यस्तो छ आजको विनिमय दर

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेकपा एमालेले  पुष्पलालको स्मृति दिवसको अवसरमा तुलसीलाल स्मृति प्रतिष्ठानमा आज एक कार्यक्रम आयोजना गरेको छ । दिउँसो १:००  बजे आयोजना हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी हुनुहुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मनुभएका पुष्पलालको २०३५ साल साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।

पुष्पलालले विसं २००६ वैशाख १० गते नेपालमा पहिलो पटक कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो । उहाँले चार जना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पहिलो पटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गर्नुभएको थियो ।

नेकपा खोल्नुभन्दा अगाडि विसं १९९८ मा उहाँले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गर्नुभएको थियो ।

कम्युनिष्ट पार्टीको स्थापनापछि पुष्पलालले साम्यवादी विचारधाराको प्रचार–प्रसार गर्न ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपालीमा अनुवाद गर्नुभएको थियो । त्यसपछि उहाँले कम्युनिष्ट पार्टीलाई एकिकृत गर्दै संगठित गर्नुभएको थियो ।

नेपाली काङ्ग्रेस लगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहनुभयो ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ८ : २६ बजे