दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एमाले स्थायी कमिटी बैठक सुरु, बामदेव पनि सहभागि

काठमाडौं। नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा सुरु भएको हो ।

शनिबार बोलाइएको बैठक माधव नेपाल समूहले समय माग गरेपछि रोकिएको थियो ।

बैठकले विधान महाधिवेशनको तयारी,केन्द्रीय विभागहरूको पूर्णता र पार्टी सदस्यता वितरण एवं नविकरण लगायतका विषयहरूमा छलफल र निर्णय हुने बताइएको छ ।

पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो ३ बजेका लागि तय भएपनि आधा घण्टा ढिलो गरी साढे तीन बजे बैठक शुरु भएको हो । आजको बैठकमा पनि नेता माधवकुमार नेपाल पक्षका सदस्यहरु अनुपस्थित रहनुभएको उहाँले जानकारी दिनुभयो । कैठकमा नेता बामदेव गौतम भने उपस्थित हुनुहुन्छ । 

बैठकका लागि एमालेले मुख्य तीन वटा कार्यसूची तय गरेको छ । केन्द्रीय विभागलाई पूर्णता दिने, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण तथा वितरण रहेको छ । पार्टी कार्यालय सचिव तामाङका अनुसार साउन २५ गते विधान महाधिवेशन गर्ने निर्णय यसअघिको बैठकले तय गरिसकेकाले त्यसको तयारीका लागि विभिन्न उपसमिति गठन हुनेछन् ।

त्यस्तै, बैठकमा विघटित कार्यदलका सदस्यहरुले आज पनि बैठकको प्रगतिबारेमा जानकारी गराउनुहुने कार्यक्रम छ । आज बिहानदेखि कार्यदलका सदस्यहरु अनौपचारिक संवादमा रहनुभएको थियो । नेता नेपाल पक्षका कार्यदलका सदस्यहरु आजको बैठकमा सहभागी नहुनु भए पनि अर्को बैठकदेखि सहभागी हुने विश्वास एमालेले लिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भइरहेको बैठकले अब नेता नेपाललाई सहमतिका लागि थप समय निर्धारण गर्ने कि पार्टी गतिविधि अगाडि बढाउने विषयमा पनि आज निर्णय हुने तामाङले बताउनुभयो ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ४ : ०८ बजे