‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

इरानका नयाँ राष्ट्रपतिलाई परमाणु सम्झौताबारे वार्तामा फर्कन अमेरिकाको आग्रह

काठमाडौँ । अमेरिकाले इरानका नयाँ राष्ट्रपतिलाई ऐतिहासिक परमाणु सम्झौतालाई पुनर्जीवन दिनका लागि वार्तामा फर्कन आह्वान गरेको छ।

बिहीबार पद सम्हाल्नुभएका इरानी राष्ट्रपति इब्राहिम रइसीले देशमाथि लागेका प्रतिबन्ध अन्त्यका लागि गरिने कूटनीतिक पहललाई समर्थन गर्ने सङ्केत गरेकै बखत अमेरिकाले यस्तो आह्वान गरेको हो।

सन् २०१८ मा त्यस बेलाका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले परमाणु सम्झौताबाट अमेरिकालाई अलग्याउँदै इरानमाथि पुराना प्रतिबन्धहरू पुनः लगाएपछि दुई देशबीच तनाव बढेको थियो।

इब्राहिम रइसीले इरानको राष्ट्रपतिका रूपमा बिहीबार शपथ ग्रहण गर्नुभएको छ । तेहरानमा शपथ ग्रहण समारोहमा बोल्नुहुँदै उहाँले इरानमाथिका प्रतिबन्धहरू अन्त्य गर्ने कुनै पनि कूटनीतिक योजनालाई आफूले समर्थन गर्ने बताउनुभयो । 

शपथ ग्रहण समारोहमा उहाँले अमेरिकाद्वारा इरानी राज्यमाथि लगाइएका सबै अवैध प्रतिबन्धहरू हट्नै पर्ने बताउनुभएको बिबिसीले जनाएको छ । 

पश्चिमा देशहरूले इरानमाथि परमाणु हतियार बनाउन लागिरहेको आरोप लगाउँछन् तर इरानले त्यसलाई अस्वीकार गर्दै आएको छ।

सन् २०१५ मा इरान र अन्य ६ देशहरू अमेरिका, युके, फ्रान्स, चीन, रुस र जर्मनीबीच भएको एउटा सम्झौता अनुसार इरानलाई आर्थिक क्षति पुग्ने केही प्रतिबन्धहरू हटाइएको बदलामा उसले आफ्ना केही परमाणु कार्यक्रमलाई रोकेको थियो। तर ट्रम्पले उक्त सम्झौताबाट हात झिकेपछि उसले पुनः परमाणु कार्यक्रमलाई निरन्तरता दिएको छ।

उक्त सम्झौतालाई पुनर्जीवित पार्ने कोसिसका रूपमा अस्ट्रियाको राजधानी भियानामा केहीअघिदेखि वार्ताहरू भइरहेका छन्। तर कैयौँ हप्तादेखि ती वार्ताहरू पनि हुन सकिरहेका छैनन्।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ७ : ३२ बजे