहिले नेकपा एमालेले कुनै हिनतावोध गर्न कुनै जरुरी छैन् । 

पूर्व राजा ज्ञानेन्द्रको अगाडि दाम चढाएर निवेदन हाली प्रधानमन्त्री हुन खोज्ने माधव नेपालले १५ वर्षसम्म न्ेतृत्व गरेको एमालेको संविधान बनाउने पहिलो संविधानसभामा प्रष्टै देखिएको छ । त्यो बेला एमाले कुनै पनि निर्णयमा पुग्न नसकी संविधान निर्माण हुन नसकेको प्रष्टै छ त ।जब ओलीले नेतृत्व हातमा लिनुभयो त्यसपछिको संसदमा भाले भएर एमालेले निर्णय प्रक्रियाको नेतृत्व गरेको । विपक्षी सबै एक ठाउँमा उभिएर पनि उनीहरुले केही गर्न नसकी परमादेशको सहारा लिएर गैर कानुनी तरिकाबाट सरकार ढालेका हुन् । माधवकुमारहरु विपक्षमा नलागेको भए त्यो पनि सम्भव थिएन । 

त्यसकारण माधवकुमार नेपालहरु बनाउन सक्दैनन् भत्काउन मात्र सक्छन् । फेरिपनि माधवकुमार नेपालहरुलाई सँगै लिएर जाने होभने यस्ता समस्या आइरहन्छन । माधवकुमार नेपाल रहीतको एमालेको पनि सुन्दर भविष्य छ । त्यो किन पनि हो भने नेकपा एमालेले सत्ता सञ्चालन गरेदेखि नेपाली जनतामा केही हुन्छ भन्ने आशा जगाएको छ । आशा मात्रै होइन विकासको लहर सिर्जना गरेको छ । 

नेपालमा सुरुङमार्गको युगको शुभारम्भ गरेको छ । रेलमार्ग, जलमार्ग, एसियन हाइवेको शुभारम्भ गरेको छ । नेपालले पानीजहाज चलाउन सक्छ भन्ने सन्देश दिएको छ । थप दुई वटा अन्तर्राष्ट्रिय हवाई मैदान निर्माण गरेको छ । खानी उत्खननकार्य शुरु गरेको छ । फलाम, तामा, सुन खानी उत्खननको क्रममा छ । देश अविकसित बाट विकासशील राष्ट्रमा रुपान्तरण भएको छ । आफनै देशमा उत्पादित जीवनजल विभिन्न जिल्लामा ढुवानी गर्न नसकेर हजारौले ज्यान गुमाउनु परेको नेपाल कोरोनाले विश्व आतंकित रहेको अवस्थामा दक्षिण एसियामा खोप लगाउने दोस्रो देश बनेको छ । 

यो सबै प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियताको देन हो । अब एमाले कसैको साथ नलिई देश बनाउन सक्छ भन्ने सन्देश प्रधानमन्त्री ओलीले दिनु भएको छ । अतः अब एमाले कुनै पनि विलम्ब नगरी पार्टी शुद्धिकरण र सुदृढिकरणमा लाग्नुपर्छ । नेकपा एमाले फेरि निर्वाचन जितेर सत्तामा जानुको कुनै विकल्प छैन । 

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १२ : ०० बजे