दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

कांग्रेस कार्यकर्ता तीन सातादेखि धर्नामा, नेतृत्वद्वारा बेवास्ता

काठमाडौँ – क्रियाशील सदस्यता वितरण र नवीकरणमा धाँधली भएको जनाउँदै कांग्रेस कार्यकर्ताहरू तीन सातादेखि धर्ना दिँदै आएका छन् । बारा र रौतहटका एक सयभन्दा बढी कार्यकर्ताहरू पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् । 

विवाद समाधानको माग गर्दै धर्नामा बस्दै आएका दुवै जिल्लाका कार्यकर्ताले मागको सुनवाई नभएसम्म धर्ना जारी राख्ने बताएका छन् । पार्टीको १३औँ महाधिवेशनमा सक्रिय रहेका कार्यकर्ताको सदस्यता नवीकरण गर्नुको सट्टा नयाँ व्यक्तिलाई सदस्यताको सिफारिस गरिएको पार्टीका नेता एवं संविधानसभा सदस्य रामअयोध्याप्रसाद यादवले बताउनुभयो । “वडाबाट नयाँ सदस्यताका लागि सिफारिस गरिएका व्यक्तिको नाम हटाएर अर्कैलाई सिफारिस गरिएको पाइयो”, पार्टी कार्यालय सानेपामा विगत २२ दिनदेखि धर्नामा बस्दै आउनुभएका यादवले भन्नुभयो, “फारममा एउटाको नाम छ, कम्प्युटरमा फरक व्यक्तिको नाम दर्ता भएको छ, यो त सरासर अवैधानिक काम हो ।” 

बारा क्षेत्र नं २ मा ४४ वडामध्ये २२ वटा वडामा कार्यकर्ताले क्रियाशिल सदस्यस्यताको फारम नै नपाएको नेता यादवको गुनासो छ । “फारममा कतिपयको नाममा टिपेक्स लगाएर अर्कैको नाम लेखेको सम्म गरेको पाइएको छ”, उहाँले भन्नुभयो । पार्टीको शीर्ष नेतृत्वले विवाद समाधान गर्न आश्वासन दिएको यादवले बताउनुभयो । पार्टीको अधिवेशनलाई ध्यान दिनुभन्दा संसदीय निर्वाचनको ख्याल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । संसदीय निर्वाचनमा बाराको चार वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा मात्र कांग्रेस विजयी भएको थियो । सो क्षेत्रबाट उमाकान्नत चौधरी निर्वाचित हुनुभएको थियो । 

बारासँगै रौतहटका कार्यकर्तासमेत सानेपामा अनशनमा बस्दै आएका छन् । रौतहट क्षेत्र नं १ का नेता बज्रकिशोर सिंह पार्टीमा पुराना कार्यकर्तालाई अन्याय भएको बताउनुहुन्छ । “पार्टीको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा पुराना कार्यकर्तामाथि अन्याय भएको छ”, अनशनमा भेटिनुभएका उहाँले निराशा व्यक्त गर्दै भन्नुभयो, “पार्टीमा प्रतिबद्ध र सिद्धान्त बुझेका कार्यकर्तालाई अपहेलना गर्ने काम भएको छ, त्रुटी नसच्याउँदासम्म हामी घर फर्किन्नौँ ।” कतिपय ठाउँमा पार्टीको वडासभापतिले सदस्यता फारम नै नपाएको पूर्वस्वास्थ्य राज्यमन्त्री रहिसक्नुभएका सिंहले दुःखेसो गर्नुभयो ।  

विवाद उत्पन्न भएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फागुन ६ गते बसेको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी रहेको समिति गठन गरेको थियो । समितिले बिहीबार थप परिमार्जनसहितको प्रतिवेदन बुझाइसकेको छ । 

सदस्यता विवाद मिलाउन कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बिहीबार बसेको बैठकले पार्टीको नेतृत्व तहलाई पाँच दिनको समय दिएको छ । विवाद समाधानका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल हुँदै आएको छ । कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका तय गरेको छ । कांग्रेसमा १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ । 

–विक्रम गिरी/रासस

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ५ : ३९ बजे