‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

९३ वर्षीय डिलानाथ ८२ वर्षपछि जन्मथलामा

काठमाडौँ – रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ का डिलानाथ अधिकारी ११ वर्षका उमेरमा घर छाड्न विवश हुनुभयो । आमाबुवाको निधनपछि सहाराविहीन बन्नुपर्दा उहाँ घर छाडी हिँड्नुभयो । घर छाडेको ८२ वर्षपछि अधिकारीले जन्मस्थल  पुग्ने अवसर पाउनुभयो । जन्मस्थल पुग्न पाउँदा उहाँ अहिले निकै खुशी हुनुहुन्छ । सानो उमेरमै घर छाड्नुपरेकामा उहाँमा निकै पीडा थियो । त्रियानब्बे वर्षीय अधिकारीलाई बुढ्यौली लागेपछि भने घर जाने इच्छा तीव्र भएको थियो ।  

उहाँले धेरैलाई आफ्नो जन्मथलो पु¥याउन आग्रह गरे पनि उहाँको बोली सुनिदिने कोही  थिएन । “राजधानीको एक घरमा ६५ वर्ष भान्छे र पुजारीको काम गरेँ”, उहाँले भन्नुभयो, “मालिकले घर पु¥याउन भन्दा मान्नुभएन ।” उहाँलाई गत वर्ष लकडाउनको बेला वीर अस्पतालको पछाडिबाट बेवारिसे अवस्थामा नवजीवन परोपकार समाजले उद्धार गरी तार्केश्वरस्थित आश्रम पु¥यायो । “हामीले उहाँलाई उद्धार गर्दा शारीरिक अवस्था निकै  कमजोर थियो”, आश्रमका अध्यक्ष दुर्गानाथ दाहालले भन्नुभयो, “राम्रोसँग हेरचाह गरी पालनपोषण गरेपछि बुवाको अवस्था राम्रो हुँदै गयो ।” 

स्वास्थ्यावस्था तङ्ग्रिएपछि उहाँले घर जाने तीव्र्र इच्छा व्यक्त गरेकाले आफूहरु घर पहिचान गर्नेतर्फ लागेको दाहालले बताउनुभयो । “उहाँले रामेछापको कठजोर घर बताउनुभएको थियो”, दाहालले भन्नुभयो, “हामी उहाँको घर पहिचान गर्न सोही ठाउँमा गयौँ, उहाँको घर कठजोर नभई सोही ठाउँसँग जोडिएको अर्को गाउँमा रहेको पत्ता लगाउन सफल भयौँ ।”

स्थानीयवासी दुर्गाप्रसाद श्रेष्ठले सहयोग गरेका कारण जन्मठाउँ पत्ता लगाउन सजिलो भएको उहाँले बताउनुभयो । अधिकारीका दाजुभाइ कोही छैनन् । उहाँका नाममा रहेको जग्गा पनि अर्कैका नाममा नापी भइसकेको रहेछ ।  अधिकारीको नागरिकता बनाउन पहल थालिएको वडाध्यक्ष शिवप्रसाद न्यौपानेले बताउनुभयो । नागरिकता बनाउने विषयमा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरिएको छ । उहाँलाई अहिले नजीकैका दाजुभाइका घरमा राखिएको छ । अधिकारीले आश्रममै बस्ने इच्छा व्यक्त गरेकाले केही दिनपछि लिएर राखिने दाहालले जानकारी दिनुभयो । 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ४ : ३७ बजे