मौलिक खाद्य संस्कृति अतिक्रमित हुँदैछ 

कार्ल माक्र्सले हेगेलको द्वन्द्ववादी र लुडभिग फायरबाखको भौतिकवादी दृष्टिकोणलाई आधार मानेर द्वन्द्वात्मक भौतिकवादको प्रतिपादन गरे । १९औँ शताब्दीका तिनै विख्यात जर्मन भौतिकशास्त्री फायरबाख (सन् १८०४–७२) ले “मानिस त्यो हो जो उसले खान्छ” भन्ने विचार व्यक्त गरेका थिए । खाना र मानिसको बीचमा रहेको अन्तरसम्बन्धका बारेमा उनले गरेको विश्लेषणप्रति विभिन्न कोणबाट अहिले पनि विद्वानहरूले अनुसन्धान गरिरहेका छन् । 

उक्त भनाइमा बहुआयामिकता रहेको भएपनि एउटा महत्वपूर्ण कुरा चाहिँ मानिसलाई बाँच्नका लागि खाना अपरिहार्य छ र त्यो खानाले मानिसको साँस्कृतिक पहिचान बनाउँछ भन्ने नै हो । वास्तवमा मानिसको त्यो परिचय भनेको एक प्रकारको खाद्य संस्कृति विकासको विषय नै हो । जब खाना सभ्यता हो भने तब खाना जोगाउन लाग्नु मानिसको जीवन रक्षार्थ लाग्नु हो ।

के हुन्छ त्यो त अहिले नै बताउन सकिँदैन तर अबको युद्ध खानाका निम्ति हुनेछ भनेर भविष्यवाणी गर्ने गरिन्छ । तीब्ररूपमा भइरहेको जलवायु परिवर्तनले कृषि तथा खाद्य प्रणालीलाई विनास गरिरहेको, विभिन्न किसिमका विश्वव्यापी महामारीले खाद्य उत्पादन तथा वितरण प्रणलीलाई बेलाबेलामा चुनौति दिइरहेको, स्वास्थ्यसेवाको विस्तार तथा विकास भएसँगै जनसंख्या बृद्धि तीब्र बनिरहेको, पूँजीवाद प्रवद्र्धित नीजीकरण र व्यापारीकरणले खाद्य प्रणालीलाई आर्थिकरूपमा सम्पन्न मुलुकहरूको कब्जामा पार्दै लगेको, पूँजीवाद बिरुद्ध किसान भन्ने अवधारणा विकास भइरहेको परिवेशमा अबको युद्ध खानाका निम्ति हँुदैन भनेर भन्न सकिने अवस्था भने छैन । दिन प्रतिदिन विश्वमा खाद्य संकट निम्तिने खतरा बढिरहँदा त्यसकै लागि युद्ध नभड्केला भन्न सकिँदैन । 

त्यसैले खानाका निम्ति युद्ध हुन दिएर अकालमा मानिसको जीवन समाप्त पार्ने दिशामा लाग्नु भन्दा क्रमिकरूपमा लोप हुँदै गइरहेको विभिन्न समुदायको खाद्य संस्कृतिको जगेर्ना गर्नु नै बुद्धिमानी हो । 

मानव जाति बाँच्नका निम्ति खाना जोगाउनु पर्छ । त्यसो त मानिस अस्तित्वमा नभए पनि खानाको स्रोत जोगिन सक्छ र प्राकृतिक खाद्यान्न र खानेकुराको सधैँ जगेर्ना हुनसक्छ । धर्तीबाट प्राणी र वनस्पति लोप नहुञ्ज्यालसम्म मानव रहिरहन सक्छ । पृथ्वीमा मानिस बाहेकका प्राणी र वनस्पति पनि अस्तित्वमा भइरहने हुनसक्छ । तर खानाको अभावमा मानव लोप भएर नजाला कसरी भन्न सकिएला र ? यसको अर्थ कालान्तरमा मानव जीवन नै समाप्त हुन्छ भन्न खोजिएको होइन । बरु कुरा के मात्र हो भने मानव सभ्यतालाई दिगो र समृद्ध बनाउने हो भने अन्नपानी जोगाउन र यो जीवनदायिनी तत्व खानाको वितरण सहज बनाउन उपाय खोज्नुपर्दछ । 

खाना भनेको ऊर्जा र स्मरण, परिचय र मुठभेड, मानवीय मूल्यसहितको धर्ती र प्रकृति तथा सामाजिक प्रतिष्ठाको स्रोत हो । यसर्थ खानाको बारेमा समाज, संस्कृति, नीति, कला, चलचित्र, साहित्य, स्वास्थ्यजस्ता क्षेत्रमा घनिभूतरूपमा चर्चा हुने गर्दछ । खानाको स्रोतको रूपमा रहेका प्राणी, चराचुरुङ्गी र वनस्पति जगत तथा मानव सभ्यताबीच नङ र मासु जत्तिकै गहिरो सम्बन्ध छ । 

पर्याप्त र गुणस्तरीय खाद्यान्न स्वस्थ्य जीवनका लागि अपरिहार्य छ । परिकार बनाउने र खाने तरीका समाजपिच्छे फरकफरक हुन सक्छ । तर पनि सबैको जीवनको आधार बनेको प्राणी र वनस्पति सबैको साझा सम्पत्ति हो । त्यसैले यो साझा बहुमूल्य निधिको संरक्षण गर्नु सबैको दायित्व हो ।

खाना मूर्त र अमूर्त दुबै किसिमको साँस्कृतिक सम्पदा हो । खाना र संस्कृति अन्तरसम्बन्धित छन् । खाना तथा पेय पदार्थ तयारी र त्यसलाई पस्किनु सामान्य जस्तो लाग्न सक्छ तर यसले महत्वपूर्ण सामाजिक र साँस्कृतिक महत्व बोकिरहेको हुन्छ । खाना बनाउने तरीका र खाना खाने अभ्यासबाट निश्चित साँस्कृतिक मूल्य तथा ज्ञान एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भइरहेको हुन्छ । यसबेला मूर्त र अमूर्त दुबै संस्कृति प्रवाह भइरहेको र बाँचिरहेको हुन्छ । यसरी निश्चित खाद्य तथा पेय पदार्थ, भाँडावर्तन र खाना पस्किने पद्धतिले एउटा संस्कार र संस्कृति विकास गरिरहेको हुन्छ । खानाबाट देशको संस्कृति विस्तार भइरहेको हुन्छ । खानाले संस्कृतिलाई र संस्कृतिले खानालाई प्रभाव पार्दछ । खानाले देश, नागरिक र स्थानविशेषको प्रतिनिधित्व गर्दछ । अर्को अर्थमा भन्ने हो भने खाना एउटा सामुदायिक र वृहत् अर्थमा राष्ट्रिय परिचय पनि हो । खाना आनन्द हो, समुदाय हो, जीवनस्तर हो । जस्तो कि, कसैले घोषणा त गरेको छैन तर गुन्द्रुक नेपालको राष्ट्रिय तरकारी भन्ने गरेको पाइन्छ । साथै, सेल रोटी नेपाली समुदाय बाहेक संसारमा अरु कुनै समुदायले बनाएको पाइएको छैन ।

संस्कृति भनेको मानिसको जीवनपद्धति हो । संस्कृति मानिसको लिखत, धर्म, सङ्गीत, लत्ताकपडा, पाककला आदिबाट सरिरहेको हुन्छ । भिन्न समुहको भिन्न संस्कृति हुन्छ । एउटा पुस्ताबाट अर्को पुस्तामा सिकाइबाट संस्कृति सरिरहेको हन्छ, त्यसैगरी ‘जीन’बाट पनि अर्को पुस्तामा हस्तान्तरण हुन्छ । खाना संस्कृतिको आधारभूत तत्व हो । खाना सभ्यताको हृदय हो किनकी मानिसको जीविका र स्वस्थ्य मानवको विकास खानाले नै गरिरहेको हुन्छ । सामान्यतः मानिस समुहमा खाना खान रुचाउँछ, यस्तो क्रियाबाट भोक जागृत हुन्छ र उसले उपयुक्त वातावरण पाउँदा आपसी भावना पनि साटासाट गर्दछ । यस अर्थ खाना भौतिक कुरा मात्र होइन यो भावनाको विषय पनि हो । यसरी खाना पोषणका लागि मात्र होइन । तर खानाको प्राकृतिक स्वाद र पोषक तत्व कायम हुँदा समुदायको समृद्ध खाद्य संस्कृतिको समेत जगेर्ना हुन्छ । 

नीजीकरण तथा उदारीकरण प्रवद्र्धित भूमण्डलीकरणले एकल खाद्य संस्कृतिको समेत विस्तार गरिरहेको छ । जस्तो कि ‘पीजा’ विश्वव्यापी भइरहेको छ तर नेपाली स्वादिष्ट ‘सेलरोटी’ नेपालीबीच मात्र सीमित छ । यस अर्थमा संस्कृतिको रूपमा रहेको हाम्रो खाना पनि अतिक्रमित भइरहेको छ । साम्राज्यवादले मानिसमा खाना छनोट गर्ने प्रवृत्तिमा पनि व्यापक परिवर्तन ल्याएको छ । मौलिक खानामा भइरहेको यस्तो अतिक्रमणले मानिसको स्वास्थ्य र सम्पत्तिमाथि पनि नकारात्मक प्रभाव पारिरहेको छ । धनी मुलुक केन्द्रित आर्थिक भूमण्डलीकरणले खाद्य सुरक्षामाथि संकट थोपरिरहेको छ भने यसबाट खाद्य प्रवद्र्धित अमूर्त सम्पदामाथि पनि हस्तक्षेप बढाइरहेको छ । कृषिमा बहुराष्ट्रिय निगमको प्रत्यक्ष लगानी बढ्नाले खाद्य प्रक्रिया र बजारीकरण उनीहरूको स्वार्थ अनुकूल भइरहेको छ र स्थानीय रैथाने बाली लोप भइरहेका छन् अनि खानेकुरा पनि विकसित मुलुककै विस्तारित भइरहेका छन् । 

विज्ञान तथा प्रविधिको विकासले खाद्य संस्कृतिमा समेत प्रभाव पारिरहेको छ । ‘फास्ट फुड’ कम्पनीले खाना पस्किन रोबोटको प्रयोग गरिरहेका छन् । यसबाट ग्राहकले चाहेजति जीवन्त सत्कार पाइरहेको छ त ? यस्तो प्रक्रियाले सेवाग्राही र सेवाप्रदायकबीच सान्निध्यताको बातावरण सिर्जना हुन्छ ? यस्तो प्रक्रियाले खाद्य संस्कृति अतिक्रमित भइरहेको छ । खानामा भएको औद्योगीकरणले गर्दा त्यसको गुणस्तरलाई कमजोर बनाइरहेको छ । फलस्वरुप नसर्ने किसिमका रोगहरू फैलिइरहेका छन् । विश्वमा भएका विभिन्न संस्कृतिहरूमा अनेकाँै प्रकारका खाना, खाद्यान्न तथा पेय पदार्थहरू प्रयोग भएको पाइन्छ । तर विस्तारै विषादीको प्रगोग, पुरियाबन्द खानेकुराको विकास जस्ता कुराको विस्तारले हजारौँ समुदायको मौलिक खाद्य संस्कृति नै अतिक्रमण भइरहेको छ ।

आजकल ‘स्ट्रीट फुड’ र ‘फाष्ट फुड’ संस्कृतिले व्यापकता लिइरहेको छ । आज ‘फास्ट फुड’ पूँजीवादी उपभोक्तावादको प्रतीक बनेको छ । अहिले खाना मात्र चाँडो बन्दैन मानिसलाई यति हतार हुन्छ कि बसेर खान पनि फुर्सद हुँदैन र बाटोमा हिँड्दा पनि खाँदै हिँड्नु पर्ने अवस्थामा पुर्याएको छ । यसरी खाँदै हिँड्दा मानिसले गर्व गर्ने गरेको छ । तर यसबाट विस्तारै आफ्नो खाद्य संस्कृति लोप भइरहेको र स्वास्थ्य बिग्रिरहेको मानिसले पत्तै पाइरहेको छैन ।

रैथाने बीउ संरक्षण, स्थानीय बाली प्रवद्र्धन र मौलिक कृषि व्यवसाय उन्नयनले हाम्रो खाद्य संस्कृति जोगाउन सकिन्छ । मौलिक खाद्य संस्कृतिलाई सुदृढ तुल्याउन सक्दा राष्ट्रिय पहिचान अभिबृद्धि हुने मात्र होइन कि सिङ्गो मानव सभ्यतालाई नै दिगो, खुशी र सुखी बनाउन सकिन्छ । स्थानीय जातका अन्नबालीको संरक्षणसहित बजारीकरणका लागि खाद्य संग्रहालय स्थापना गर्न तथा स्थानीय अन्नको प्रयोग गर्दै ‘होमस्टे’ सञ्चालन गर्न आवश्यक ध्यान पुर्याउनुपर्दछ । 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ११ : १६ बजे