यस्तो छ आजको विनिमय दर

 एमालेका २२ सांसदलाई पठाइयो स्पष्टीकरण पत्र, पार्टीको साधारण सदस्यता र जिम्मेवारीबाटै हटाइने 

काठमाडौं । नेपाल कम्यनिष्ट पार्टी एमालेले पार्टी अनुशासन विरुद्ध निरन्तर गतिविधि गरिरहेका एमालेका २२ सांसदलाई  स्पष्टीकरण सोधेको छ ।

सोधिएको स्पष्टीकरणमा  नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३, नेकपा एमालेको विधान २०४९ । संशोधन २०७४ समेत र नेपाल कम्यनिष्ट पार्टी एमाले सङ्घीय संसदीय दलको विधान २०७७ विपरीत दलीय अनुशासन, विरुद्ध कार्य गरेको भन्दै २४ घण्टाभित्र जवाफ पठाउन भनिएको छ । स्पष्टीकरणमा पार्टीको विरुद्ध विभिन्न भेला आयोजना गर्ने, गुटगत गतिविधि सञ्चालन गर्ने र पार्टीको निर्णय विरुद्धमा आफू र अरू समेत संलग्न भई विभिन्न कार्य गर्ने गराउने जस्ता अनुशासनहीन, अराजक अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भई अपराध पूर्ण कार्य के कति कारणले गर्नु भएको हो ? भनी सोधिएको छ । 

पत्रमा   पार्टी हित विपरीत पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको पार्टी विधान तथा निर्णय विपरीत गुटबन्दी तथा षडयन्त्र गरेको, पार्टी निर्णय बारम्बार उल्लङ्घन गरेको, पार्टी प्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई स्वंय पार्टी प्रतिको निष्ठा र विश्वासबाट च्युत भएका पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने गरी निरन्तर विभिन्न क्रियाकलापहरू सञ्चालन गरे गराएका पार्टी कमिटीको गोपनीयता भङ्ग गरे गराएको, विपक्षसँग साँठगाँठ गरे गराएको, केन्द्रीय जनप्रतिनिधि संस्था लगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशन विपरीत विभिन्न कार्यहरू निरन्तर गरिरहेको, गराइरहेको र पार्टीको विधान र नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरूले पालना गर्नुपर्ने भनी उल्लेखित कर्तव्यको उल्लङ्घन गरे गराएको आरोप लगाइएको छ । 

स्पष्टीकरण सोधिएकाहरूले पार्टी विधानको धारा ४९ क, १, २, ३, (४)(६) ७ र ४९ च विपरितभएको भन्दै चित्तबुझ्दो जवाफ नपठाए पार्टीको साधारण सदस्यता, लगायत पार्टीको जिम्मेवारीबाट  निष्कासन  गरिने उल्लेख छ । 

 

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ५ : ०२ बजे