साफ यू–१७ च्याम्पियनसिप आजदेखि

मृत रेडपान्डासहित दुई जना पक्राउ

काठमाडौँ ।  महानगरपालिका–१५ स्थित विष्णुमती कोरिडोरबाट मृत रेडपान्डासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रामेछाप दोरम्बा घर भई काठमाडौँ बस्ने उमेश विसुन्के र दोलखा तामाकोसी घर भई काठमाडौँको गौशाला बस्ने अर्जुन मगराति रहेका छन् । उनीहरूका साथबाट मृतावस्थामा रहेको दुई रेडपान्डा बरामद गरिएको प्रहरीले जनाएको छ । 

रेडपान्डाको छाला बिक्री गर्न लागेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा झोलाभित्र लुकाईछिपाईकन राखेको अवस्थामा मृत रेडपान्डा फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । 

पान्डाको पेटको अङ्ग झिकिएको र बाहिरी छालाको भाग सुकाइएको अवस्थामा फेला पारिएको परिसरले आइतबारएक सूचना जारी गरी जनाएको छ । 
    
यसैबीच गएराति महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका–४ बाट चोरिएका पाँचवटा मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ । 

शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुमाथि जाँच गर्दा उक्त मोबाइल फेला परेको हो । उनीहरू यसअघि पनि मोबाइल चोरीमा संलग्न भएको खुल्न आएको छ । 

पक्राउ पर्नेमा मकवानपुरका राजेश गोपाली र कैलालीको दीपक नेगी रहेका छन् । दुवै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको परिसरले जानकारी दिएको छ ।  

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ६ : ४३ बजे