साफ यू–१७ च्याम्पियनसिप आजदेखि

खगेन्द्र सङ्ग्रौलाको चर्चित भइरहने चिन्तन 

एमाले  नेता महेश बस्नेत र खगेन्द्र संग्रौलाका बीचको विवाद सतहमा आएको छ । यही विषयमा संग्रौलाले आफूलाई बस्नेतले साइवर सेनामार्फत् कसरी हो ज्यानै हरण गर्ने सम्मको कार्यवाही गर्न उद्यत रहेको आशंका गरेका छन् र यसमा पार्टी अध्यक्ष ओलीकै  निर्देशन रहेको पनि उनले भन्न भ्याए । यस विषयलगायत संग्रौलासित सम्बन्धित गुह्यकुरा सतहमा ल्याउन अत्यन्त जरुरी रहेकाले यो लेखोट लेखिएको छ । 

प्रगतिशील साहित्यकार भनिएका सहित अनेक विशेषण ग्रहण गरेका खगेन्द्र संग्रौला गाली शिरोमणि भनेर  पनि चिनिन्छन् । भारतीय शाषकले अत्यन्त अमानवीय नाकाबन्दी गरेर छिमेकी देश नेपाल र नेपालीलाई मर्माहत पार्दा संग्रौला नाकाबन्दीका कट्टर समर्थक रहेका थिए । उनी रक्सौलपारि गएर  नाकाबन्दीका घरघोर पक्षधर भएर नेपालतिर ढुङ्गामुढा बर्साउन र यस कामलाई उत्साहित गर्न न्वारानदेखिको बल लगाउँदै थिए ।  यसरी देश, जनता र जनजीविकाका विरुद्ध कन्दनी कसेर लागेका खगेन्द्र संग्रौलालाई अझै प्रसिद्ध प्रगतिशील लेखक, विश्लेषक,चिन्तक,नागरिक अभियन्ता  तथा  साहित्यकार भन्नेहरु पाउनु उनै संग्रौलाका लागि  अहोभाग्यको  हो ।

एक समय उनले  साहित्यिक तथा लेखकीय क्षेत्रमा  सिर्जनामा गरेको र अझै पनि  हुति,मति र गति सपारेर राम्रै काम गरे यो लेखक पनि उनलाई सलाम गर्छ तर अब संग्रौला आफूलाई चर्चित र भाइरल  बनाउन अनेक झुट र फरेबी कुरामा चिन्तन  गर्न थालेपछि उनमा सिर्जनात्मकता थलै परेको अनूभूति  हुन थालेको छ । 

एमालेका प्रभावशाली  युवा नेता महेश बस्नेतले साइबर सेनाको चर्चा मात्र गरेको होइन । यसलाई युवा संघ मार्फत् संस्थागत नै गरेका ह्ुन् । तर यो सेना संग्रौलाले कलमलाई कलमका रुपमा प्रयोग नगरी उल्टो झट्टी, लट्ठी र कठबाँसको लौरो  जसरी प्रयोग गर्नका लागि होइन । यो सेना संग्रौलाजस्ता केही फतौरे र बतौरे वा फेक,मेड र पेड लेख, रचना, टिप्पणी गर्नका पनि किमार्थ होइन । यो सेना सत्य, तथ्य र वास्तविकता विपरीत मुख र कलम चलाउनेहरुलाई सत्य तथ्यमा आधारित भएर आवश्यक परे तिनको जिब्रै थुत्ने गरी प्रतिवाद गर्ने सेना हो । 

संग्रौलाजस्ता कथित केही विश्लेषक, लेखक र मानव अधिकार अभियन्ता नामका मान्छेहरु २०७६ सालमा चुच्चे नक्सा नेपालको नक्सामा समाहित नभएको र २०७७ सालमा समावेश भए पछिको अवस्थालाई एउटै  डालामा हालेर तथानाम गरिरहन्छन् । अनि सरकारले राष्ट्रपति मार्फत् प्रदान गरिएका चुच्चे नक्सा बिना र चुच्चे नक्सा सहितका पदक  प्रदान गरेको विषयलाई जवर्जस्ती जथाभावी अनर्गल विचार व्यक्त गरिरहेको देखेपछि तिनको मतिभ्रष्ट भएको यस लेखकले उहिल्यै ठहर गरेको थियो ।  यति मात्र हो र पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विद्यालयको पाठ्यप्ुस्तकमा चुच्चे नक्सा सहितको नेपालको नक्सा समावेश गर्दा  कितावमा भरमार गल्ती सहित आफ्नो महाभारत जस्तो मन्तव्य सहित अत्यन्त विवादित किताव बजारमा ल्याउन खोजे ।

यस्तो काम हतार हतार गरेर  प्रधानमन्त्री  ओलीलाई विवादको चक्र व्यूहमा पार्न मन्त्री पोखरेलले खोजे । पोखरेलले आजीवन शिक्षा मन्त्री प्रदान गर्ने आफ्ना अत्यन्त परमप्रिय, प्राणप्रिय र परमदेव नेता नारायण काजी श्रेष्ठका  षडयन्त्रपूर्वक योजना अनुसार उक्त विषय  ल्याएको डा. सुरेन्द्र केसीले नै पनि पहिल्यै उल्लेख गरेका थिए । तर यसैमा सैसला खेलेर कथित विश्लेषक लेखक र नेता मन्त्री पोखरेलको षडयन्त्रलाई ढाकछोप गर्दै ओली सरकारको एकोहारो खेदो खनिरहेका थिए र छन् । यसमा भरत दाहाल,लीलामणि पोखरेल,श्याम श्रेष्ठ लगायत एक हुल मान्छेहरु  टुपी कसेर लागिरहेको देख्दा दया लागेर आउँछ ।  

जात,भात,नाक,नश्ल,थर,गोत्र र भूगोलका आधारमा अहोरात्र नेपाललाई दीर्घ कालमा विखण्डनको विउ रोप्दै र हुर्काउँदै   लागि पर्ने संग्रौला ओलीदेखि यतिविधि किन रिसाएका होलान् ? उपर्युक्त खालका सबै विखण्डनकारी गतिविधि विरुद्ध अथक अडान राख्ने ओली विरुद्ध रातोदिन संग्रौला लागिपरेको स्पष्ट देखिन्छ । आइएनजिओको मोटो लगानीमा जूनकिरीको संगीत नामको एक उपन्यास लेख्ने संग्रौला के हुन् ? के होइनन् ? पछिल्लो अवधिका आफ्ना तमाम भड्काउ गतिविधिका कारण देशभक्त हुन् कि घाती हुन् ? पाठकले खोतल्नु होला । तर यस लेखकले संग्रौलाको देशभक्तिप्रति अत्यन्त गम्भीर आशंका गरेको छ । यसै कुरालाई ध्यानमा राखेर सुप्रसिद्ध लेखक विश्लेषक सौरभले नेपालमा बुद्धिजीवी नगण्य बराबर रहेको अझ उहाँले त एक अन्तर्वार्तामा नेपालमा ९९.९.५ प्रतिशत  बुद्धिजीवी नै नरहेको उल्लेख गर्नु भयो । यो कुरा  संग्रौला जस्ता लेखक विश्लेषक र बुद्धिजीवीलाई देखेर नै भनेको हुनुपर्छ । जुनकिरीको संगीत  उपन्यासमा संग्रौलाले वर्ग द्वन्द्वलाई पितिक्क उल्लेख नगरी जात,भात,नाक र नश्ल द्वन्द्वको भुमरीमा नेपाललाई पार्ने द्ुष्प्रयत्न उहिलेदेखि नै गरिआएका हुन्  । 

कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको देश,जनता र जनजीविकाका खातिर मरिमेटेर लाग्ने  र दर्शन, विचार, ज्ञान, विद्वत्ता र वाक्कुशलता जस्ता  बहुआयामिक व्यक्तित्व विरुद्ध दाह्रा किट्ने र उहाँको इष्र्याले चिटचिट पसिना आउने र उपध्रै कामज्वरोले थलिने संग्रौला अहिले पनि ओलीदेखि जलिरहेको देखिन्छ  । उनले  मिडियामा यही ज्वरोका कारण बारबार ओली विरोधी सार्वजनिक रोइलो गरिरहेका छन् । यस्तो रोइलो संग्रौलाले कथित  लेखन,वाचन र विष्लेषण कर्मका क्रममा गरिरहँदा देख्नेलाई समेत लाज लाग्न थालेको छ । खगेन्द्र संग्रौलाको यो रोइलोमा ओलीप्रति बेतुकी ईष्या, रोष, जलन, डाह, र फोवियाग्रस्त अवस्था झल्किन्छ । 

कुनै कुनै रोइलो अचम्मको हुन्छ । जसलाई देखाउन,नाटकीय तथा रमिते बटुवा  लक्षित गरेर रोइन्छ, र यसले श्रोता दर्शकको ध्यान खासै आकर्षित नभएपछि संग्रौला जस्ता मान्छेले बीच बाटामा रोइलो गर्छन् र त्यस क्रममा र्याल सिँगान काड्छन्,छाती पिटेर डाँको छोडेर रुन्छन्, आफ्नो कपाल आफैँ लुच्छन् र रमित देखाउँछन् । देख्नेलाई नै सरम हुने गरी बारबार इष्र्या,जलन र घृणा मिश्रित संग्रौलाको रोइलो लेखोट  देख्दा १५  वर्ष अघिजसो उनैलाई दमकको एक कार्यक्रममा ओली केन्द्रित सरगर्मी लेखनको कारण बारे यस लेखकले उनलाई  सोधेको थियो ।

यस लेखकले संग्रौलालाई तपाईंहरुका बीच पुस्तैनी रिस, इबी, लेन देन, अंशवण्डा आदि कुनै आपसी झै–झगडाहरु भएका त होइनन् भनी प्रश्न गर्दा त्यसमा उनले जवाफ दिएनन्,हल्का मुस्कान छोडेका थिए, अर्थात् कारण केही रहेनछ भन्ने थाहा हुन्छ त्यति बेला मौन बसेका संग्रौलाले सोझै भन्न मिल्ने तर्क र तथ्यपूर्ण विषय नभएर मौन बसेका थिए । एकातिर संग्रौला एकतारे र एकसुरे शैलीमा लगातार ओली केन्द्रित लखोट मार्फत् तथानाम गरेर रोइलो गरिरहेका छन् भने ओली भने संग्रौलाको रोइलो देखेर र सुनेर चुपचाप देखिनु हुन्छ । बतासे बटुवाहरु के के भनिहिड्छन् सबैलाई  जवाफ  दिइरहन पनि त सुहाएन नि । विराटनगर निवासी एमाले केन्द्रीय पार्षद्  तथा  नेता बाबुराम कार्कीका अनुसार  ओलीले माओवादी द्वन्द्वकालमा संग्रौलाको ज्यान बचाइ दिनुभएको थियो । जस अनुसार माओवादी युद्धकालमा संग्रौला निक्कै खरो किसिमले माओवादी पक्षधर भएर लागि परेका थिए  । यसको सुराक थाहा पाएर सेनाले यिनलाई कब्जामा लियो  । तीन चार दिनदेखि बेपत्ता श्रीमान्को खोजीमा उनकी जहान भौतारिँदै ओली समक्ष आइछन् । उनले पति संग्रौला सेनाको कब्जामा परेको थाहा पाएपछि चिनजानका र प्रभावका आधारमा ओलीसित समस्या राखिन्  । 

नभन्दै ओलीले सेनाको उच्च तहमा कुरा राख्नु भयो  । ओलीले सेनालाई संग्रौलालाई पक्राउ गर्ने के के  कारण हो, त्यो सेनाको सरोकारको विषय भयो । त्यसमा उनीसित केरकार र खेरखार के गर्ने हो,त्यो तपाईंहरुको विषय हो । त्यसमा मैले केही भन्न मिलेन तर  संग्रौला मेरा बाल्य सखा हुन् । उनी मेरो चाहिँ धेरै चिन्ता गर्छन् ।  उनी मलाई तारो बनाएर उधुमसित कटाक्ष गर्छन्, खेदो खन्दै लेखिरहन्छन् । उनी कम्तीमा सही सलामत निस्कियुन् । उनी  ५ फिटको सगुलै ज्यान सहित बाहिर निस्कन पाउन् । उनी बाहेक मेरा बारेमा चिन्ता गरेर निरन्तर लेखि रहने साथी अरु कोही छैनन्  भन्नु एछ,  ओलीले । नभन्दै केही समयपछि थुनाबाट निस्केर लुखुर लुखुर ओली निवास संग्रौला आएछन् । ओलीले चिया र जलपान सहित  मालपुवा झैँ मीठो व्यङ्ग्य वचनमार्फत् सत्कार गर्दा राधिका शाक्यले ओलीलाई अब अरु नभन्दा हुन्थ्यो कि भन्नुभएपछि ओली मौन बस्नु भएछ तर  सकल्लै निस्कनु भयो अब भोलिदेखि नै मेरा बारेमा लेख्न नछाड्नु होला भनेर  संग्रौलालाई ओलीले सुझाउनु भएछ । 

उहिले भृगु नामका एक ऋषि थिए । उनी सबै प्राणीको अन्तर मनदेखि भलो चाहन्थे । एक दिन न्यास र ध्यान गरेर खोला किनारमा बसिरहेको बेला  खोला किनारमा एउटा बिच्छी बग्दै गरेको ऋषिले देखे । यो दृश्य देख्ने बित्तिकै भृगु ऋषि बिच्छीलाई बचाउन न्यास र ध्यान छाडेर दौडिँदै खोला किनारमा पुगे । बिच्छीलाई बनाउन खोजे । बिच्छीले ऋषिको औँलामा टोक्यो । ऋषिको हातबाट रगत बग्यो । फेरि पनि ऋषिले बग्नै लागेको बिच्छीलाई जोगाउन खोजे फेरि पनि बिच्छीले ऋषिको हातमा टोकेर रक्ताम्य बनायो । 

यो दृश्य हेरिरहेका भृगु ऋषिका शिष्यहरुले गुरु भृगुलाई सोधे गुरुवर,तपाईं बिच्छीलाई बारबार बचाउन खोज्नु हुन्छ । बचाउन खोज्दा बिच्छीले हातमा टोकेर रक्ताम्य बनाउँछ तर पनि तपाईं त्यही बिच्छीलाई किन बचाउन खोज्नु हुन्छ ?

शिष्यहरुको प्रश्न सुनेर हाँस्दै भृगु ऋषिले मेरो धर्म प्राणी मात्रको सुरक्षा गर्नु हो, भने बिच्छीको धर्म टोक्नु हो, मात्र टोक्नु हो  । त्यसैले  बाबु म मेरो बचाउने धर्म जसरी पनि पूरा गर्छु र गर्नुपर्छ, ऋषिले भने  । 

अब यस लेखकले ओली र संग्रौलासित दाँज्न यो कथाको प्रसंग झिकेको भने होइन  । पाठकहरु विज्ञ हुनुहुन्छ । यसमा यस लेखकले धेरै बोल्नै पर्दैन । ओलीले एक प्रसंगमा भनेझैँ तस्वीर आफैँ बोल्छ । 

तर महेश बस्नेतले भनेझैँ यही लेखक आम जनतालाई चरम भ्रममा पार्ने संग्रौला जस्ताका कुनियतलाई मुख र कलमले नै थला पारिदिनसक्छ । जिउँदै  किन मारेर अनावश्यक  रुपमा महत्व किन दिने  ? अत्यन्त नकारात्मक, भद्दा तथा कुरुप  शिक्षाका लागि पनि खगेन्द्र संग्रौलाको दीर्घ जीवनको यो लेखक  कामना गर्छ ।  

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ११ : १० बजे