काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । शनिवार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ भने बाढीले केही घरमा क्षति पुर्याएको छ ।
यसअघि असार १ गते आएको भीषण बाढीले हेलम्बु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबेपनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन ।
मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ । हेलम्बु गाउँपालिका नाकोते खोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटिए क्षेत्रका बासिन्दालाई हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिवार राति नै सतर्क हुन अनुरोध गर्नु भएको थियो ।
त्यस्तै हेलम्बुस्थित चनौटेको रातो पुलमाथिबाट अहिले पनि पानी बगिरहेको स्थानिय हस्त पण्डितले जानकारी दिनु भएको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ भने नदि को सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार ७ : १८ बजे
प्रतिक्रिया