साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

टोकियो ओलम्पिक : ४० पदकसहित चीन शीर्ष स्थानमा

काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । 

जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।  

चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कास्य पदक प्राप्त गरेको छ । जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् ।

जापानले १७ स्वर्ण, चार रजत र सात कास्य पदक प्राप्त गरेको छ भने अमेरिकाले १४ स्वर्ण, १७ रजत र ११ कास्य प्राप्त गर्न सफल भएको छ । 

यस्तै १० स्वर्ण, १४ रजत र १० कास्य पदक प्राप्त गर्दै रसिया ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ । 

यसैगरी अस्टे«लिया नौ स्वर्ण, दुई रजत र ११ कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । 

बेलायत सात स्वर्ण, नौ रजत र नौ कास्यसहित छैटौँ, दक्षिण कोरिया पाँच स्वर्ण, चार रजत र ६ कास्यका साथ सातौँ, नेदरल्याण्डस् तीन स्वर्ण, सात रजत र पाँच कास्य जित्दै आठौँ, फ्रान्स तीन स्वर्ण, पाँच रजत र ६ कास्यका साथ नवौँ तथा जर्मनी तीन स्वर्ण, चार रजत र नौ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । 

टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ७० देशले पदक प्राप्त गर्न सफल भएका छन् ।   

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आ आफ्नो खेलमा प्रतिस्पर्धा गर्नुभएको थियो । पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिनुभएको छ । 

परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रि स्टाइल, सिंहले १०० मिटर फ्रि स्टाइल तथा चौधरीले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नुभएको थियो । रासस

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ८ : ३५ बजे