साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

बार्दली र सदनमा ‘बा’ को ओज, बालाई सिध्याएँ भन्ने बबुराको पोज

केपी ओलीलाई सिध्याउँछौँ र बालकोट पुर्याउँछौँ भन्नेहरूले विजयी मुद्रामा बाजागाजा सहित बालकोटको बार्दलीमा पुगेर पनि प्रसन्न मुद्रामा बा गर्जेको र बाघ झैँ डुक्रेको सुने । त्यसपछि जित्नेहरूको अनुहारमा देखिएको लोडसेडिङ र बाको अनुहारमा देखिएको हजार वाटको उज्यालोले बा खेद्न डेढवर्षे अखण्ड यज्ञ गरिरहेका कुलद्रोहीहरू, विपक्षीहरू र तिनैबाट  सुपारी लिएका केही पत्रकार र सम्पादकहरूको दिमाग सट भयो । हट्दा पनि बाको अनुहारमा बिजुली चम्केको देखेर उनीहरूका दिमागमा झनै हुँडलो मच्चियो र हैरान भए । उनीहरूको दिमागको तार नै झर्झराउने खालका विद्युतीय तरङ्गका झट्काहरू अदयापि जारी छन् र ती पत्रपत्रिकामा रुन्चे खुसीका अक्षर पोखिँदै छन् र अझै केही दिन पोखिने छन् ।

कुरो के भने लोकतन्त्रको राग अलापेर सत्ताको भोकतन्त्रले छटपटिएका पञ्चपरमेश्वरहरूले बालुवाटारको निवास र प्रधानमन्त्री पदबाट बालाई विधिसम्मत ढङ्गले र लोकतान्त्रिक विधिबाट हटाउन पटक्कै सकेनन् । नसके पछि झुसिला कार्कीले झुसिल्किरो बनाएदिएकी र बाले नै पुतली बनाइदिएर चोला फेरिदिएका एकजना व्यक्तिको दौराको फेर समाते । तिनैका  परमादेशका अस्त्रले बालाई हटाए ! बाका अनुहारमा आफनै बलोभित्रका बदमास हरूले केजाति खाएपछि र गद्दारी गरेर आफनो नयाँ घर नबनाउँदै आफू बसेको सूर्यको छानो भएको घर भत्काएर बाँदर झैँ रूखमा चढ्दै र त्यतातिरका हाँगा हल्लाउँदै सूँ को न्यानोमा रमाए र बा हट्नु भो ।

बालाई त केछ र ! आफू जतिबेलासम्म कुर्सीमा बस्नु भो,  राष्ट्रिय मामलामा नेपाल र नेपालीको शिर उँचो गराएर जानु भो ,। खिइएको नेकपा एमालेलाई बहुमतको हाराहारी मत दिलाएर जानु भो  । नेपालको नक्सा पनि उँचो र फराकिलो बनाएर जानु भो ! एमाले हर्लक्क बढेको देख्नै नचाहने र काङ्ग्रेसका रूखमुनि तप्केनीमा खुम्चिनु पर्छ भनी एमालेलाई खुइल्याउन र कहिल्यै काङ्ग्रेस भन्दा एमालेमाथि हुन नदिने गुइँठे गिरोहको कब्जामा एमाले पार्टी थियो । बाले काङ्ग्रेस भन्दा एमालेलाई अग्लो र ठूलो बनाइदिनु भो । त्यसैले आफ्नै पार्टीका विभीषणहरूले बाको नेतृत्वलाई प्रतिगमनकारी देखे  ! शत्रुका काखमा बसेर आफ्नैले बातर्फ थुके । बाले त इतिहास कायम गर्नु भो । बालाई खरानी बनाएँ भन्ने बबुरो पनि त कहाँ पो महाराज  बनेको छ र ? झिँजा जोरजाम पारी मुढो धैस्याएको मात्र न हो !

अर्को कुरो नि ! अग्ला गिरिजा बाबुका नाइटासम्मको कद भएका त्यतिबेलाका नेताले काङ्ग्रेसको नाइटाभन्दा माथि एमाले अग्लिन सक्छ भनेर सपनामा पनि कल्पना गरेका थिएनन् होला ! बाले एकपल्ट नेतृत्व के लिनु भाको थियो त्यसपछि त  सिङ्गोमुलुक बाकै र बाले नेतृत्व गर्नु भाको नेकपा  एमालेका ध्रुवओरिपरि चक्कर लाउन थाल्यो ! नेपाली राजनीतिको मियो अस्ति काङ्ग्रेस हुन्थ्यो । हिजो बाको नेतृत्वको स्पर्श पाएको एमाले बन्यो ! पहिलो संविधान सभामा बा हुनुहन्नथ्यो  ! संविधान बनेन । दोस्रो संविधान सभामा बा आउनुभो र जङ्गलबाट आएका उरन्ठउलाहरूले जतिसुकै कुर्सी भाँचे पनि संविधान  बन्यो । माधव कामरेडलाई शठहरूले कठपुतली भनिरहँदा बाले तिनमा प्राण भर्नु भो र प्रधानमन्त्री बनाइदिनु भो । लुरे तालले र हुतिहारा शैलीमा राजीनामा दिन खोज्दा बाले नै बलियो खम्बा बनेर थाम्नु भो  । जङ्गलीहरूले एकहप्ते उपत्यकाबन्द गरी माधव कामरेडको सत्ता गिराउन गरेको अश्वमेध यज्ञको घोडाका गर्धनमै बाले च्याप्पै समात्नु भो र लगाम लगाउनु भो  । ५४ सालमा बामदेव र मैनाली बन्धुहरूले माधव कामरेडलाई महासचिवबाट पदच्यूत गर्न खोज्दा बाले ढाल बनेर जोगाए ! आज माधव कामरेडले काङ्गरेसको रूखमाथि चढेर एमालेको सूर्यतर्फ फर्किई आँखा चिम्लेर “ई एमालेलाई अँध्यारो बनाइदिएँ” भनेर बिचरा  रमाउँदै हुनुहुन्छ । 

र आज, एमाले मुलुकको पहिलो र सिङ्गो मुलुकको मियो बन्दा बिचराहरूको होसै गुम भो ! एमाले भन्ने पार्टी त काङ्गरेसको हरमुनि दब्ने जात हो भन्ने पढे पढाएका र त्यतिबेला काङग्रेसको कृपादृष्टिमा कलोसलो बेस्सरी हसुरेका केही थान नेतालाई एमालेले सिङ्गो मुलुकको नेतृत्व गरेको हजम भएन !

तर बालाई त के पो भाको छ र ।  उहाँको नेतृत्वमा पार्टी त्यसरी अग्लिँदा आफ्नै पार्टीका पुड्काहरूको सातो गाको न हो  ! उहाँकै मुख हेरेर र उहाँकै अनुहार पढेर यो देशका लागि केही गर्न सक्ने नेता यो बाहेक अरु छैन भनेर जनताले मतपेटिका अटेसमटेस हुने गरी मतपत्र भरिदिए । बाकै भाषणको चुनावी बैसाखी टेकेर खिइँदै गइरहेका कैयौँ जङ्गलीहरूले संसदको कुर्सीमा बस्न पाए र आज बातर्फ फर्केर चोर औँलो ठड्याउन पाए । बाको प्रशस्त जमिन छ र बालाई माया गर्ने र संझने मात्र होइन आशीर्वाद दिने लाखौँ हजुरबा र हजुर आमाहरू त्यही जमिनमा बसेर बाको बिजयका लागि आजदेखि मन्दिरमा धूपबत्ती गर्दै हुनुहुन्छ, मस्जिदमा नमाज पढ्दै हुनुहुन्छ, अनि गुम्बामा ‘ओ३म् माने पेमे हुम्’ जप्दै हुनुहुन्छ, गिर्जाघरमा प्रार्थना गर्दै हुनुहुन्छ र गुरुद्वाराहरूमा ध्यान गर्दै हुनुहुन्छ ।

यता बाले जे जे का विरुद्ध जेहाद छाड्नु भो बालाई त्यहीत्यही भने । जब नक्कली मोही खडा गरेर सक्कली सरकारी जग्गा हडप्ने अपराधी भ्रष्टाचारीहरूका पञ्जाबाट सरकारी जग्गा फिर्ता ल्याउनु भो र भ्रष्टाचरीलाई पाता कस्न थाल्नु भो तब बालाई नै भ्रष्टाचारी भन्न थालियो । यता बाले ईटा भट्टामा मान्छे जिउँदै पोल्ने र राजनीतिका नाममा  अपराधका कारखाना खोल्नेहरूलाई कारागारमा कोच्नु भो, उता बालाई अलोकतान्त्रिक भने ! यता बालाई हात्खुट्टा बाँधेर किन हिँडिनस् भन्दै अनेकौँ लाञ्छनाका कोर्रा हिर्काउन थाले पछि बाले जनताका अदालतमा जाने र जनादेश लिने सुर कस्नु भो उता बालाई प्रतिगमनकारी भनियो अनि न्यायमा धमिरा लागेको पुतली सडकको एउटा बडेमानको भवनभित्रका नव श्री पाँचहरूलाई उक्साएर बालाई कुर्सीबाट हट्न परमादेश दिइयो । यता बाले हप्तावसुली, टोले गुन्डा र राजनीतिक गुन्डागर्दीका खाने मुख बन्द गरिदिनु भो उता बालाई निरङ्कुश भनियो ।  

अँ, देउवा र केपी दुवैलाई मुसो खेलाए झैँ खेलाएँ र आफू बाघ बनेँ भनेर बुर्कुसी मारेको जुन नेपाली राजनीतिको हलाहल छ त्यो स्वयम् क्रमशः हराउँदै गएको कुरो निजलाई पत्तै पो छैन होला । पटक पटक धोका खाएका रूख र सूर्यले रूखको छहारी वा सूर्यको ताप नदिएको भए सदनको ढोकामा चियाउन पनि नपाउनेको फुर्ती देख्दा भने अहिले केटाकेटीले आफूलै खान नपाएको चकलेट अर्काको मुखबाट पनि भुइँमा खस्दा खुच्चिड् भन्या जस्तै न हो क्यारे ।  

हिजो सदनमा देखियो, अझै पनि बाका अनुहारमा कुनै पराजयबोध छैन बरू बालाई हराएँ भन्नेहरूको गिडगिडाहट साँच्चै हेर्न लायक छ । किनकि उहाँले धेरै कुरा जित्नु भएको छ र नेपाल र नेपालीका लागि चुच्चे नक्सा   युगान्तकारी योगदान दिएर जानु भएको छ ! छिमेकीले जबर्जस्ती भन्ने गरेको भाइको नातालाई उहाँले मित्रको सम्बन्धमा सचयाइदिनु भएको छ । विकास र अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ नयाँ कोर्स लागू गरेर जानु भएको छ । लोकतन्त्रका लागि लड्ने बालाई बाँचुन्जेल ढाँट र छल गरेर पदमा बस्ने रहर पनि होइन तर जतिन्जेल उहाँ बस्नुहुन्छ अरूको भरिया बनेर होइन अरुलाई भरिया बनाएर बस्नुहुन्छ भन्ने प्रमाणित गरेर देखाउनु भएको छ ।

र, अन्त्यमा बाका कमी कमजोरीहरू  होलान् !  बाका मान्छे बालाई भेट्न नै नपाएर पनि कति बा बिरोधी भए होलान् ! नजिकका मान्छे बनेको नाटक गरेर कतिले बढी फाइदा लिए होलान् ! पाउनु पर्नेले नपाए र पाउनु नपर्नेले नपाए होलान् ! व्यक्तिगत र क्षणिक लाभका पद नपाउने यिनै लोभीहरूका जालमा हाललाई बा पर्नु भए पनि र त्यस्तालाई बाले चिन्न नसक्नु भए पनि बाले कायम गरेको गौरवमय इतिहासले गर्दा बाले अहिले पनि जित्नु भएको छ र जहिले पनि  जितिरहनु हुने छ । किनकि उहाँले नै मुलुकबाट हिंसा र बिखण्डनको राजनीतिलाई समाप्त पारिदिनु भएको छ । भूकम्पले ढलेको धरहरा उहाँले नै उठाउनु भएको छ र निराशाले गलेको नेपाली स्वाभिमान उहाँले नै चुल्याउनु भएको छ ! यो सबै कामका लागि बालाई मुरीमुरी बधाई र अर्को चुनावी सत्रान्त परीक्षामा पुनः समुत्तीर्ण हुनका लागि अग्रिम शुभकामना !!!  

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १० : ०८ बजे