काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा रु १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ ।
रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र भोटेकोशीमा एकलौटी लगानी गरेको कोषले तामाकोशी पाँचौँमा एक्लै लगानी गर्न लागेको हो । लगानीसम्बन्धी त्रिपक्षीय समझदारी पत्रमा आइतबार हस्ताक्षर गरियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, कर्मचारी सञ्चयकोषका प्रशासक तुलसीप्रसाद गौतम र तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिबमान प्रधानले हस्ताक्षर गर्नुभयो ।
झण्डै १०० मेगावाट क्षमताको सो आयोजना असाध्यै आकर्षक भएकाले आफूहरुले लगानी गरेको कोषका प्रशासक गौतमले जानकारी दिनुभयो ।
माथिल्लो तामाकोशीको क्यासकेड परियोजनाका रुपमा तामाकोशी पाँचाँे अगाडि बढाउन लागिएको हो । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना निर्माणको अन्तिम चरणमा छ ।
माथिल्लो तामाकोशीको दुईवटा युनिट परीक्षण भइरहेको छ । गत असारको अन्तिम साता उद्घाटन भएको भए पनि उपकरणमा समस्या आएपछि केही दिन आयोजना बन्द भएको थियो ।
तामाकोशी पाँचौँको कूल लगानी रु १६ अर्ब रहने अनुमान गरिएको छ । कूल लगानीमध्ये रु १२ अर्ब कोषले उपलब्ध गराउँदा थप रु चार अर्ब भने प्राधिकरणले लगानी गर्ने भएको छ ।
प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार ६ : १२ बजे
प्रतिक्रिया