साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

टोकियो ओलम्पिक : सरस्वती चौधरी पहिलो चरणबाटै बिदा  

काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिनुभएको छ । 

केहीबेर अघि भएको खेलमा चौधरीले महिला १०० मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सक्नुभएन । उहाँले निर्धारित दूरी १२ दशमलव ९१ सकेण्डमा पूरा गर्नुभयो । नौ खेलाडी सम्मिलित सो समूहमा चौधरी आठौँ हुनुभयो । उहाँले आफ्नै प्रदर्शनमा समेत सुधार गर्नुसक्नुभएन । 

यसअघि चौधरीले १०० मिटर दौड पूरा गर्न १२ दशमलव ५५ सकेण्ड खर्चिएको रेकर्ड छ । चौधरीको खेल प्रदर्शनसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको प्रतिस्पर्धा सकिएको छ । 

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी  कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले यसअघि खेलिसक्नुभएको छ ।

चारै जना पराजित भई प्रतियोगिताबाट बाहिरिनुभएको छ । 

परियारले महिला १० मिटर एयरराइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रिस्टाइल तथा सिंहले १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नुभएको थियो । पौडीमा शाह र सिंह तथा सुटिङमा परियारले आ–आफ्नो खेलमा राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो ।      

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १० : ५२ बजे