सरकारी अस्पतालको सेवा प्रभावकारी बनाउन उपप्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पताललाई जनतामैत्री बनाउन निर्देशन दिनुभएको छ । 

काठमाडौँ क्षेत्र नम्बर ५ मा पर्ने चार ठूला सरकारी अस्पतालका प्रमुखसँगको बैठकमा उहाँले असहाय र गरिब जनताको भरोसा नै सरकारी अस्पताल भएकाले अस्पतालको सेवामा सुधार गरी बिरामीलाई राहत दिन निर्देशन दिनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले बाँसबारीस्थित गङ्गालाल अस्पताल पुगी आफ्नो निर्वाचन क्षेत्रमा पर्ने त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, गङ्गालाल हृदयरोग केन्द्र र नेपाल प्रहरी अस्पतालले प्रदान गर्दै आएका सेवा, सुविधा र समस्या समाधानका विषयमा छलफल गर्नुभएको हो । 

नेकपा (एमाले)का महासचिवसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले गत निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्धताअनुसार सरकारी अस्पतालको सेवा सहज, सरल र गुणस्तरीय बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । 

छलफलमा काठमाडौँ क्षेत्र नम्बर–५ का प्रदेशसभा सदस्य दीपक निरौला पनि सहभागी हुनुहुन्थ्यो । 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ६ : ४८ बजे