रवि लामिछानेको आजपनि बयान लिइने

बन्दीपुरमा गाउँपालिकाद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान

तनहुँ । बन्दीपुर गाउँपालिका कार्यालयले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान प्रदान गरेको छ । 

दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले किसानलाई प्रतिलिटर दूधमा रु एक अनुदान दिने व्यवस्था गरेको हो ।

गाउँपालिकाले वडा नं १ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानलाई शनिबार उत्पादनमा आधारित कार्यक्रमअनुरुप अनुदान रकम प्रदान गरेको छ ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, वडाध्यक्ष भानुभक्त पोख्रेल, दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष मानबहादुर खातीको रोहवरमा किसानलाई अनुदान रकम वितरण गरिएको हो । 

उक्त सहकारीमा आबद्ध ६१ किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान दिँदा कूल रु एक लाख ६२ हजार वितरण गरिएको वडाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त सहकारीले दैनिक करिब ७०० लिटर दूध उत्पादन गरी बिक्री गर्दै आएको छ । जति उत्पादन गर्यो, त्यति फाइदा हुने भएपछि किसान उत्साहित भएर उत्पादन वृद्धिमा लाग्ने गरेको उहाँले बताउनुभयो । गाउँपालिकाको वडा नं ५ स्थित याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले दैनिक चार हजार लिटर दूध उत्पादन गर्दै आएको छ । 

उक्त सहकारीमा आबद्ध किसानलाई रु एकका दरले १०० किसानलाई अनुदान दिँदा रु नौ लाख ५२ हजार वितरण हुने गाउँपालिकाका पशु शाखाका प्रमुख मधुविलास न्यौपानेले जानकारी दिनुभयो ।

“उक्त सहकारीलाई छिट्टै रकम वितरण गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “दूधमा रु पाँच हजारदेखि बढीमा ३६ हजारसम्म अनुदान पाउने किसान रहेका छन् ।”  गाउँपालिकाले दूध र मासुमा आत्मनिर्भर गराउने उद्देश्यले किसानलाई विशेष प्राथामिकतामा राखेर अनुदानका कार्यक्रम ल्याइएको 

गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । दुग्ध उत्पादक किसानलाई मात्रै कूल रु ११ लाख १२ हजार अनुदान वितरण गरिने उहाँले बताउनुभयो ।रासस

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ८ : ४७ बजे