काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई प्रतिगमनकारीको सरकार भएको भन्दै सरकार गठन लगत्तै प्रतिगामीहरुको दादागिरी सुरु भएको बताउनुभएको छ ।
बर्तमान सरकार निर्वाचनबाट नभइ कुबाटोबाट आएको बताउँदै अध्यक्ष ओलीले बर्तमान सरकारले दमनको सुरुवात गरेको बताउनुभयो ।
आइतबार तुलसीलाल अमात्यको २४ औं स्मृतिका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो,‘सरकार बने लगत्तै प्रतिगामीहरुले दादागिरी सुरु गरे, यो अलोकतान्त्रिक तरिकाको कास्टिङ मात्रै हो । हामी यस्ता सवै कुराको प्रतिवाद र आवश्यक परे प्रतिरोध पनि गर्छौ ।’
उहाँले देउवा नेतृत्वको ‘प्रतिगामी’ सरकार एमाले भित्रैका निष्ठा बेच्नेहरुका कारण बनेको बताउँनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा पार्टीका केही बिग्रिएका तत्वहरु निष्ठा छोडेर दक्षिणपन्थीसँग मिल्न गए जस कारण प्रतिगामीहरुको सरकार बन्ने यो स्थिति आयो’, ओलीको भनाइ थियो ।
अध्यक्ष ओलीले अनुशासनहीन र अराजकहरुले नै नेकपा फुटाएको आफ्नै पार्टीको नेतृत्वको सरकार पनि ढालेको आरोप लगाउनुभयो े । उहाँले माधव नेपाललाई बेसरमको शंज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘विपक्षीलाई भोट हालेर आफ्नो पार्टीलाई सडकमा ल्याएको छ । अनि पाँच दलीय गठबन्धन भनेर एमालेकै नेताको रूपमा सहभागी भएको छ । यो भन्दा बेसरम के हुन्छ ?’
उहाँले ऋषिमुनिका कालखण्डमा यज्ञ र ध्यान पनि भत्काउने तथा बिगार्ने षड्यन्त्र हुने गरेको भन्दै अहिले पनि एमालेमाथि त्यस्तै षड्यन्त्र भइरहेको बताउनुभयो ।
प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार ६ : १२ बजे
प्रतिक्रिया