देउवालाई विश्वासको मत दिनेलाई पार्टीबाट निष्कासन गरिने एमाले स्थायी कमिटिको निर्णय

काठमाडौँ। नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।

आज बसेको एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री देउवालाई पार्टीले विश्वासको मत नदिने  र कसैले दिए पार्टीबाट हटाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, ‘देउवालाई विश्वासको मत दिनेहरु एमालेमा रहँदैनन् ।

तुल्सीलाला स्मृति प्रतिष्ठानमा बसेको एमालेको स्थायी कमिटी बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले एमालेले प्रतिपक्षीमा बस्ने र शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिनुभयो ।  ‘बैठकमा हामीले विशेष गरेर आज भर्खर मात्रै थाहा पाएको प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लागेको विषयमा छलफल भयो । सदनको पहिलो बैठकमा विश्वासको मत लिने विषयले विभिन्न प्रश्नहरू जन्माएको छ । हामी प्रतिपक्षमा रहन्छौँ । सरकारलाई समर्थन गर्न सक्दैनौ । सरकारले माग्ने विश्वासको मतको विपक्षमा मतदान गर्नुपर्छ । पवार्टीका साथीरु र सम्भव भएका अन्य दलहरूसँग समेत छलफल गर्ने निर्णय गरेका छौं’,ज्ञवालीको भनाई थियो । 

स्थायी कमिटि बैठकअघि वरिष्ठ नेता माधवकुमार नेपालसँग समेत छलफल गरेको तर नेता नेपालले एक्लै भएपनि शेरबहादुर देउवालाई विश्वासको मत दिने बताउनुभएको ज्ञवालीले बताउनुभयो  । 

बैैठकले नेता नेपाल पार्टी एकता जोगाउने पक्षमा नरहेको निष्कर्षसमेत निकालेको छ । प्रवक्ता ज्ञवालीले भन्न्ुभयो ,‘उहाँ पाटीलाइ एकताबद्ध जाने विषयमा इच्छुक देखिनुभएन ।  जनमतबाट नभएर फरक प्रक्रियाबाट आएको हुनाले सरकारप्रति समर्थन नरहनेकुरा हामीले बैठकबाट भनेका छौँ । आजको बैठकबाट वरिष्ठ नेता नेपाल वेग्लै कोर्षमा हिड्न प्रयास गरेको देखियो । तर साथीहरूले मेहनत चाँहि गरिरहनुभएको छ । १० बुँदे भइसकेपछि संस्थागत निर्णयले मिल्दैन ।’

प्रवक्ता ज्ञवाली पार्टीको निर्णय र निर्देशनविपरित देउवा सरकारको पक्षमा मतदान गर्नेहरू अब एमालेमा रहन नसक्ने बताउनुभयो  । उहाँले भन्नुभयो,‘नेकपा एमालेको संस्थागत निर्णयभन्दा बाहिर गए  ती साथीहरू पार्टीभित्र रहनुहुन्न । निर्णयको अवज्ञा भयो भने पार्टीले थप निर्णय गर्छ ।’

एमालेले संसद बैठकको पहिलो दिनमै विश्वासको मत लिने सरकारी निर्णय एमाले विभाजन गराउन खेल भएको निष्कर्ष  निकालेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  २ : ५० बजे