साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशको ‘सानो अर्थतन्त्र’का आयामहरू

बेलायती अर्थशास्त्री, कानूनवेक्ता तथा राजनीतिशास्त्री लियोपोल्ड कोर (सन् १९०९–९४) ले ‘ठूलोपना पंथ’ विरोधी अभियान चलाएर ‘सानो सुन्दर हो’ भन्ने मानवकेन्द्रित र वातावरणमैत्री आर्थिक उत्पादन प्रक्रिया लागू गर्नुपर्दछ भन्ने दृष्टिकोण अगाडि सारे । कोरले ‘मानव सन्तुलन’ र ‘सानो सामुदायिक जीवन’को परिकल्पना गरे । उनले सन् १९५७ मा आफूद्वारा लिखित पुस्तक ‘द बे्रकडाउन अफ नेशन्स’ मा व्यापक मात्राको विकासले युद्ध निम्त्याएको, जीवनस्तरलाई दुःखदायी बनाएको र सामाजिक प्रगतिलाई छेकेको तर्क गरेका छन् । 

विश्वव्यापी तीब्ररूपमा बढिरहेको जलवायु परिवर्तनको असरका कारण बाढि, पहिरो, भू–क्षय, अतिवृष्टि, अनावृष्टिजस्ता विपत्तिहरूले विकासका ठूलाठूला पूर्वाधारहरूलाई नष्ट पारिरहेको र मानव जीवनलाई सताइरहेको परिवेशमा ‘सानो अर्थतन्त्र’ नै उपयुक्त हो कि भन्ने सन्देश पुनः एकपटक उजागर भएको छ । 

सामान्यतया वस्तु तथा सेवाको उत्पादन, वितरण र उपभोगको प्रक्रिया जसले व्यक्ति, समाज र समग्र मुलुकको सामाजिक–आर्थिक विकासका पक्षहरूलाई समेट्छ र प्रभाव पार्दछ, त्यो नै अर्थतन्त्र हो । देशको आर्थिक व्यवस्थालाई उचित मार्गदर्शनका साथ अगाडि बढाउँदा दिगो आर्थिक समृद्धि हासिल हुन्छ भने त्यसो गर्न नसक्दा मुलुक गरिबी, बेरोजगारी, परनिर्भरता र अविकासको दुष्चक्रमा फस्न पुग्दछ । 

त्यसैले सचेत, जागरुक र प्रगतिशील चिन्तन भएको जो कोहीले पनि हाम्रो देशको साझा राष्ट्रिय आकांक्षा बनेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को चाह गर्दछ र आवश्यकता अनुसार त्यस प्रक्रियामा सकारात्मक भूमिका समेत निर्वाह गरिरहेको हुन्छ । यस लक्ष्यलाई हासिल गर्न मुलुकको आर्थिक प्रणालीलाई चलायमान बनाइरहेको ‘सानो अर्थतन्त्र’ को भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन । 

यस आलेखमा ठूला मुलुक र तिनका अर्थतन्त्रसँग तुलना गरेर हाम्रोलाई ‘सानो अर्थतन्त्र’ भनिएको होइन, बरु आधुनिकीकरण प्रक्रियालाई पछ्याउन नसके पनि कृषि, पर्यटन, उद्योग, वाणिज्य तथा व्यापार, सँस्कृतिजस्ता क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा पारेका र पार्नसक्ने सकारात्मक प्रभावहरूलाई दृष्टिगत गरी संक्षेपमा चर्चा गर्न खोजिएको मात्र हो । 

विश्वका सम्पन्न मुलुकहरूको परिवेशलाई देखेर र बुझेर, गरिबी र आर्थिक गतिहिनताको व्युहमा फसेकाले कष्ट व्यहोर्नु परेर तथा सहजता र सुखभोगको सपना देखेर राजनीतिक नेतृत्व, नीति–निर्माता र जागरुक नागरिकले सबल र सुदृढ अर्थतन्त्र निर्माणका निम्ति सकेसम्म ठूलाठूला आर्थिक योजना तर्जूमा गर्नमा ध्यान दिएको पाइन्छ । तर लामो निरंकुशता र अस्थिर राजनीतिक संक्रमणमा मुलुक परेको बेला यथार्थताको धरातलमा नउभिएका महत्वाकांक्षी र अव्यावहारिक योजनाहरू विफल हुन पुग्दछन् । 

अब विगतको यस्तो विफलताबाट निरास र पलायन हुने होइन, बरु आर्थिक गतिविधि सम्बद्ध इतिहासको गहिरो सिंहावलोकन गर्दै देशको आर्थिक प्रणालीभित्रको ‘सानो अर्थतन्त्र’ का बहुआयामिक योगदानहरू चिन्दै समयको मागलाई मध्यनजर गरी अर्थतन्त्रलाई गतिशील बनाउनुपर्दछ । 

नेपालको दुई तिहाइभन्दा बढि जनसंख्याको मुख्य पेशा कृषि हो र दूरदराजका ग्रामीण इलाकादेखि शहरउन्मुख क्षेत्रमा समेत कृषिकर्महरू हुन्छन् । कृषिमा आधुनिकीकरण र व्यावसायीकरण हुन नसक्दा ठूलो प्रयास गर्दा पनि उत्पादन र उत्पादकत्व बृद्धि हुन सकेको छैन । 

यसरी समग्रमा निर्वाहमुखी कृषि प्रणाली अन्तरगत नै मुलुक रुमल्लिइरहनु परेको छ । यति हुँदा हुँदै पनि विभिन्न देशमा वैदेशिक रोजगारीमा संलग्न भएर कृषिको आधुनिकीकरण एवं व्यावसायीकरण देखेको समूह र यसले पारेको प्रभाव तथा परिवर्तित सन्दर्भमा स्वदेशी किसानहरूकै हुटहुटीले देशका विभिन्न भागमा फलफूल, तरकारी तथा नगदे बालीको व्यावसायिक खेती शुरु भएको छ । 

यसबाट केहि किसान तथा व्यावसायीको परिवार लाभान्वित हुँदै बालबच्चाको शिक्षादीक्षा, औषधोपचार, खेलकूद तथा मनोरञ्जन, पर्यापर्यटनमा थोरै भएपनि खर्च गर्नसक्ने अवस्था देखिएको छ । यसरी ‘सानो अर्थतन्त्र’को सकारात्मक प्रभाव नेपाली किसानमा क्रमिकरूपमा देखा परिरहेको छ । 

यो देश प्राकृतिक सौन्दर्य र साँस्कृतिक विविधताले भरिपूर्ण भएकाले यहाँ पर्यटन प्रवद्र्धनको ठूलो संभावना रहेको छ । ओझेलमा परेका उत्कृष्ठ पर्यटकीय गन्तव्यको उजागर गर्दै पर्यटकलाई भ्रमण गराउन सक्दा स्थानीय समुदायको आयआर्जनमा ठूलो मद्दत पु¥याउन सकिन्छ । यसका लागि गन्तव्यको विन्दुलाई वातावरणमैत्री र जनमैत्री तुल्याउनु पर्दछ भने साँस्कृतिक पहिचानलाई दिगोरूपमा मौलिक बनाइरहनु पर्दछ । जस्तो कि वन्यजन्तु निकुञ्ज तथा आरक्ष, प्राकृतिक सौन्दर्ययुक्त उद्यान, नौकाबिहार, चिडियाखाना, छाँगा छहरा झरना, हिमशृङ्खलाहरूको अवलोकन भ्रमण वापतको उचित शुल्क पर्यटकहरूबाट असुल गर्न सकिन्छ । यसो गर्दा पथप्रदर्शकहरूले रोजगारी पाउँछन् भने त्यस्ता गन्तव्यहरूका वरिपरि सफा र मौलिक खाद्यसामग्री पसल तथा उपहार बिक्री वितरण केन्द्र सञ्चालन गरेर आय आर्जन गर्न सकिन्छ । झट्ट हेर्दा थोरै आर्थिक कारोबार भएको देखिए पनि यो एउटा ‘सानो अर्थतन्त्र’ले स्थानीय समुदायको आर्थिक उन्नतिमा योगदान नै पुर्याइरहेको हुन्छ । 

हाम्रो देश साँस्कृतिक विविधतामा विश्वस्तरमै अग्रस्थानमा रहेको छ । यहाँका जातजातिका संस्कृतिहरू अद्वितीय एवं मौलिक भएकाले यसबाट समेत ‘सानो अर्थतन्त्र’ विकासमा महत्वपूर्ण योगदान पु¥याउन सकिन्छ । यस समाजमा बस्ने विभिन्न जातिका मौलिक खाद्य सामग्री, वेशभूषा तथा आभुषण, भाषा तथा गीतसंगीत, मनोरञ्जन शैलीजस्ता कुराहरू स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याउने विषयहरू हुन् । यहाँको कृषिमा रहेको वैविध्यता र जातीय खाद्य संस्कृतिलाई आधार मानेर खाद्य सङ्ग्रहालय स्थापना गरी मौलिक स्वाद पस्किने तथा खानेकुरा बनाउने तरिका तथा प्रविधि र भाँडावर्तनको प्रदर्शन गर्ने व्यस्था मिलाउन सक्दा आयआर्जनमा टेवा पुर्याउन सकिन्छ । भइरहेका होमस्टेलाई थप सुन्दर र सुदृढ तुल्याउँदै पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ । यस्ता क्रियाकलापबाट कृषि उपज बृद्धि हुने र विभिन्न क्षेत्रमा रोजगारी बढ्ने निश्चित छ । यसबाट हाम्रो ‘सानो अर्थतन्त्र’ प्रवद्र्धनमा ठूलो मद्दत पुग्दछ । 

नेपालीहरू शुरवीर छन् भन्ने कुरा विश्वलाई जानकारी भएकै विषय हो । यसको थप प्रचार प्रसार गर्नसके हाम्रो अन्तर्राष्ट्रिय पहिचान अभिबृद्धि हुने मात्र होइन कि यसबाट अर्थोपार्जन पनि गर्न सकिन्छ । आइलाग्ने माथि मात्र जाइलाग्ने नेपालीको मौलिक परिचय हो, कसैको पराधीनता नेपालीले कहिल्यै स्वीकार गरेन, इतिहासको एउटा कालखण्डमा बाइसे चौबिसे राज्यमा विभक्त नेपालको अन्तरविरोधबाट विदेशीहरूले फाइदा लिन खोजे पनि बुद्धिमत्तापूर्ण एकीकरण अभियानले नेपाल सधैँ स्वतन्त्र र स्वाधिन राष्ट्रको रूपमा रहन सफल भएको छ । यहाँको एकीकरण अभियानको ऐतिहासिकता र वीरता झल्काउन सिन्धुलीगढी युद्ध सङ्ग्रहालय स्थापना भएको छ । 

यस प्रकारका ऐतिहासिक पौरखहरूलाई थप उजागर गर्न चलचित्र, वृत्तचित्र निर्माण गर्न सक्दा आयआर्जनमा समेत मद्दत पुग्दछ । यसैगरी संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति सेनाका रूपमा खटिएर नेपाली सेना र सुरक्षाकर्मीले विभिन्न देशमा शान्ति स्थापनार्थ निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई उजागर गर्ने सङ्ग्रहालय वा अभिलेखालय स्थापना गर्नुपर्दछ । यस्ता स्थानमा आउने पर्यटक तथा अनुसन्धातालाई शुल्क लिने, विभिन्न कोशेलीहरू उत्पादन गरेर विक्री–वितरण गर्नाले स्थानीय समुदायको आय आर्जनमा समेत टेवा पुग्न जान्छ । यस्ता कुराहरूको विस्तारले नेपाली पहिचान त उजिलिन्छ नै ‘सानो अर्थतन्त्र’ निर्माणमा समेत थप योगदान पुग्दछ ।

देशको भूगोलको दुई तिहाइभन्दा बढि भाग हिमाल र पहाडले ढाकेकाले यहाँ साहसिक खेलकूदको प्रवद्र्धनमा जोड दिनुपर्ने खाँचो रहेको छ । कतिपय त खेलकूद जस्ता लागे पनि यी क्रियाकलाहरू मनोरञ्जनका प्रभावकारी माध्यम बन्न सक्दछन् । दुबैलाई सम्मिश्रण गरेर नयाँ खेलकूद मनोरञ्जन क्षेत्रको विकास गर्न पनि सकिन्छ । 

विश्वको सर्वोच्च शीखर सगरमाथासहितका हिमाल आरोहण प्रसिद्ध साहसिक पर्यटन हो । जलवायु परिवर्तन र आरोहीबाट प्रयोग भएका सामग्रीले वातावरणमा प्रतिकूल प्रभाव पारिरहेको कुरामा ध्यान दिँदै स्वच्छ वातावरण बनाउन पर्याप्त ध्यान दिनुपर्दछ । हिमाली तथा पहाडी क्षेत्रका पदमार्गमा विश्रामालय, अतिथीगृह, जलपान स्थल, साँस्कृतिक झाँकीहरूको व्यवस्था गर्न सक्दा स्थानीय समुदायको ‘सानो अर्थतन्त्र’ सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्दछ । 

भौगोलिक विविधताले यहाँको कृषिमा पनि विविधता थपिदिएको छ । यो कृषि आधारित साना उद्योग तथा कुटीर उद्योगको ठूलो आधार हो । कृषि प्रणालीमा आधारित रहेर घरबुना कपडा, हाते कागज, राडिपाखी, चट्टी–झल्ला उत्पादन गर्न सकिन्छ भने फलफूल तथा अन्नवालीबाट खाद्य तथा पेय पदार्थ उद्योगको विकास गर्न सकिन्छ । यसबाट स्थानीय रोजगरी प्रवद्र्धनमा ठूलो मद्दत पुग्नेछ । यसैगरी यहाँका काठ, ढुङ्गा तथा माटोमा आधारित रहेर हस्तकला तथा शील्पकलाको प्रवद्र्धन गर्न सकिन्छ र जसबाट पर्यटकका लागि उपहार प्रदान गर्ने व्यवस्था मिलाउन सकिन्छ । जडीबूटी आधारित उद्योगको स्थापना गरेर औषधी तथा सौन्दर्य प्रशाधनका सामानहरू उत्पादन गर्न सकिन्छ । यी सबै क्रियाकलापहरू मुलुकको ‘सानो अर्थतन्त्र’ निर्माणका महत्वपूर्ण क्षेत्रहरू हुन् । 

विश्व शान्तिका अग्रदूत बुद्धको जन्मस्थल आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक केन्द्र हो । यस ऐतिहासिक तथा कालजयी धरोहरले देशको शान्तिप्रतिको निष्ठा अभिबृद्धि तथा साँस्कृतिक मूल्य प्रवद्र्धनमा त महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ नै साथ साथै यसबाट स्थानीय समुदायको आय आर्जनमा समेत भूमिका निर्वाह गरेर मुलुकको ‘सानो अर्थतन्त्र’ निर्माणमा थप योगदान पुर्याइरहेको छ । 

यसैगरी प्रसिद्ध मिथिला सभ्यताको ऐतिहासिक केन्द्र जनकपुरको उन्नयनमा जोड दिन सके मिथिला कला तथा संस्कृति पनि आय आर्जनको महत्वपूर्ण पाटो हुन सक्दछ । दार्शनिक राजा जनकले विद्वान अष्टावक्रको सान्निध्यता प्राप्त गर्दै यस क्षेत्रको सभ्यता, संस्कृति र दर्शन प्रवद्र्धन गर्न विश्वभरिबाट हजारौँ दार्शनिकहरूलाई आमन्त्रण गरेर शास्त्रार्थ गरेको वर्णनको महिमा उजागर गर्न सक्दा स्थानीय समुदायको आय आर्जनमा समेत ठूलो टेवा पुग्नेछ । साथै, हाम्रो देशमा प्राचीन कालदेखि प्रचलित योग साधनाको प्रचार प्रसार गर्दै योगाभ्यासलाई व्यावसायिक बनाउन सक्दा आर्थोपार्जनको महत्वपूर्ण माध्यम बन्न सक्दछ । यस्ता सिर्जनात्मक कार्यहरूबाट ‘सानो अर्थतन्त्र’ को विकासमा सहयोग पुग्दछ । 

‘सानो अर्थतन्त्र’ लाई सघन बनाउन उद्यमशीलताको प्रवद्र्धन गर्नु अति आवश्यक छ । उद्यमीहरू विकास गर्न, नियमित तालिम तथा उत्प्रेरणा दिन विभिन्न तहका शैक्षिक पाठ्क्रममा नवप्रवर्ततमुखी शिक्षामा जोड दिनु पर्दछ । अझ युवा उद्यमीको उत्पादनमा जोड दिँदै मानव केन्द्रित विकासमा ध्यान दिनु पर्दछ । निम्न तथा मझौता औपचारिक तथा अनौपचारिक ‘सानो अर्थतन्त्र’ विभिन्न क्षेत्रमा सञ्चालित छन् । तर तिनको तथ्याङ्क प्राप्त नहुँदा राष्ट्रिय अर्थतन्त्रमा तिनको योगदानलाई प्रष्ट पार्न नसकिएको अवस्था अहिलेको हो । यस्ता तथ्याङ्क तथा सूचनालाई सहि विश्लेषण गरेर अझ प्रभावकारी नीति तर्जूमा गरी तिनको कार्यान्वयन गर्दा ‘सानो अर्थतन्त्र’को उन्नयनमा ठोस योगदान पुग्दछ । 

‘सानो अर्थतन्त्र’ को विकासलाई प्राथमिकताका साथ अगाडि बढाइरहँदा सूचना संप्रेषण तथा अनुसन्धानात्मक पक्षलाई सधै मध्यनजर राख्नु पर्दछ । बचत तथा ऋण सहकारी संस्थाहरू विस्तारित हुने क्रम मुलुकमा तीब्र बनेको सन्दर्भमा ‘सानो अर्थतन्त्र’लाई सुदृढ तुल्याउन मद्दत पुग्न जाने देखिन्छ । यी आर्थिक संस्थाहरूको नियमनलाई थप व्यवस्थित पार्दै उद्यमशीलताको विकास गर्न सक्दा ‘सानो अर्थतन्त्र’को विकासमा महत्वपूर्ण योगदान पुर्याउन सकिन्छ । 

विश्वमा खासगरी विकसित ठूला मुलुकहरूले औद्योगीकरण प्रक्रियालाई तीब्र बनाउँदा तथा पूर्वाधार विकासलाई विस्तारित गर्दा वातावरण विनास हुन गई हरितगृह ग्यास उत्सर्जन हुने तथा जलवायु परिवर्तनले जैविक विविधतामाथि नै प्रहार गरिरहेको अवस्था छ । 

यसबाट बचेर दिगो विकास गर्न ‘सानो अर्थतन्त्र’को महत्वपूर्ण भूमिका हुने गर्दछ । किनकी यस्ता आर्थिक गतिविधिहरू गर्दा परम्परागत प्रविधिको प्रयोग नै ज्यादा हुन्छ भने आधुनिक उपकरणहरूको उपयोग न्यून हुने गर्दछ । फलस्वरूप बन फडानीमा कमी आउने तथा ऊर्जा खपत न्यून हुने अवस्था हुन्छ । यसबाट वातावरण विनासमा कमि आउँछ । 

हाल विश्वमा उदारीकरण र निजीकरण प्रक्रियाले तीब्रता लिइरहेको हुँदा ठूलाठूला उद्योग, कलकारखाना तथा व्यवसाय स्थापना गर्ने होडबाजी नै चलेको छ । यसबाट माथि उल्लेखित ‘सानो अर्थतन्त्र’ का केही आयामहरूप्रति वेवास्त गर्ने र भइरहेका अभ्यासहरूमा पनि नकारात्मक प्रभाव पर्ने वा ठिँगुरिने संभावना पनि त्यत्तिकै छ । यस पक्षलाई आत्मसात गर्दै ‘सानो अर्थतन्त्र’ को उपादेयतालाई बढावा दिँदै दिगो अर्थतन्त्र निर्माणको निम्ति ध्यान दिनुपर्ने आवश्यकतालाई राज्यले प्राथमिकतामा पार्नु पर्दछ । यसबाट संविधानले आत्मसात गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा महत्वपूर्ण टेवा पुग्ने निश्चित छ । 

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १० : ४१ बजे