कारबाहीमा परेका सांसदले भने स्पष्टीकरणको पत्र आएकै छैन, आएपछि सोचौंला ! 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमाले सांसदलाई स्पष्टीकरण सोध्ने एमालेले निर्णय गरेपनि सांसदहरुलाई स्पष्टीकरणपत्र नपठाएका कारण जवाफ आउन ढिला हुँदै गएको छ । हिजो बसेको केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । गएको आइतबार प्रतिनिधिसभामा भएको मतदानमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह र अध्यक्ष केपी शर्मा ओली पक्षमा रहँदै आएका गरी २२ जनाले पक्षमा मत हालेका थिए ।

खनाल–नेपाल समूहका १० सांसद मतदानमा उपस्थित भएनन् । खनाल–नेपाल समूहका २८ सांसद तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई वैशाख २७ गते विश्वासको मत दिन अनुपस्थित भएका थिए । सोही कारणले आफनो नेतृत्वको सरकार ढालेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिने एमालेको तयारी छ । देउवालाई विश्वासको मत दिने सांसदहरुले भने स्पष्टीकरणको पत्र मिडियाबाट मात्रै थाहा पाएको बताएका छन् । नेकपा एमाले माधव समुहका सांसद भवानी खापुङ्गले पत्र पाएपछि त्यसको व्योहोरा हेरेर जवाफ दिने बताएका छन् । पाँचबर्षको आयु पाएको संसद् जोगाउनका लागि मात्र देउवालाई विश्वासको मत दिएको  उनको भनाई थियो । यता स्पष्टीकरणपत्र पठाउने तयारी भइरहेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १ : ०७ बजे